लालपूर्जाविहीन पनि पुनर्निर्माणमा «

लालपूर्जाविहीन पनि पुनर्निर्माणमा

काभ्रेको भुम्लु गाउँपालिकाका २ वटा वडाका भूकम्पपीडित लालपुर्जा नभएकै कारण घर बनाउनबाट वञ्चित थिए । तर सरकारले लालपुर्जा नभए पनि सरकारी अनुदान दिएपछि उनीहरू धमाधम घर निर्माणमा लागेका छन् । भुम्लुमा पुनर्निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । भुम्लु गाउँपालिकाको २ वटा वडामा लालपूर्जाविहीन भूकम्पपीडितले सरकारी अनुदान पाए पश्चात घर बनाउने कामले तीव्र गति लिएको हो ।
भूकम्पपीडितले लालपुर्जा नहुँदा सरकारी राहत अनुदान पाउनबाट वञ्चित बनेका तत्कालीन २ गाविसका पुर्जाविहीन भूकम्पपीडितलाई २ वर्षपछि सरकारी आवास निर्माण राहत अनुदान उपलब्ध गराइएको हो । राहत पश्चात घर बन्न सुरु भएको छ । भुम्लुकोे वडा नं ७ का ३६५ र ८ नं. वडाका ५८९ पीडित परिवार ४३ वर्षदेखि पुर्जाविहीन छन् । गाउँपालिकाको ७ र ८ वडामा डेढ सय घर निर्माणाधीन अवस्थामा रहेका छन् । सरकारले जग्गा धनीले ‘तिरो’ तिरेको तथा इन्जिनियरले दिएको निस्साको आधारमा आवास निर्माण अनुदान उपलब्ध गराएको थियो । यसअघि पुर्जाविहीन भूकम्पपीडितले अनुदान सम्झौता गर्न पाएका थिएनन् । सरकारले पुर्जाविहीन पीडितको समस्यालाई समाधान गर्न गत भदौमा आवास निर्माणसम्बन्धी कार्यविधि तयार गरेपछि यहाँका करिब १ हजार पुर्जाविहीन भूकम्पपीडितले किस्ताबन्दीमा सरकारी अनुदान लिएर घर बनाएका हुन् ।
हाल ७ र ८ नं. वडामा ११ र १५ घर बनिसकेको गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले जानकारी दिँदै लाभग्राहीको सूचीमा ६७ परिवार छुटेको बताए । कुवँरले ३८ पीडितको बस्ती जोखिमपूर्ण अवस्थामा रहेकाले गाउँपालिकाभित्रै अन्यत्र स्थानको खोजी कार्यसमेत भइरहेकोे बताए । २०३२ सालमा नापीका बेला साविक पिपलटार गाविसमा खेतीयोग्य जमिनबारे विवाद भएपछि टुक्रिएर भुम्लुटार र फलाँटे गाविस हुँदा स्थानीय बासिन्दा लालपुर्जाविहीन हुन पुगेका थिए । काभे्र जिल्लाका ७५ वर्षभन्दा माथिका सहाराविहीन वृद्धवृद्धा, अपांगता भएका व्यक्ति, ६० वर्षभन्दा माथिका एकल महिला र परिवार नभएका १५ वर्षमुनिका बेसहारा बालबालिकाको प्राधिकरणले घर बनाइदिन लागेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय कार्यालय काभ्रेका प्रमुख धु्रव गैडाले जानकारी दिएका छन् । स्थानीयले जग्गाको पुर्जा प्राप्तिका लागि भूमिसुधार मन्त्रालयमा प्रक्रिया अघि बढाएपछि गत वर्षमात्र जिल्ला मालपोत कार्यालय काभे्रले गत वर्षको चैतभित्र लालपुर्जा दिने जनाएको थियो । तर अहिलेसम्म जग्गाधनीलाई लालपुर्जा भने दिन सकेको छैन ।

कपिल कोइराला

प्रतिक्रिया दिनुहोस्