खराब कर्जाले उठाएको प्रश्न

सर्वसाधारण र निजी क्षेत्रले बैंक तथा वित्तीय क्षेत्रलाई नाफाखोरको आरोप लगाउँदै आएका बेला वाणिज्य तथा विकास बैंकको खराब कर्जा दोब्बरभन्दा धेरैले बढेको छ । पछिल्ला पाँच वर्षको माघदेखि माघसम्मको आर्थिक विवरणलाई तुलना गर्दा यो वर्ष खराब कर्जा दोब्बरभन्दा धेरै देखिएको छ ।
यो तथ्यांकले सर्वसाधारण, निजी क्षेत्र मात्र होइन; बैंकहरू पनि समस्यामा छन् भन्ने प्रस्ट पारेको छ । पछिल्ला पाँच वर्षयता वाणिज्य र विकास बैंकहरूको खराब कर्जा २ प्रतिशत पनि पुगेको तथ्यांक देखिँदैन । जबकि यो वर्ष वाणिज्य बैंकको २.४९ र विकास बैंकको खराब कर्जा २.८२ प्रतिशत पुगेको छ । २०७५ मा वाणिज्य बैंकको १.६ र विकास बैंकको खराब कर्जा १.१२ प्रतिशत मात्र थियो ।
त्यसयताका वर्षमा वाणिज्य बैंकको खराब कर्जा अधिकतम १.७१ सम्म पुगेको थियो भने विकास बैंकको १.९२ प्रतिशतसम्म पुगेको देखिन्छ । यस्तै फाइनान्स कम्पनीहरूको खराब कर्जा भने २०७५ माघसम्ममा १०.२७ प्रतिशत पुगेको थियो । त्यसयताका वर्षहरूमा सुधार हुँदै न्यूनतम ६.६४ प्रतिशतमा झरेको थियो ।
यो वर्षको माघसम्म फेरि ७.८२ प्रतिशत पुगेको छ । यस वर्षको असारसँगै तुलना गर्दा पनि बैंकहरूको खराब कर्जा बढेको छ । गत असारमा वाणिज्य बैंकको १.२ र विकास बैंकको १.३६ प्रतिशत खराब कर्जा थियो । यस्तै फाइनान्स कम्पनीहरूको खराब कर्जा असारको ६.२३ बाट बढेर माघमा ७.८२ प्रतिशत पुगेको छ । बैंक तथा वित्तीय संस्थामा खराब कर्जा शून्यमा आउन सक्दैन ।
सर्वसाधारणको निक्षेप लिएर जथाभावी लगानी गर्ने छुट बैंकहरूलाई छैन । अब बैंकहरूले खराब कर्जा असुलीमा बढी ध्यान दिनु आवश्यक छ ।
तर, यो १ प्रतिशत तल वा हाराहारी भए राम्रो मानिन्छ । यो तथ्यांकले पछिल्लो एक वर्ष बैंकहरूले कर्जा असुली गर्न नसकेको देखाएको छ । कर्जा असुली नभएकै कारण खराब कर्जा बढ्दै गएको हो । चर्को ब्याजदर, चुलिएको महँगी र अर्थतन्त्रमा आएको सुस्तताका कारण ऋणीहरूले कर्जा तिर्न नसक्ने बताइरहेका छन् । उद्योगी तथा व्यवसायीले पनि तत्काल कर्जा तिर्न नसक्ने भन्दै समय थप्न आग्रह गरेका छन् ।
चर्को ब्याजदर कम गर्न पनि यतिखेर आन्दोलन भइरहेको छ । खराब कर्जा बढेसँगै कालोसूचीमा पर्ने ऋणीको संख्या पनि बढ्दो छ । यो वर्ष अर्थतन्त्रमा देखिएको सुस्तता, बजारमा पैसा अभाव, कारोबारमा आएको मन्दी, निजी क्षेत्रको आत्मबलमा देखिएको कमजोरीलगायतका विषयलाई हेर्दा अधिकांश ऋणीले कर्जाको साँवाब्याज तिर्न सक्ने क्षमता देखिँदैन । यसले आगामी दिनमा खराब कर्जा भयावह हुन सक्ने संकेत गर्छ ।
अर्थशास्त्रीहरूले आगामी वर्षमा पनि सुधारको संकेत नदेखिए खराब कर्जा १० प्रतिशत पुग्न सक्ने आकलन गरिसकेका छन् । विगतमा जथाभावी रूपमा चालू पुँजी कर्जा दिएको र निजी क्षेत्रले यस्तो कर्जाको अधिकांश हिस्सा सेयर बजार, घरजग्गाजस्ता अनुत्पादक क्षेत्रमा लगाएका थिए । अहिले यी क्षेत्रको कारोबार घटेकाले कर्जा असुलीमा समस्या आएको छ । राष्ट्र बैंकले चालू पुँजी कर्जा किस्ताकिस्तामा तिर्ने सुविधा दिएकाले आगामी दिनमा झनै खराब कर्जा बढ्न सक्नेछ ।
महँगी र बैंक ब्याजदरमा कमी आएर अर्थतन्त्रको गतिविधि नबढेसम्म खराब कर्जाको समस्या समाधान हुने देखिँदैन । खराब कर्जा घट्न ऋणीहरूको कारोबार बढ्नु जरुरी छ । अर्कातिर घरजग्गा र सेयर कारोबारमा आएको मन्दीले यो क्षेत्रमा गरेको लगानी उठ्न सकेको छैन । यसले पनि खराब कर्जा बढाउन सहयोग पुर्याएको छ । यो क्षेत्रको ऋण असुली हुन यही क्षेत्र चलायमान हुन जरुरी छ । अहिलेको अवस्था हेर्दा यो क्षेत्रको कारोबारमा चाँडो सुधार आउने देखिँदैन ।
पछिल्ला दिनमा बैंकहरूले ब्याजदर क्रमशः घटाउँदै गएका छन् । तर, महँगी भने घट्ने संकेत देखिएको छैन । यो वर्ष संसारभर महँगी बढेको छ तैपनि पछिल्ला दिनमा भारतलगायत केही मुलुकमा महँगी घटेकाले त्यसको प्रभाव नेपालमा पनि पर्ने अनुमान गर्न सकिन्छ । खराब कर्जा बढ्नु स्वस्थ्य बैंकिङ क्षेत्रका लागि अशुभ संकेत हो । हालै अमेरिकामा मध्यम खालका दुई बैंक बन्द भए । ती बैंक बन्द हुनुमा कोभिड, आर्थिक मन्दी वा अन्य यस्तै कुनै विशेष कारण थिएनन् ।
लगानीमा भएको कमजोरी नै बैंक बन्द गर्नुपर्ने मुख्य कारण हो । नेपालमा पनि खराब कर्जा बढ्नुमा अहिले अर्थतन्त्रमा आएको सुस्ततालाई प्रमुख कारण भनेर देखाउने गरिएको छ । व्यापार–व्यवसायमा आएको सुस्तताले अहिले राम्रो ऋणी पनि समस्यामा परेको हुन सक्छ । त्यसैले यो एक हदसम्म सही होला । तर, खराब कर्जा बढ्नुमा बाह्य कारणभन्दा बैंकको आफ्नै भित्री कमजोरीको हिस्सा बढी हुन सक्छ ।
विगतमा तरलता पर्याप्त भएका बेला बैंकहरूले कर्जा प्रवाह हुने क्षेत्र र ऋणीको हैसियत नहेरी जथाभावी लगानी गरेका थिए । लगानी गरेको क्षेत्रबाट प्रतिफल आउन सक्ने/नसक्ने हेरिएको थिएन । त्यसैले खराब कर्जा बढ्नुमा अर्थतन्त्रको समस्याभन्दा बैंकहरूको जथाभावी लगानी प्रमुख कारण हो । बैंकहरूमा भएको रकम निमुखा गरिब र विपन्न वर्गको पनि हो । सर्वसाधारणको निक्षेप लिएर जथाभावी लगानी गर्ने छुट बैंकहरूलाई छैन ।
अब बैंकहरूले खराब कर्जा असुलीमा बढी ध्यान दिनु आवश्यक छ । खराब कर्जालाई स्वच्छ बिन्दुमा राख्न सके मात्र बैंकमाथि सर्वसाधारणको विश्वास रहन्छ । खराब कर्जा बढेर बैंक समस्यामा आएको तथ्यांक बाहिरिनेबित्तिकै निक्षेप निकाल्न सर्वसाधारणको लामो सूची लाग्नेछ । यस्तो अवस्था आए अमेरिकी बैंकजस्तै बन्द गर्नुको विकल्प हुनेछैन । त्यसैले बेलैमा सोच्नु हितकारी हुनेछ ।