विदेशमा रहेका २२ लाख श्रमिकलाई आवद्ध गराउने लक्ष्य

सरकारले वैदेशिक रोजगारी तथा विदेशमा स्वरोजगार रहेका नेपालीलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समावेश गर्ने योजनाको शुरुवात गरेको छ । औपचारिक क्षेत्रका श्रमिक मात्र समावेश हुँदै आएकोमा बुधबारबाट वैदेशिक रोजगारीमा रहेका २२ लाखसहित विदेश रहेका ४० लाख नेपालीलाई योजनामा आवद्ध गरिने भएको छ । लामो समयको तयारीपछि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा सूचिकृत गर्ने योजना शुभारम्भ गरिएको हो ।
योजनाको शुभारम्भ गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषमा सूचीकरणको काम सुरु भएको घोषणा गरे । सो अवसरमा प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारमा जाने युवालाई विभिन्न बहानामा दुःख दिने कामको अन्त्य हुने बताए । उनले विभिन्न परिस्थिति र बाध्यताले वैदेशिक रोजगारीमा जान परेको अवस्थालाई अन्त्य गर्न सरकार कटिवद्ध रहेको बताए । अब वैदेशिक रोजगारी जाने तयारीमा रहेका र विदेशमा रहेका श्रमिकले श्रम स्वीकृति लिने बेला, श्रम स्वीकृति नवीकरण गर्ने बेलामा योजनामा समावेश हुनुपर्नेछ ।
यसैगरी नविकरण गर्ने बेला नभएकाहरु पनि वैदेशिक रोजगार विभाग र सामाजिक सुरक्षा कोषको वेबसाइटमार्फत सहभागी हुन सक्ने छन् । योजनामा समावेश हुने श्रमिकले मासिक २ हजार २ रुपैयाँ बुझाउनु पर्नेछ । रकम एकमुष्ट बुझाए जम्मा गरेको रकममा १० प्रतिशत छुट पाइने कोषले जनाएको छ । यो रकम खल्ती, ईसेवा र कनेक्ट आईपीएसमार्फत नै रकम जम्मा गर्ने व्यवस्था मिलाइएको कोषले बताएको छ ।
कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले वैदेशिक रोजगारीमा रहेका २२ लाख श्रमिकलाई कोषमा समेट्ने तयारी रहेको छ । कोषले अनौपचारिक र स्वरोजगारी क्षेत्रमा कार्यरत श्रमिकका लागि वैशाख १ गतेबाट योजना सुरु गरेपछि सामाजिक सुरक्षा योजनामा सबै प्रकारका श्रमिक आवद्ध हुने छन् । स्वरोजगारीमा संलग्न १८ लाख, अनौपचारिक क्षेत्रका श्रमिक ४२ लाख, सरकारी अस्थायी तथा करारमा रहेका श्रमिक ४० हजार, निजी र संगठित क्षेत्रका १८ लाख श्रमिक समेट्ने सरकारको योजना छ ।
योजनामा आवद्ध भएपछि वैदेशिक रोजगारीमा रहेका श्रमिकले दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धवस्था सुरक्षा सुविधा पाउने छन् । सरकारले औद्योगिक क्षेत्रका श्रमिकका लागि तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको कम्तीमा २१.३३ प्रतिशत योगदान गर्ने गरी योजनाको घोषणा गरेको छ । यस्तो योगदान रकम कोषले दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा ७.४८ प्रतिशत र वृद्ध अवस्था सुरक्षा योजनामा १३.८५ प्रतिशत छुट्याएको छ ।
योगदानकर्ताले निवृत्तिभरण योजनामा जम्मा भएको रकम र सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कुल योगदान रकम एकमुष्ठ लिने वा सो रकमलाई १ सय ६० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना जीवनकालभर निवृत्तिभरण लिने रोज्न पाउने छन् । यसका साथै योगदानकर्ता दुर्घटनामा परेर अस्पताल भर्ना भए १ लाख रुपैयाँसम्म उपचार खर्च पाउँछन् । कोषले उपचारको ८० प्रतिशत वा प्रतिवर्ष १ लाख रुपैयाँ पाउने जनाएको छ ।
विदेशमा रहेका श्रमिक आवद्ध भएपछि योगदानकर्ताको मृत्यु भएमा निजको पति वा पत्नीले निवृत्तिभरण, सन्ततिलाई शैक्षिक वृत्ति र अन्तिम संस्कार खर्च पाउने कोषले जनाएको छ । जुनसुकै कारणबाट मृत्यु भएमा पनि न्यूनतम आधारभूत पारिश्रमिकको ४० प्रतिशतका दरले जीवनभर निवृत्तिभरण पाउने जनाइएको छ । वैदेशिक रोजगारी अन्त्य भएपछि एकमुष्ठसमेत रकम लिने वा निवृत्तभरण योजनामा रोज्ने विकल्प हुने जनाइएको छ ।
वैदेशिक रोजगारीमा रहेका वा जाने तयारीमा रहेकाले न्यूनतम २ हजारदेखि अधिकतम २८ हजार रुपैयाँसम्म कोषमा योगदान गर्न सक्ने छन । यसरी योगदान गर्नेलाई १ लाख रुपैयाँसम्मको वार्षिक दुर्घटना उपचार खर्च, ५ हजार ६ सय ३१ रुपैयाँसम्म अशक्तता पेन्सन, आश्रित परिवारलाई ३ हजार ७ सय ५४ रुपैयाँसम्म आजीवन पेन्सन र २१ वर्षसम्म सन्ततिलाई ३ हजार ७ सय ५४ रुपैयाँसम्मको शैक्षिक वृत्तिबापत रकम पाउने छन् ।
विदेशमा गएका श्रमिकले अनलाइनबाट नै आवेदन दिई आफैं सूचीकृत हुनुपर्ने छ । कोषमा सहभागी हुन रोजगारदाता कम्पनीको अनुमति नचाहिने भएकाले श्रमिक आफैंले राहदानी र श्रम स्वीकृति राखेर आवेदन दिन सक्ने छन् । वैदेशिक रोजगारीमा जाने श्रमिकको हकमा भने श्रम स्वीकृति दिने बेलामा नै कोषले खाता नम्बर उपलब्ध गराउने जनाएको छ ।
– १ लाख रुपैयाँसम्मको वार्षिक दुर्घटना उपचार खर्च
– ५ हजार ६ सय ३१ रुपैयाँसम्म अशक्तता पेन्सन
– आश्रित परिवारलाई ३ हजार ७ सय ५४ रुपैया आजीवन पेन्सन
– २१ वर्षसम्म सन्ततिलाई ३ हजार ७५४ शैक्षिक वृत्ति रकम