पोखरामा १० करोडको होटल पौवा «

पोखरामा १० करोडको होटल पौवा

रुपन्देहीको सालझण्डीबाट सुरु भएको होटल पौवाको शाखा पोखरासम्म आएको छ । कपिलवस्तुको गोरुसिङ्गे, दाङको भालुवाङ, लमही र घोराही, कर्णाली प्रदेशको जुम्ला, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा र सुदूरपश्चिम प्रदेशको धनगढी पछि होटल पौवाले आफ्नो ११औं शाखा सञ्चालनमा ल्याएको छ । नेपाली हस्पिटालिटीसहित पहिलो सेवा प्रारम्भ गरेको होटल पौवा प्रालिले पोखराको लेकसाइडमा आफ्नो आतिथ्य सेवा सुरु गरेको होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए ।

सामान्यतयाः नेपाल घुम्ने बाह्य र आन्तरिक पर्यटकको पहिलो रोजाई पोखरा भएको हुँदा पोखरा आउने पर्यटकलाई परम्परागत नेपाली पहिचानसहितको सेवा दिने उद्देश्यले पौवाले पोखरालाई आफ्नो रोजाईमा पारेको प्रबन्ध निर्देशक ज्ञवालीले बताए । “पौवाले दिने आतिथ्य पोखरा आउने पर्यटकका लागि अविस्मरणीय हुनेछ” उनले भने, “पोखराबासी र बाहिरका सबै पाहुनालाई पुनः पौवामै आउने, पौवामै बस्ने, पौवामै कार्यक्रम गर्ने बनाउन हामीले मन, वचन र कर्मले इमान्दारीपूर्वक सेवा सत्कार दिनेछौं ।”

होटल पौवाले आगन्तुक पाहुनालाई आवासियसहितको बाससहित गास र कुनै सभा सम्मेलन तथा कार्यक्रम समेत गर्नु पर्दा करिब ७० सिटदेखि एक हजार सिट क्षमताको सभाहल समेत हालै निर्माण गरेको छ । पहाडी तथा उच्च पहाडी भेगमा उत्पादित वस्तुहरुको स्वास्थ्यवर्द्धक हाइजेनिक खाना उपलब्ध गराउने भएको प्रबन्ध निर्देशक ज्ञवालीले बताए ।

नेपाली पर्यटन उद्योगमा नेपाली हस्पिटालिटीको पहिलो प्रयोगका रुपमा ‘होटल पौवा’ सुरुवात भएको होटलका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए । नेपाली बजारमा विदेशी हस्पिटालिटी प्रयोग हुँदै आएको सन्दर्भमा पौवामा प्रवेश गर्ने जो कोही पाहुनाले नेपाली सत्कार, नेपाली संस्कार र नेपाली स्वादको अनुभूति गर्ने उनले बताए ।

होटल प्रवेश गरेदेखि बिदाई हुँदासम्म नेपालीपनको सेवा दिने उद्देश्यले नेपाली संस्कृति र संस्कार एवं नेपाली रैथाने स्वादको पहिचान दिनु पौवाको लक्ष्य रहेको उनले जनाए । देश पर्यटनबाट समृद्ध बन्छ भन्ने सोचकै कारण पर्यटन क्षेत्रमा पौवाको आक्रमण बिस्तारमा जुटेको अध्यक्ष भण्डारीले बताए । अहिलेको अवस्थामा झन होटलमा लगानी गर्नु चुनौतीपूर्ण भएको उल्लेख गरेका उनले चुनौतीलाई अवसरमा रुपान्तरण गर्नका लागि होटल पौवाको विस्तार गर्दै पोखरा आइपुगेको दाबी गरे ।

आन्तरिक पर्यटक र बाह्य पर्यटकको सही संयोजन गर्न सके होटल व्यवसाय सञ्चालन गर्न सकिन्छ भन्ने आफूहरुको अनुभव रहेकै कारण पोखरामा प्रवेश गरेको दाबी गरेका अध्यक्ष भण्डारीले पौवाले प्रदान गर्ने सेवा, सत्कार र आतिथ्यता सबै नेपालीपनको हुने प्रतिवद्धता जनाउने बताए । पौवाले ११औं शाखाको रुपमा पोखरामा करिब १० करोड लगानी गरेको अध्यक्ष भण्डारीले बताए ।

उक्त होटलमा न्यूनतम ३ हजार ५ सयदेखि ११ हजारसम्मका स्वीट रुमहरु उपलब्ध भएको होटलले जनाएको छ । हालसम्म करिब ६० करोड होटलमा लगानी गरेको पौवाले करिब ३ सय भन्दा बढी कर्मचारीलाई रोजगार दिएको छ । हालसम्म १ सय ५० जना उक्त होटल पौवामा लगानी भएको अध्यक्ष भण्डारीले जनाए ।

पोखराको लेकसाइडको स्ट्रिट नं. १ बाट ११औं शाखा सञ्चालनमा ल्याएको पौवाले विविध कार्यक्रमका साथ पौवाले शाखा सञ्चालनको औपचारिक शुभारम्भ गर्ने तयारी गरेको छ । यसैबीच, पोखरा शाखाको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही चैत १० गते औपचारिक रुपमा उदघाटन गर्ने कार्यक्रम तय गरिएको प्रबन्ध निर्देशक ज्ञवालीले बताए ।

शुभारम्भको अवसरमा चैत १०, ११ र १२ गते ३ दिनमा फुड टेस्ट, पौवाका सबै शाखाका सेफहरुबीच अन्तरशाखा प्रतिस्पर्धा, नेपाली आतिथ्यताबारे सम्मेलनसहित विविध कार्यक्रम आयोजना हुने होटल पौवाका प्रबन्ध निर्देशक ज्ञवालीले बताए । सुन्दर गार्डेनसहितको सुविधा सम्पन्न होटल भवनमा सुपर डिलक्स र मिनी स्वीट गरी ३९ वटा सुविधासम्पन्न रुमहरु रहेको उनले जनाए ।

प्रत्येक कोठामा वातानुकुलित रहेका छन् भने उच्च गतिको इन्टरनेट सुविधा, कोठाबाटै माछापुच्छ्रे र अन्नपूर्ण हिमालसहित शान्ति स्तुपा र रानीवनको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ होटलले दाबी गरेको छ । ठूलो उपस्थितिका लागि पार्किङ अत्यावश्यक भएको अवस्थामा पौवामा एकैपटक ५० बढी सवारी साधन पार्किङ गर्नसक्ने सुविधा रहेको छ भने सबैखाले सुविधायुक्त पौवा यस्ता कार्यक्रम गर्न पोखरा र आसपासका बासिन्दाका लागिसमेत सहज गन्तव्य बन्ने होटलका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले दाबी गरे ।

पौवाले चौबिसै घण्टा आतिथ्य सत्कारको सेवा दिँदै आएको छ भने पूर्ण पारिवारिक वातावरणमा सञ्चालन हुने पौवाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र बसपार्कसम्म ल्याउने/लैजाने यातायातको सुविधासमेत उपलब्ध गराउने उनले बताए । पौवा पोखराले मात्र ५० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ भने पौवाको सेवाले पोखरा घुम्न आउने पर्यटकले नेपाल चिनाउने अवसरको रुपमा लिइएको ब्राण्ड प्रमुख भण्डारीको भनाइ छ ।

उनले भने, “होटलमा आउने अतिथि तथा ग्राहकको सन्तुष्टि नै हाम्रो सेवाको आदर्शको रुपमा लिएका छौं, नेपाली नयाँ वर्षमा पौवाले स्वदेशी र विदेशी पर्यटकलाई लक्षित गरी विशेष छुटसहितको प्याकेज सेवा उपलब्धको तयारमा रहेका छौं ।” विश्व शान्तिका दुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट सुरु गरेको यात्रा पौवाले एक दशकमा १०० शाखा विस्तारको योजनासहित मिसन १०० योजना बनाएको होटल पौवा पोखरासहित अहिलेसम्म देशभर ११ स्थानमा सञ्चालनमा छ ।

अतिथि देवो भवः भन्ने मान्यतालाई आत्मसात गर्दै पौवाले गण्डकी प्रदेशको राजधानी पोखराबाट संघीय राजधानी काठमाडौं र मानसरोवर कैलास यात्राको मुख्य प्रवेशद्वार नेपालगन्जमा समेत सेवा विस्तार गर्न लागेको छ । होटल पौवाले नेपाली चाडपर्वलाई उल्लासका साथ मनाउँदै आएको पोखरा शाखाका व्यवस्थापक राजेन्द्र बस्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्