बैंकको लगानीमा राष्ट्र बैंकको बेवास्ता «

बैंकको लगानीमा राष्ट्र बैंकको बेवास्ता

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सबल रुपमा नियमन गर्न नसक्दा अहिले समस्या उत्पन्न भएको बताएका छन् ।

“बैंकको कर्जा अर्थतन्त्रमा योगदान पुर्‍याउने खास खासमा क्षेत्रमा प्राथमिकताका आधारमा प्रबाह हुनुपर्छ” नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको पाँचौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले भने, “तर कोराना समयमा कर्जा प्रबाह नहुँदा बैंकले उद्योगी व्यवसायीलाई विना योजना सस्तो ब्याजदरमा ऋण दियो तर तत्कालिन समयमा हचुवाको भरमा लिएको ऋण सदुपयोग नगर्दा अहिले समस्या देखिएको छ ।”

विशेषगरी नियामक निकाय राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कामलाई नियमन नगर्दा अहिले समस्या निम्तिएको समेत उनले दावी गरे । “राष्ट्र बैंक नियामक निकाय भएपछि बैंक तथा वित्तीय संस्थाले केकस्ता क्षेत्रमा कर्जा प्रबाह गरिरहेका छन् भनेर नियमन गर्नुपर्दथ्यो” उनले भने, “कोभिडको समयमा बैंकमा निक्षेप थपिँदा बैंकका कर्मचारीले घरघरमा पुगेर कर्जा दिए तर त्यो कर्जा केका लागि दिइयो भनेर कसैले अनुगमन गरेनन् ।”

कोरोनापछि बैंकले गरेको लगानीका सहि सदुपयोग नहुँदा देशमा उद्योग कलकारखाना धरासायी बन्न पुगेको उनको भनाइ थियो । अहिले देशमा आर्थिक मन्दीका कारण समस्या आएको भन्दै सो विषयमा गहन अध्ययन हुनुपर्ने उनको भनाइ थियो । “राष्ट्र बैंकको बेवास्ता र सरकारको अदुरदृष्टिको मार अहिले उद्योगी व्यवसायीले भोग्नु परेको छ” उनले भने, “”हामीले कृषि क्षेत्रलाई उकास्न सहुलियतपूर्ण कर्जा दियौं तर त्यसको अर्थतन्त्रमा केकति योगदान भयो ? यस विषयमा सरकारले अध्ययन अनुसन्धान गर्नुपर्छ ।”

सरकारले व्यवसायीका जायज मागलाई सम्बोधन नगर्दा आन्दोलनमा उत्रन परेको भन्दै यस विषयमा अबका दिनमा सबै सरोकारवालाहरु एक ठाउँमा बसेर छलफल गरेर निकास दिनुपर्ने उनको तर्क थियो । “हामीले ब्याजदरलगायत अन्य विषयलाई लिएर धेरै ज्ञापन पत्र बुझायौं भने सोही अनुरुप आन्दोलन पनि गरियो तर महासंघको आवाजलाई सकारले सुनेन” उनले भने, “पछिल्लो समय महासंघको साख गिरेका कारण सरकार लगायत सरोकारवाला निकायले हामीलाई वेवास्ता गरिररहेको छ ।” महासंघको गिरेको साख जोगाउँदै अझ दरिरो रुपमा अघि बढाउन आफूले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्