आरएमडीसीको २६ प्रतिशत बोनस शेयर पारित «

आरएमडीसीको २६ प्रतिशत बोनस शेयर पारित

आरएमडीसी लघुवित्त वित्तीय संस्था लि.को २४औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । उक्त सभाको सभापतित्व संस्थाका अध्यक्ष सुजाता जोशीले गरेकी हुन् । उक्त सभाले संचालक समितिका अध्यक्ष जोशीले प्रस्तुत गरेको आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदनसहित आ.व. २०७८/०७९ को वासलात, नाफा नोक्सान तथा नगद प्रवाह विवरण स्वीकृत गरेको हो ।

अध्यक्ष जोशीले आ.व.२०७८/०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा संस्थाको ३१५ वटा साझेदार संस्था संग कर्जा लगानीमा बाँकी रु.११ अर्व ८४ करोड रहेको बताइन् । संस्थाले आ.व. २०७८/०७९ मा रु.५० करोड ५५ लाख संचालन नाफा गरेको र शेयरधनीहरुलाई चुक्ता पूँजीको २६ प्रतिशत बोनस शेयर र १.३६४८ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) दिने प्रस्ताव सभाले स्वीकृत गरेको छ ।

आरएमडीसी तथा साना किसान मर्जरको प्रक्रियामा रहेकोले उक्त मर्जर गर्नुको औचित्य माथि प्रकाश पार्ने क्रममा अध्यक्ष जोशीले आरएमडीसी लघुवित्त वित्तीय संस्था लि. र साना किसान लघुवित्त वित्तीय संस्था लि. एक आपसमा गाभिने कार्य सम्पन्न भए पश्चात भविष्यमा संस्थाको पूँजीगत आधार मजबुत र सुदृढ भै प्रतिस्पर्धात्मक क्षमतामा अझ बृद्धि हुने, व्यवसायमा बृद्धि हुने, कृषि तथा ग्रामिण क्षेत्रमा वित्तीय पहुँचको विस्तारमा सहयोग पुग्ने, लघुवित्त तथा सहकारी संस्थाहरुलाई सुलभ तथा सहज रुपमा वित्तीय श्रोत उपलब्ध गराउने एक विशिष्टिकृत संस्थाको रुपमा रुपान्तरण हुने अपेक्षा गरिएको बताइन् ।

उक्त सभाले आरएमडीसी लघुवित्त वित्तीय संस्था लि. र साना किसान लघुवित्त वित्तीय संस्था लि. एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी विशेष प्रस्ताव पारित गर्‍यो । जस अनुसार आरएमडीसीको १०० कित्ता शेयर बराबर मर्जपछि बन्ने संस्थाको ८७ कित्ता शेयर प्राप्त हुने गरी शेयर आदान प्रदान अनुपात (१००ः८७) कायम गर्ने समेत सभाले स्वीकृत गर्‍यो ।

यस्तै उक्त सभाले संस्थाले का.म.न.पा. वडा नं.१० मध्य–बानेश्वरमा आफ्नो केन्द्रीय (रजिष्टर्ड) कार्यालयको लागि भवन खरिद गरी केन्द्रीय कार्यालय स्थानान्तरण गरेको हुँदा केन्द्रीय कार्यालयको परिवर्तीत ठेगानाको विशेष प्रस्ताव र संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्नु हुने ४ जना संचालकहरुको कार्यकाल पुरा भएको र संस्था मर्जरमा जाने भएकोले नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिई थप गरेको कार्यकालको विशेष प्रस्ताव समेत अनुमोदन गर्‍यो ।

आ.व. २०७८/०७९ को अन्त्य सम्ममा संस्थाले साझेदार संस्थाहरुका करीब ३२ हजार ७ सय कर्मचारी तथा पदाधिकारीहरु र ९ लाख ७३ हजार लघुवित्तमा संलग्न ग्राहक सदस्यहरुलाई तालिम प्रदान, आर्थिक तथा प्राविधिक सहयोग प्रदान गराई सकेको छ । साथै संस्थाले आ.व. २०७८/०७९ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ७ वटै प्रदेशहरुमा विभिन्न कार्यक्रममा रु.१८ लाख ४४ हजार रकम खर्च गरेको छ ।

आरएमडीसी लघुवित्त वित्तीय संस्था लि. नेपालमा लघुवित्त कार्यक्रम संचालन गर्ने संस्थाहरुलाई थोक ऋण प्रदान गर्ने उद्देश्यकका साथ २०५५ कार्तिक १३ गते स्थापना भएको हो । नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको वित्तीय संस्थाको इजाजतपत्र प्राप्त यस संस्थाले मुख्यतः गरीब, विपन्न तथा पिछडिएका महिलाहरुलाई केन्द्रीत गरी लघुवित्त तथा सहकारी संस्थाहरु मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

साथै संस्थाले साझेदार लघुवित्त तथा सहकारी संस्थाहरुको संस्थागत सुदृढिकरण तथा संस्थामा आवद्ध ग्राहकहरुको ज्ञान तथा सीप विकासको लागि आर्थिक तथा प्राविधिक सहयोगका साथै संस्थाहरुको नियमित अनुगमन गर्ने कार्य गर्दै आएको छ । साथै उनले, राष्ट्रिय अन्तर्राष्ट्रिय निकाय र संस्थाहरुसँगको सहकार्यमा लघुवित्त क्षेत्रको विकास तथा विस्तार गर्दै परिवर्तित परिस्थिति अनुसार दिगो र प्रभावकारी रुपमा संस्थाका कार्यक्रमहरुलाई संचालन गर्न आवश्यक रणनीति तय गरिने बताइन् ।

विश्व आर्थिक मन्दी तथा तरलता अभावका कारण लघुवित्त तथा सहकारी क्षेत्रमा परेको प्रतिकुल प्रभावलाई सम्बोधन गर्न यस संस्थाले दिने ऋणका प्रकारहरुमा विविधिकरण गरी सेवालाई थप प्रभावकारी बनाइने कुरा समेत बताइन् । साथै लघुवित्तले आर्थिक तथा समाजिक क्षेत्रमा पुर्‍याएको योगदानको बारेमा चर्चा गर्दै उनले हाल लघुवित्त वित्तीय संस्थाहरुमा देखिएको चुनौतीहरुको समाधान गर्दै अगाडि बढ्नु पर्ने कुरा बताइन् ।

प्रतिक्रिया दिनुहोस्