निर्यातको दोब्बर इन्धन आयात «

निर्यातको दोब्बर इन्धन आयात

चालु आर्थिक वर्षको फागुनसम्ममा मुलुकले गर्ने कुल निकासीभन्दा इन्धन आयातमा बढी खर्च भएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार फागुनसम्म १ खर्ब ९६ अर्ब ३६ करोड रुपैयाँ बराबरको इन्धन (पेट्रोलियम पदार्थ) आयात भएको छ । यही अवधिमा मुलुकको कुल निर्यात व्यापार एक खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ । यो इन्धन आयातको तुलनामा करिब आधामात्र हो । गत वर्ष भने निर्यात व्यापार २ खर्ब रुपैयाँ पुगेको थियो ।

विभागका अनुसार फागुनसम्ममा ९८ अर्ब ९५ करोड ८२ लाख रुपैयाँ बराबरको डिजेल आयात भएको छ भने ४४ अर्ब १५ करोड ९९ लाख रुपैयाँ बराबरको पेट्रोल ल्याइएको छ । यस्तै, ३८ अर्ब ७२ करोड ६० लाख रुपैयाँ बराबरको एलपी ग्यास तथा १४ अर्ब ५१ करोड ७२ लाख रुपैयाँ बराबरको हवाई इन्धन आयात भएको छ । इन्धन आयात निर्यात व्यापारसँग मात्र धेरै होइन, कुल आयातमा पनि यसको हिस्सा धेरै छ । फागुनसम्मको कुल आयातमा इन्धनको हिस्सा १८.५५ प्रतिशत पुगेको हो ।

पूर्व वाणिज्य सचिव तथा व्यापार विज्ञ पुरुषोत्तम ओझा उपभोक्तासँग पैसा नभएका कारण बजारमा माग पक्ष कमजोर भएको भन्दै अर्थतन्त्र अधोगतितर्फ गएको बताउँछन् । गत वर्ष निर्यातमा झन्डै ४६ प्रतिशत हिस्सा पाम आयल र सनफ्लावर आयलले धानेकोमा यस वर्ष यी वस्तुको निर्यात घट्नासाथ समग्र निर्यातमा असर देखिएको ओझाको भनाइ छ । व्यापारमा दिगो निकासी हुन नसक्दा यसको परिमाण नै घट्न थालेको उनी बताउँछन् ।

केन्द्रीय बैंकले आयातमा गरेको केही कडाइका कारण आयात र निर्यातको ग्याप केही घटे पनि यसको दिर्घकालिन समाधान भने आन्तरिक उत्पादन वृद्धि र निर्यात बढाउनु तथा आयातलाई प्रतिस्थापन गर्नु नै भएको ओझाको भनाइ छ । उनका अनुसार अर्थतन्त्र शिथिल गतितर्फ गएको छ, निर्यातको हिस्सा बढ्न सक्ने सम्भावना न्यून भएकाले भविष्यमा अझै व्यापार घाटाको दायरा बढ्दै जाने देखिएको छ । देशको अर्थतन्त्र आयातमुखी भएकाले आयात घट्नासाथ राजस्व पनि घट्ने हुँदा सरकारलाई दैनिक प्रशासनिक खर्चसमेत धान्न मुस्किल भएको छ ।

व्यापारघाटा साढे ९ खर्ब
चालु आवको फागुनसम्ममा मुलुकको वैदेशिक व्यापार घाटा साढे ९ खर्ब रुपैयाँ पुगेको छ । विभागका अनुसार फागुन मसान्तसम्म मुलुकको व्यापारघाटा ९ खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँ पुगेको हो । यो व्यापारघाटा गत वर्ष फागुनको तुलनामा १७.८६ प्रतिशतले कम हो ।

गत आवको फागुनसम्म ११ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ बराबरको व्यापारघाटा भएको थियो ।
विभागका अनुसार आयात र निर्यात दुवै शीर्षकमा कमी आउँदा व्यापार घाटामा पनि कमी आएको हो । यस अवधिमा आयात १९.१३ प्रतिशतले घटेको छ भने निर्यातमा २९.०७ प्रतिशतले कमी आएको छ । यही कारण कुल वैदेशिक व्यापार २०.१४ प्रतिशतले घटेको हो ।

फागुनसम्म निर्यात १ खर्ब ४ अर्ब ७९ करोडको भएको छ भने १० खर्ब ५८ अर्ब ३८ करोडको बस्तु आयात भएको छ । आठ महिनामा नेपालको कुल वैदेशिक व्यापार ११ खर्ब ६३ अर्ब १८ करोड रुपैयाँ पुगेको हो ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पन्ज आइरन, रासायनिक मल, सुन, स्टेसनरी सामान लगायतको आयात बढेको छ भने सवारीसाधन तथा स्पेयर पार्टस्, औषधी, एमएस बिलेट, दूरसञ्चारका उपकरण तथा पार्टस्, चाँदी लगायत वस्तुको आयात घटेको छ । निकासी व्यापारतर्फ यस अवधिमा १५ अर्ब १८ करोड १८ लाख रुपैयाँ बराबरको पाम आयल तथा ८ अर्ब ३७ करोड २२ लाख मूल्य बराबरको सोयाबिन आयल निर्यात भएको छ ।

नेपालबाट निकासी भएका प्रमुख वस्तुमा पाम आयल, भटमासको तेल, पोलिस्टर तथा अन्य धागो, ऊनी गलैंचा, फलाम तथा फलामका उत्पादन छन् । यस्तै अलैंची, जुट तथा जुटका सामानहरु, तयारी पोशाक, जुस, ऊनी फेल्टका उत्पादन, चिया, पस्मिना सल, कुकुर–बिरालाको आहारा, कपडा, चाऊचाऊ, जडीबुटी, रोजिन एन्ड रोजिन एसिड, जुत्ता–चप्पल र नेपाली हाते कागज प्रमुख रुपमा निकासीको सूचीमा छन् ।

नेपालको निकासी व्यापारमा प्रमुख स्थान ओगट्ने भारततर्फको निर्यातमा कमी आएर ७४ अर्ब २१ करोड ८६ लाखमा झरेको छ । भारततर्फको निकासीमा ह्रास आउनुमा भारततर्फ हुने पाम, भटमास तथा सूर्यमुखी तेलमा ह्रास आउनु नै प्रमुख कारणका रुपमा रहेको छ ।

भारतसँग नेपालको व्यापारघाटा ५ खर्ब ८२ अर्ब ५८ करोड रहेको छ । चीनसँगको व्यापारघाटा १ खर्ब ४५ अर्ब २६ करोड रहेको छ । चीनतर्फ आठ महिनामा ५१ करोड ९३ लाख रुपैयाँको मात्र निकासी भएको छ । नेपालको निर्यात व्यापारमा महत्वपूर्ण रहेका अन्य मुलुकहरुमा संयुक्त राज्य अमेरिका, जर्मनी, युके, क्यानडा, टर्की, फ्रान्स, अष्ट्रेलिया, जापान, इटाली, नेदरल्याण्ड्स, डेनमार्क र स्वीट्जरल्याण्ड प्रमुख रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्