८ महिनामै तातोपानीको भौतिक प्रगति ६० प्रतिशत «

८ महिनामै तातोपानीको भौतिक प्रगति ६० प्रतिशत

जुम्लाका आठ स्थानीय तहमध्ये तातोपानी गाउँपालिका सेवा प्रवाहसंँगै भौतिक विकासमा फड्को मारेको छ । कर्णालीका ७९ वटै स्थानीय तहमै पहिलो जनप्रतिनिधि र कर्मचारीबीच कार्यसम्पादन सम्झौता गरेको थियो । वैशाख मसान्तसम्म पालिकाका सबै योजना निर्माण र भुक्तानी गरिसक्ने लक्ष्यअनुसार तातोपानीले भौतिक विकासमा फड्को मारेको हो ।

मंगलबार सम्पन्न दोस्रो चौमासिक समीक्षा तथा सार्वजनिक सुनुवाइमा प्रस्तुत प्रगति प्रतिवेदनअनुसार तातोपानीले दोस्रो चौमासिकमै ६० प्रतिशत बढी योजना सम्पन्न गरेको छ । पालिकाका कुल १६२ वटा योजना रहेकोमा दोस्रो चौमासिकसम्म ६१ योजना सम्पन्न भइसकेको सबइन्जिनियर कृष्णहरि अधिकारीले बताए ।

उनका अनुसार सम्पन्न भएका ६१ योजनामध्ये ३४ योजनाको भुक्तानीसमेत भइसकेको छ भने २७ योजना भुक्तानी प्रक्रियामा छन् । उनले भने, “योजनागत हिसाबमा ६० प्रतिशत बढी भौतिक प्रगति हासिल गरेका छाैं। काम सम्पन्न भइसकेका तर उपभोक्ता भुक्तानी लिन नआएकोले पनि वित्तीय प्रगति काम देखिनसक्छ । तर जुन गत आवभन्दा बढी नै हो । तथापि, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गतका विद्यालय भवन निर्माण द्रुतगतिमा हुन सकेका छैनन् ।”

पालिकाका १३२, ठेक्काबाट संचालित १०, प्रदेशका १९ र संघीय सरकारको १ वटा गरी जम्मा १६२ योजना रहेकोमा ठेक्का र प्रदेशका ठूला योजनाबाहेक पालिकाका सबै योजना वैशाख मसान्तमै सकिने सबइन्जिनियर अधिकारीको भनाइ छ । आठवटा वडा रहेको तातोपानीमा ८ नम्बर वडा ताम्ती टोप्ला क्षेत्रका मात्रै ७० प्रतिशत योजना सम्पन्न भइसकेका छन् ।

पुँजीगत खर्च बढाउन, असारे विकासको अन्त्य गर्न कार्यसम्पादन सम्झौता भएकोमा वैशाख मसान्तमै योजना निर्माण सक्ने उद्देश्य अनुरुप जनप्रतिनिधि, कर्मचारी सबै खटिँदा दोस्रो चौमासिकमा तातोपानीले भौतिक विकासमा जिल्लामै अब्बलता देखाएको तातोपानीका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए ।

आठ महिनाको विकास खर्च २३ प्रतिशत

तातोपानी गाउँपालिकाले चालू आर्थिक वर्षको दोस्रो चौमासिक अर्थात् आठ महिनामा कुल पुँजीगत बजेटको २३ प्रतिशत खर्च गरेको छ । चालू आवको फागुन मसान्तसम्म पालिकाको विकास खर्च २३.५६ प्रतिशत भएको हो ।

तातोपानीमा चालू आवमा पुँजीगततर्फ कुल २६ करोड ९२ लाख ३३ हजार २२५ रुपैयाँ विनियोजन गरिएको थियो । जसमा आठ महिनामा ६ करोड ३४ लाख ३८ हजार ५०२ रुपैयाँ अर्थात् २३.५६ प्रतिशत वित्तीय प्रगति भएको तातोपानी गाउँपालिकाका लेखापाल शिवराज न्यौपानले बताए । उनका अनुसार चालू खर्च भने ४६ प्रतिशत भएको छ ।

उनले भने, “योजना सम्पन्न भएको तुलनामा भुक्तानी कम देखिन्छ । काम सम्पन्न भई अनुगमनसमेत भइसकेका योजनाको भुक्तानी लिन उपभोक्ता नआउँदा विकास खर्च कम देखिएको हो । यद्यपि, नियमित भुक्तानीको काम भइरहेको छ । वैशाखसम्म योजना निर्माण र भुक्तानी सक्ने लक्ष्यअनुसार नै काम भइरहेको छ ।”

उपभोक्ता समितिलगायत सेवाग्राहीको राहत र सहजताका लागि जिल्लामै पहिलो तातोपानीले सिधै बैंक खातामा पैसा भुक्तानी गर्ने सिस्टम लागू गरेको छ । विगतमा चेक लिन लाइनमा बस्नुपर्ने, कार्यालयमा पटकपटक धाउनु पर्ने बाध्यता रहेकोमा अब कागजात र प्रक्रिया पुगेका उपभोक्ताको भुक्तानी तत्काल सिधै बैंकमा भुक्तानीको व्यवस्था गरिएको लेखापाल न्यौपानले जानकारी दिए ।

प्रक्रिया पुगेको योजनाको भुक्तानीमा कुनै ढिला नहुने कागजात ल्याएको सोही दिनमै भुक्तानी हुने लेखापाल न्यौपानको प्रतिबद्धता छ । यद्यपि सुस्त इन्टरनेट, उपभोक्तामा ज्ञानको अभाव र निकासा समयमै नहुनेजस्ता समस्याले अपेक्षित रूपमा छिटोछरितो सेवा दिन सकिएको छैन ।

समृद्ध तातोपानी बनाउने बाचा

मंगलबार सम्पन्न तातोपानीको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइमा नागरिक अगुवा, पत्रकार, दलका प्रतिनिधिले तातोपानीलाई समृद्ध बनाउन आवश्यकतामुखी योजना वितरण, अनुगमन निरीक्षण, छिटो छरितो सेवाप्रवाह गर्न र गुनासो सुनुवाइलाई प्रभावकारी बनाउन सुझाव दिएका छन् ।

तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले भौतिक विकाससँगै पालिकाको सेवा प्रवाह, गुनासो सुनुवाइलगायतका कामलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता गरे । सार्वजनिक सुनुवाइमा उठेका प्रश्न गुनासालाई आगामी नीतिमा समेटी सम्बोधन गरिने उल्लेख गरे ।

“समृद्ध तातोपानी र सुखी तातोपानीबासी बनाउन सबैको हातेमालो जरुरी छ,” उनले भने, “हाम्रा आन्तरिक आम्दानीका स्रोत प्रशस्त छन् । स्रोत परिचालन र लगानी गरी आन्तरिक आय वृद्धि गर्न जरुरी छ । घरदैलोको सरकार भएकाले आवश्यकता असीमित छन् परिपूर्ति सीमित हुन्छ । तथापि अत्यावश्यक सेवा र विकास हाम्रो प्राथमिकतामा छ ।”

असारे विकासको अन्त्य गर्न, वैशाखमै योजना निर्माण सक्ने दृढ लक्ष्य कर्मचारीको अथक प्रयास र जनप्रतिनिधिको साथले सफलता नजिक पुगेको अध्यक्ष चौलागाईंको भनाइ छ । महिला सशक्तीकरण, उद्यमशीलता, न्याय सम्पादनको कार्यलाई प्राथमिकता दिएको उपाध्यक्ष रेवती रावलले बताइन् ।

पाँच वर्षमा महिला उद्यमशीलताका क्षेत्रमा उल्लेखनीय कार्य हुने उनको दाबी छ । सूचनाको हकको प्रत्याभूति दिलाउन, सुशासन पारदर्शिता कायम गर्न र नागरिकका गुनासा सुन्न हरेक चार महिनामा समीक्षा र सार्वजनिक सुनुवाइ गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत तीर्थ कठायतले बताए ।

प्रतिक्रिया दिनुहोस्