पोखरामा पाटा शिखर सम्मेलन

पर्यटकीय नगरी पोखरामा पहिलो पटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को वार्षिक शिखर सम्मेलन तथा तेस्रो संस्करणको एडभेन्चर मार्ट हुने भएको छ । आगामी मे २९ देखि जुन १ (जेठ १५ देखि १८ गते) सम्म पाटाको वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर मार्ट पोखरामा हुने नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले बताए ।
नेपालको मुख्य पर्यटकीयस्थल पोखरामा हुने उक्त कार्यक्रमले हाल कोभिड-१९ र आर्थिक मन्दिको प्रभावलाई केही हदसम्म चलायमान बनाउन मद्दत पुग्ने उद्देश्यले उक्त कार्यक्रम पोखरामा गर्ने तयारी गरिएको उनले बताए । उनले भने, “कोभिड–१९ पछि प्रभावित भएको नेपालको समग्र पर्यटन क्षेत्र र मुख्यगरी गण्डकी प्रदेश र प्रदेश राजधानी पोखराको पर्यटनका लागि मार्ट र शिखर सम्मेलन कोसेढुंगा सावित हुनेछ ।”
सम्मेलनमा करिब १५ देशका ३ सयभन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधि सहभागी हुने उक्त कार्यक्रमले नेपाली तथा अन्तर्राष्ट्रिय व्यापारलाई एउटै प्लेटफर्ममा भेला हुने र काम गर्ने अवसर प्रदान गर्ने उनले विश्वास व्यक्त गरे । उक्त कार्यक्रम पोखरामा भव्य रूपमा सम्पन्न गर्दा नेपालको पर्यटनमा थप माइलेज बढ्ने उनले दाबी गरे । यस्ता कृयाकलापले पर्यटक आगमनमा सन् २०२३ को अन्त्यसम्ममा नेपालको पर्यटन कोभिड–१९ पूर्वको अवस्थामा पुग्न सकिने कार्यकारी प्रमुख डा. रेग्मीले दाबी गरे ।
एडभेन्चर मार्टमा विश्वभरका तीन सय अन्तर्राष्ट्रिय प्रतिनिधिको सहभागितामा उक्त कार्यक्रम पोखरामा हुनुले पोखरासहित नेपालको समग्र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने पाटा इन्टरनेसनलका सचिव सुमन पाण्डेले बताए । प्रकृति र संस्कृतिको धनी पोखरामा उक्त कार्यक्रमको अवसरमा पर्यटन प्रवर्द्धन, दिगो पर्यटन, संकट व्यवस्थापन, हवाईसुरक्षा, साहसिक खेल प्रवर्द्धन, पर्वतीय पर्यटन, सामाजिक संजाललगायतका विषयमा गहन छलफल हुने भएको उनले जनाए ।
पोखरा महानगरपालिका मेयर धनराज आचार्यले उक्त कार्यक्रमले पोखरामा पर्यटन प्रवर्द्धन गर्ने हुँदा आवश्यक सहयोग गर्ने बताए । पोखरालाई स्थानीय तह पोखरा महानगर र प्रदेश सरकार गण्डकी प्रदेशले पर्यटनको राजधानीको रूपमा मान्दै आएपछि संघ सरकारले घोषणा गर्न ढिला गरेको गुनासो गर्दै मेयर आचार्यले अब स्थानीय रूपमा उक्त घोषणासहित पर्यटन प्रवर्द्धनमा लाग्ने समय आएको बताए ।
पोखरामा अन्तर्राष्ट्रिय सभा सम्मेलन गर्नका लागि आगामी दुई वर्षभित्र पूरा हुने गरी एक अर्ब ६५ करोडको लागतमा दुई हजार ५ सय सिट क्षमताको सभाहल निर्माणको प्रकृयामा रहेको उनले बताए । पोखरामा रात्रिकालीन हवाई उडान सुरु भएसंँगै पर्यटन आगमनमा केही वृद्धि भएको मेयर आचार्यको भनाइ छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निर्देशक काशीराम भण्डारीले पाटाको उक्त कार्यक्रम पश्चात नेपालको पर्यटन सन् २०१९/०२० को अवस्थामा पुग्ने विश्वास व्यक्त गरे । उक्त कार्यक्रममा प्रसिद्ध ब्लगरको समेत सहभागिता हुने कार्यक्रमपछि लुम्बिनी, चितवन, बर्दिया, जोमसोमलगायतका ठाउँमा अध्ययन अवलोकन तथा भ्रमण गर्ने कार्यक्रम तय गरिएको पोखरा पर्यटन परिषद्का महासचिव संजयकान्त सिग्देलले जनाए ।
पहिलो पटक नेपाल सरकार, पर्यटन बोर्ड तथा पाटाको मुख्य आयोजनामा हुने कार्यक्रमको स्थानीय संयोजन पोखरा परिषद्ले गर्ने भएको कार्यवाहक अध्यक्ष कृष्ण भण्डारीले बताए । शिखर सम्मेलनका लागि नेपाल पर्यटन बोर्डका अध्यक्षसमेत रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको र समितिमा पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्था सदस्यको रूपमा रहेको कार्यकारी प्रमुख डा. रेग्मीले बताए । नेपालले सन् १९७५ मा पाटा इन्टरनेसनलको सदस्यता लिएको थियो ।