पोखरामा बन्यो रानीमहलको झल्को दिने पाल्पा हाउस

गण्डकी प्रदेशको राजधानी एवं पर्यटकीयस्थल पोखरा र लुम्बिनी प्रदेशको अर्को पर्यटकीयस्थल तानसेनलाई जोड्न पोखरामा पाल्पा हाउस सञ्चालनमा आएको छ । जन्म जिल्ला पाल्पा र कर्म जिल्ला कास्की क्षेत्रमा उत्पादित वस्तु तथा स्थानको पहिचान गराउने उद्देश्यले पोखरामा पाल्पा हाउस सञ्चालनमा ल्याएको पाल्पा हाउस प्रालिका अध्यक्ष कुलचन्द्र घिमिरेले बताए ।
दुवै जिल्लाको वस्तु तथा सेवा, एवं खानाको परिकारसँगै कला संस्कृतिसमेत प्रवर्द्धन गर्न आफूहरूले उक्त क्षेत्रमा १७ वटा स्टल सञ्चालनमा ल्याएको उनले जनाए । पोखरा–९ न्यूरोडमा मायाको प्रतीक रानीमहलको झल्को दिने गरी निर्माण गरिएको पाल्पा हाउसको भवनमा ‘रानीमहल रेस्टुराँ’ बाट पाल्पाली परिकार चुकाउनी, बटुक, मिसमास, छोयलालगायत चलन चल्तीका खानाका विभिन्न स्वाद पस्किने अध्यक्ष घिमिरेले जनाए ।
उनले भने, “पाल्पा र पोखराबीच पुरानो सम्बन्ध हो, पहिले पोखरेली पढ्न पाल्पा जान्थे, समयक्रमसँगै विभिन्न कामकाजको सिलसिलामा पाल्पालीहरू पोखरा झरे ।” पाल्पा जिल्ला घर भई हाल पोखरामा विभिन्न पेसा, व्यवसाय, अध्ययनको सिलसिलामा पाल्पाली समाज पोखरा स्थापना भएसँंगै सम्पर्क समाजमध्ये सबैभन्दा पुरानो समाज भएको दाबी गरेका अध्यक्ष घिमिरेले पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र पाल्पाली कोलोनी खुलेको जनाए ।
उक्त हाउसको उद्घाटनको अवसरमा एक सातासम्म १० प्रतिशतसम्म विशेष छुटको व्यवस्था मिलाएको अध्यक्ष घिमिरेले बताए । दुई तले पक्की उक्त भवन निर्माणमा करिब दुई करोडको लगानी भएको उनले जनाए । पाल्पाली चिनारीहरु ढाका, करुवालगायत फलफूल तथा कृषिजन्य उत्पादन पाल्पाकै सुपथ मूल्यमा यहींबाट उपलब्ध गराइने भएको छ ।
त्यस्तै कास्कीको पहिचान जेठोबुढो तथा विभिन्न कृषि उत्पादनको बजारीकरण गरिने भएको छ । एकै छानामुनि विभिन्न सेवा दिने उद्देश्यले पाल्पा हाउसमा कुल १७ सटरमा विभिन्न प्रकृतिका पसल सञ्चालित छन् । समग्रमा पाल्पा हाउसले कास्की र पाल्पामात्र नभई गण्डकी र लुम्बिनी प्रदेशकै पर्यटन प्रवर्द्धनसहित आर्थिक गतिविधिमा टेवा पुर्याउने हाउसका खेम सारुले विश्वास व्यक्त गरे ।
भविष्यमा पाल्पा हाउस मुलुकका विभिन्न सहरमा पनि विस्तार गर्दै जाने आफूहरूको योजना भएको उनले जनाए । यसैबीच उक्त पाल्पा हाउसको एक समारोहका बीच यही चैत १० गते शुक्रबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।