चिल्ड्रेनपार्क भाडामा नलाग्दा प्रयोगविहीन

खोटाङको दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिकाले निर्माण गरेको चिल्ड्रेनपार्क भाडामा नलाग्दा उपयोगविहीन बनेको छ । दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका-१ दिक्तेलबजारको रत्नपार्कमा निर्माण गरिएको चिल्ड्रेनपार्क उद्घाटन गरेको वर्ष दिन बित्दासमेत भाडामा लाग्न सकेको छैन ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकाको साझेदारीमा चार करोड ३७ लाख ८४ हजार ७५१ रुपैयाँको लागतमा निर्माण गरिएको सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्क २०७८ फागुन ३ गते उद्घाटन गरिएको थियो । व्यावसायिक प्रयोजनका लागि निर्माण गरिएको सपिङ कम्प्लेक्सको तल्लो तलामा १४ वटा सटर र माथिल्लो तलामा रेस्टुराँ हल, विभिन्न स्टल सञ्चालन गर्न मिल्ने संरचना बनाइएको छ ।
सपिङ कम्प्लेक्सको माथिल्लो तलाको पछाडिपट्टि चिल्ड्रेनपार्क निर्माण गरिएको छ । चिल्ड्रेनपार्कमा केटाकेटी खेल्ने स्वीमिङ पुल, कोलम्बस राइड (पिङ), स्वीङराइड, पिङ, बगैंचालगायतका संरचना तयार पारिएको छ । सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्कलाई पाँच वर्षका लागि भाडामा दिन नगरपालिकाले २०७८ साल फागुनमै न्यूनतम दुई लाख ९७ हजारको ठेक्का आह्वान गरेको थियो ।
त्यो बेला तल्लो तलाको सटरहरू भाडामा लाग्दा माथिल्लो तलाको चिल्ड्रेनपार्क, रेस्टुराँ, हल र पाँच वटा स्टलको ठेक्का हालसम्म लाग्न नसकेको तीर्थराज भट्टराई बताउँछन् । भाडा दर घटाएर सूचना आह्वान गर्दा पनि व्यक्ति वा इजाजत प्राप्त फर्म, संस्था वा कम्पनी चिल्ड्रेनपार्क सञ्चालनमा इच्छुक देखिएका छैनन् ।