सुरु भयो चियाको पहिलो टिपाई «

सुरु भयो चियाको पहिलो टिपाई

सिजनको पहिलो हरियो चिया पत्तीको टिपाई सुरु भएको छ । गएको कात्तिक महिनादेखि बन्द भएको चियाको उत्पादन चैत महिना लागेसँगै मुना पलाएपछि टिपाई सुरु भएको हो । चिया टिप्नु परेपछि किसान तथा चिया उद्योगी र श्रमिक चियाको काममा व्यस्त हुनेछन् ।

चियाको पहिलो टिपाईलाई फस्ट प्लग भन्ने गरिन्छ । पहिलो टिपाइबाट तयार हुने चिया उच्च गुणस्तरको हुने भएकाले महँगो मूल्यमा बिक्री हुन्छ । चिया किसानले हरियो पत्तीको मूल्यसमेत बढी पाउने गरेका छन् । यस सिजनको टियामा पानीको मात्रा कम हुने गरेकाले पनि यसलाई राम्रो चियाको रुपमा लिने गरिन्छ ।

जिल्लाको तल्लो क्षेत्रमा चियाको टिपाई सुरु भएपनि माथिल्लो र उच्च क्षेत्रमा भर्खर मुना बस्न मात्र सुरु भएको छ । इलाममा हरियो पत्तीको टिपाई अर्थात् फस्ट प्लग चैत लागेसँगै सुरु हुन्छ । सुरुवाती टिपाई भएकाले तयारी चियासमेत गुणस्तरीय उत्पादन हुन्छ । यस सिजनको चियाको मूल्य दोब्बरसम्म बढी हुने चिया किसानहरुको भनाइ छ ।

चियाको उत्पादन सुरु भएसँगै चिया किसानसमेत काममा ब्यस्त हुने गर्दछन् । साथै यहाँका चिया कारखानाले समेत प्रशोधन थालेका छन् । केहीले प्रशोधनको तयारी गरिरहेका छन् । इलाम नगरपालिका १ का टंक दाहालले प्रशोधन समेत थालेको बताए । उनीलगायत जिल्लाको तल्लो क्षेत्रका किसानले चिया टिप्न थालेका छन् । प्राय पहिलो टिपाईको चिया घरमा नै खान राखिने समेत गरिएको छ ।

धेरै उत्पादन भएमा मात्र बेच्ने गरिन्छ । इलाम लगायत पूर्वमा ११ हजार ५६९ हेक्टरमा चिया खेती भइरहेको तथ्यांक रहेको छ । १४ हजार ८ सय ९८ साना किसान चिया खेतीमा सलग्न छन् । तथ्यांक अनुसार १ करोड ८२ लाख केजी सिटिसी तथा ४९ लाख किलो अर्थोडक्स चियाको उत्पादन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्