निर्माणाधीन झोलुंगे पुलको टावर ढल्यो «

निर्माणाधीन झोलुंगे पुलको टावर ढल्यो

ठेकेदारको लापरबाहीको कारण निर्माणाधीन झोलुंगे पुलको टावर ढलेको छ । ठेकेदारको लापरबाहीका कारण खोटाङको हलेसी–तुवाचुङ नगरपालिका–२ डिकुवाको बाइटार र उदयपुरको कटारी नगरपालिकाका–१० सोरुङछबिसेको चिपटार जोड्ने निर्माणाधीन झोलुंगे पुलको टावर ढलेको हो ।

झोलुंगे पुलको उदयपुरतर्फको टावर ठड्याई सकिएको केही दिनमै फेदैबाट भाँचिएर ढलेको सुनकोसी प्रावि, बाइटारका प्रअ विशाल राईले बताए । १३ स्टेपमध्ये गत वर्ष नौ स्टेप र यसपल्ट पाँच स्टेप जडान गरिएको पुलको टावर शुक्रबार बिहान ११ बजे ढलेको हो । निर्माणको काम सम्पन्न नहुँदै पुलको टावर भाँचिएर नदीतिर ढलेको छ । खोटाङतर्फको पिलरको गत वर्ष ११ स्टेप र यसपल्ट दुई स्टेप जडान गरिएको थियो ।

“उदयपुरतर्फ खुला ठाउँ थियो । टावर ढल्दा कुनै क्षति भएन,” राईले भने, “खोटाङतर्फ विद्यालय छ । पसलहरू छन् । रातको केही घण्टाबाहेकका समयमा मान्छेको ओहोरदोहोर भइरहन्छ । पारिकैजस्तो यता पनि ढल्यो भने ठूलो मानवीय क्षति हुने डर छ ।” ठेकेदार वसन्त बुढाथोकीले ३० महिनामा सक्नेगरी २०७६ वैशाख २६ गतेदेखि पुल निर्माणको ठेक्का लिएको स्थानीय बताउँछन् ।

पुलको सम्झौता म्याद २०७८ कात्तिक २६ गते नै गुज्रिसकेको छ । प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत उपलब्ध गराएको तीन करोड ५० लाखमा पुल निर्माणको काम सुरु गरिएको थियो । निर्माणस्थलमा पुलको लठ्ठा असरल्ल पारेर राखिएको छ ।

सुनकोसीमा पुल नहुँदा हलेसी–तुवाचुङ नगरपालिकाको डिकुवा र बाहुनीडाँडाका स्थानीय जोखिम मोलेर काठको डुंगा चढेर नदीमा वारपार गर्नुपर्ने बाध्यता छ । उदयपुरको कटारीबजार डिकुवा र बाहुनीडाँडाका स्थानीयको दैनिक उपभोग्य किनमेल गर्ने प्रमुख व्यापारिक केन्द्र हो ।

प्रतिक्रिया दिनुहोस्