९ वर्षसम्म काम नगर्ने ठेकेदारलाई कारबाही गरिने «

९ वर्षसम्म काम नगर्ने ठेकेदारलाई कारबाही गरिने

नलगाड नगरपालिका–१० रग्दा र रुकुम पश्चिम आठबीसकोट नगरपालिका–५ स्यालाखदी जोडने भेरी नदीको पुल सात वर्षसम्म निर्माण कार्य पूरा नभएपछि सडक डिभिजन कार्यालयले ठेक्का तोडने चेतावनी दिएको छ । मृत सञ्जीवनी ग्याल्बा जेभीले २०७३ असार ३१ गते भेरीमा पुल निर्माण गर्ने भन्दै सडक डिभिजन चौरजहारीसँग ठेक्का सम्झौता गरेको थियो ।

उक्त ठेक्का लिँदा २०७७ पुस १३ गते निर्माणकार्य पूरा गर्ने सम्झौता गरिएको थियो । सम्झौता मिति पूरा भई दुई वर्ष पूरा हुन लाग्दासम्म एक ठाउँको मात्र पिल्लर उठाएर काम बीचमै छाडेपछि अहिलेसम्म काम अलपत्र छ । पटकपटक म्याद थप्दासम्म मृत सञ्जीवनी ग्याल्बा जेभीले काम नगरी सम्पर्कविहीन हुने गरेपछि डिभिजन कार्यालय चौरजहारीले अन्तिमपत्र लेख्दै ठेक्का तोडने बताएको हो ।

यदि काम गर्ने भए विश्वसनीय कार्ययोजनासहित १५ दिनभित्र सडक डिभिजन चौरजहारीमा उपस्थित हुन अन्तिम पटक चेतावनी दिइएको डिभिजन प्रमुख आशुतोष कर्णले बताए । पटकपटक म्याद थप्दा पनि काम नगर्ने निर्माण व्यवसायीलाई सडक डिभिजन कार्यालय चौरजहारीले ठक्का तोडने चेतावनी दिएको छ ।

म्याद थप गर्दा गरिएका प्रतिबद्धताअनुसार काम नभएको भन्दै डिभिजन कार्यालयले १५ दिनभित्र विश्वासनीय स्पष्टीकरण र समयमै निर्माण गर्ने यथेष्ट कार्ययोजनासहित कार्यालयमा आउन अन्तिम चेतावनी पत्र लेखेको हो । यदि यो कार्यलाई अटेर गरेमा प्रचलित कानुनअनुुसार ठेक्का रद्द गर्न बाध्य हुने चेतावनी दिइएको छ ।

यो अवधिमा काम केही सामान्य काम भएकोमा त्यहाँका मजदुरले पारिश्रमिकसमेत नपाएको नलगाड नगरपालिका–१० का सुरेन्द्र थापाले बताए । रुकुम पश्चिम आठबीसकोट नगरपालिका–५ गोतामकोटका करवीर बस्नेतले काम गरेको रकम नपाएको गुनासो गरे । गोतामकोटकै गुमलाल विकको नेतृत्वमा काम गरेको मजदुरले १० लाख रुपैयाँ नपाएको बताएका छन् ।

स्थानीय मजदुर जयलाल भण्डारीको नेतृत्वमा काम गरेको मजदुरले ६ लाख रकम नपाएको बताए । स्थानीयवासी चंखलाल नेपालीको ट्रयाक्टर प्रयोग गरेमार्फत् जेभीले ६ लाख र आफूहरूले खाना खाएको दुई लाख रकमसमेत निर्माण व्यवसायीले भुक्तानी नगरेको भन्दै मजदुर आन्दोलनमा उत्रिएका छन् । जाजरकोट खण्डमा सामान्य पिल्लर उठाएको पाइएको छ ।

मृत सञ्जीवनी गाल्बा जेभी वसुन्धरा काठमाडौंको नामबाट छेडागाड नगरपालिकाका नगरप्रमुख रत्न खड्काले बैंक ग्यारेन्टीसमेत राखेर काम सुरु गरेका थिए । सम्झौता मितिभन्दा बढी समय लगाएपछि पेस्की बराबरकै रकम बैंकबाट कार्यालयले फिर्ता लिएपछि पुल निर्माण नगर्ने भन्दै मेयर खड्का काम छोडेका थिए ।

मृत सञ्जीवनी गाल्बा जेभी वसुन्धारा काठमाडौंको नाममा कार्यालयबाट गएको पेस्कीस्वरूप ९० लाख रुपैयाँ लिइसकेकाले ठेक्काको काम छोडेर खड्कालाई बाहिरिन सजिलो भएको थियो । नौ करोड रुपैयाँमा पुल निर्माण गर्ने सम्झौतामा उल्लेख छ । खड्काले बीचमै काम छोडेपछि मृत सञ्जीवनी गाल्बा जेभी वसुन्धरा काठमाडौंले अहिलेसम्म पुलको काम अघि बढाएको छैन ।

भेरी करिडोरबाट रुकुम पश्चिम राप्ती लोकमार्गसँग जोड्ने यो पुलको काम सात वर्षसम्म नहुँदा यहाँको विकास निर्माणसमेत अवरुद्ध भएको छ । भेरी करिडोर र राप्ती लोकमार्ग जोड्ने काम अवरुद्ध भएको हो । त्यस्तै पुष्पलाल मध्यपहाडी लोकमार्गसँग भेरी करिडोर जोडका लागि निर्माण कार्य थालिएको रुकुम पश्चिम सानीभेरी गाउँपालिकाको पूर्तिमकाँडा–गराइलाको बीचमा रहेको सानी भेरीको पुलसमेत नौ वर्षदेखि अलपत्र परेपछि सडक डिभिजन चौरजहारीले कारबाही गर्ने अन्तिम तयारी थालेको छ ।

सपना–सैलुङ जेभीले उक्त पुल निर्माण गर्ने भन्दै २०७१ मंसिर २ गते सडक डिभिजनसँग सम्झौता गरेर २०७७ पुस १३ गते निर्माण कार्य पूरा गर्ने गरी सम्झौता गरेको थियो । सम्झौताको भाका नाघेर दुई वर्ष पूरा हुन लाग्दासम्म कामको सुरुवात नै नगरेका कारण सडक डिभिजन कार्यालयले कारबाही गर्न सार्वजनिक सूचना निकालेको छ ।

यो पुलले पुष्पलाल मध्यपहाडी, भेरी करिडोर सडकसँग जोडिने महत्वपूर्ण काम गर्ने भन्दै ठेक्का खोलिएको थियो । तर काम सुरु नै नहुँदा ठेक्का तोडने अवस्थामा पुगेको डिभिजन प्रमुख कर्णले बताए । म्याद थप गर्दा गरिएका प्रतिबद्धताअनुसार काम नभएको भन्दै डिभिजन कार्यालयले १५ दिनभित्र विश्वसनीय स्पष्टीकरण र समयमै निर्माण गर्ने यथेष्ट कार्ययोजनासहित कार्यालयमा आउन अन्तिम चेतावनी पत्र लेखेको छ ।

यो कार्यलाई अटेर गरेमा प्रचलित कानुनअनुसार ठेक्का रद्ध गर्न बाध्य हुुनेसमेत चेतावनी दिइएको छ । कामको जिम्मेवारी लिएर तोकिएको काम पूरा नगर्ने निर्माण व्यवसायीलाई कारबाही गरी सो कार्यलाई छिटो छरितो गर्ने उद्देश्यले खटिएको प्रमुख कर्णले बताए ।

प्रतिक्रिया दिनुहोस्