खडेरीले बारीमै सुक्यो मकै «

खडेरीले बारीमै सुक्यो मकै

भोजपुरका किसानले लगाएको मकैबाली बारीमै सुकेर काम नलाग्ने अवस्थामा पुगेको छ । जिल्लाका अधिकांश ठाउँमा लामो समयदेखि पानी नपर्दा किसानले दुःख गरेर रोपेको मकैको बोट कामै नलाग्ने गरी बारीमै सुकेको हो ।
निकै मेहनतका साथ रोपेको मकै कामै नलाग्ने भएपछि कृषक मारमा परेका छन् । भोजपुरको टक्सार, आम्तेक, जरायोटार, दलगाउँ बास्तीम, ठूलोदुम्मा, सानेदुम्मा, जरायोटार, सिक्रेटार, याङ्पाङ, सिन्द्राङ, होप्ताङ, मानेभञ्ज्याङ क्षेत्रमा खडेरीका कारण मकै सुत्ला लाग्न नपाउँदै बारीमै सुकेको छ । मकै सुक्दा यो वर्ष किसानको मकै फलाउने सपना सपनामै सीमित भएको छ । अनेक दुःखकष्ट गरी खेताला लगाई रोपेको मकै फल्ने आश मरेको भोजपुर नगरपालिका मालबोकका किसान रोहित कार्की बताउँछन् । “पानी आउने छाँटकाट देखिँदैन । सुत्ला चेपेको मकै पनि सुकिसक्यो र सानै रहेको मकैको बोट सुकेर डढ्ने भएको छ,” कार्कीले भने । सुकेका मकैको बोट घाँसको रूपमा समेत प्रयोग गर्न नसकिएको कार्कीले बताए । उनका अनुसार सुक्दै गरेको मकैको बोटमा विभिन्न खालका किरा लागेका कारण मकैको बोट काटेर गाईभैंसीलाई लगाईदिए गाईभैंसी नै बिरामी भएर मर्ने अवस्थामा पुगेका कारण घाँसको रूपमा प्रयोग गर्न नसकेको अवस्था छ ।
यस्तै रोपेको मकैको बीउसमेत नआउने किसानहरूको भनाइ छ । “मकै फलाउँला र बेचेर केटाकेटीलाई पढाइ, नुन भुटुन किनी घर व्यवहार चलाउँला भनी दिनरात मकैको मलजल गोडमेल गरेको मकै फल्छ र खाउँला बेचम्ला भन्ने आश खडेरीले खायो,” किसान रमा कार्की बताउँछिन्, “मकै सबै बारीमै सुकेका कारण न अन्न फलाउन सकियो, नत भएका गाईभैंसीलाई नै बचाउन सक्ने अवस्था छ । केही समय यस्तै हो भने गाईभैंसी पनि घाँस खान नपाएर मर्ने अवस्थामा पुग्छ ।”
मकैमात्र हैन पाखा, बारी र जंंगलको घाँस समेत सुकेर गएपछि गाईभैंसी पाल्न नसक्ने अवस्था भएको किसानहरूले गुनासो गरेका छन् । पानी नपर्दा भोजपुरका किसानले अधिकांश ठाउँमा धान समेत रोप्न पाएका छैनन् । खडेरीका कारण खानेपानीको समेत समस्या भएका कारण बसोबास गर्न नै समस्या भएको स्थानीयहरूले गुनासो गरेका छन् । खडेरीका कारण किसान मारमा परेका बेला खडेरी संकटग्रस्त क्षेत्र घोषणा घरी आवश्यक राहत वितरण गर्न समेत किसानले सरकारसँग आग्रह गरेका छन् ।

अर्जुन बस्नेत

प्रतिक्रिया दिनुहोस्