वैदेशिक रोजगारीमा ठगी दोब्बर

पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेसँगै ठगीका घटनामा पनि वृद्धि भएको छ । गत आर्थिक वर्षको ८ महिनाको तुलनामा चालु आवमा वैदेशिक रोजगारीका नाममा हुने ठगी दोब्बरले बढेको हो । वैदेशिक रोजगार विभागमा गत वर्ष फागुनसम्म २३ करोड २२ लाख रुपैयाँ बराबर व्यक्तिगत ठगी गरेको उजुरी परेको थियो ।
चालु आवको ८ महिनामा यो रकम ५५ करोड ९५ लाख रुपैयाँ पुगेको छ । विभागले सबै प्रकारका गुनासो तथा उजुरी लिने र यसको अनुसन्धानमा कडाई गर्न सुरु गरेपछि ठगी रकमसमेत बढेको हो । पछिल्लो समय नेपालबाट दैनिक औसतमा २ हजार भन्दा बढी युवा कामको खोजीमा विदेश जाने गरेका छन् । वैदेशिक रोजगारीमा जाने युवाको संख्या वृद्धिसँगै ठगीका घटना पनि बढेको उजुरीमा परेको रकमले देखाएको छ । विभागका महानिर्देशक उमाकान्त आचार्यले चालू आवको पुस, माघ र फागुनमा ठगीको दाबी रकम धेरै बढेको जानकारी दिए । उनका अनुसार वैदेशिक रोजगारीका नाममा हुने ठगीमध्ये मेनपावर व्यवसायीका तुलनामा व्यक्तिगत र अन्य संस्थाबाट हुने ठगी बढेको छ ।

सरकारले वैदेशिक रोजगारीका लागि फ्रि भिषा फ्रि टिकट व्यवस्था लागु गरेको छ । यसअनुसार विदेश जाने युवासँग अधिकतम १० हजार रुपैयाँ मात्र सेवा शुल्क लिन पाउने व्यवस्था छ । यो नियमका कारण कतिपय मेनपावर कम्पनीले नक्कली एजेन्ट खडा गरेर पैसा असुल्दै आएका छन् । यसले संस्थागत भन्दा व्यक्तिगत ठगीका उजुरी बढेको देखिएको हो ।
नक्कली एजेन्ट खडा गरेर वैदेशिक रोजगारीमा पठाई दिने भन्दै रकम असुली गर्ने प्रवृत्ति बढेको महानिर्देशक आचार्यले बताए । सरकारले वैदेशिक रोजगारीको प्रक्रियामा एजेन्ट राख्न नपाउने नियम बनाएको छ । तर मेनपावर व्यवसायीले जिल्ला जिल्लामा एजेन्ट राखेर काम गर्दै आएका छन् । विभागका अनुसार चालु आवको फागुनसम्ममा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ६ सय ८६ व्यक्तिगत उजुरी परेको छ ।
यी उजुरीमध्ये १ सय १ उजुरी मिलापत्र भएर पीडितले ७५ करोड फिर्ता पाएका छन् । यस्तै ६३ वटा मुद्दा वैदेशिक रोजगार न्याधिकरणमा दर्ता भएका छन् । विभागको अनुुसन्धान तथा मुद्दा शाखाका अनुसार चालु आवको ८ महिनामा ५६ करोडको ठगी उजुरीमध्ये १२ करोड रुपैयाँ बराबरको विगो दाबीसहित अदातलमा मुद्दा दायर गरिएको छ । फ्रि भिषा फ्रि टिकटको व्यवस्था अनुसार कुनै पनि मेनपावर कम्पनीले १० हजार भन्दा बढी रकम लिएको रसिद वा भरपाई दिँदैनन् । जबकी कुनै पनि मुलुकमा जान एक लाख रुपैयाँ भन्दा धेरै पैसा बुझाउनु पर्छ । दस हजारबाहेकको पैसा युवाले एजेन्टलाई दिने गरेका छन् । विदेशमा भने अनुसार काम र पारिश्रमिक नपाएर स्वदेश फर्कने युवाले मेनपावर कम्पनी नभइ पैसा बुझाएको एजेन्टविरुद्ध विभागमा ठगी मुद्दा हाल्ने गरेका छन् ।
वास्तवमा ठगी मेनवापर कम्पनीको भएपनि कानुनमा ठगी गर्ने एजेन्ट मात्र देखिएका छन् । विभागका अनुसार व्यक्तिगत ठगी मेनपावरको आडमा र समुह बनाएर गिरोहको रुपमा हुन थालेको छ । व्यक्तिगत ठगीका उजुरीमा मेनपावर कम्पनी भित्रै पैसा लेनदेन हुने गरेको छ ।