विदेशका श्रमिक पनि सामाजिक सुरक्षामा «

विदेशका श्रमिक पनि सामाजिक सुरक्षामा

वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगार रहेका नेपालीलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन थालिएको छ । यसअघि स्वदेशकै औपचारिक क्षेत्रमा रोजगाररत श्रमिक तथा कर्मचारीमात्र कोषमा आबद्ध हुने प्रावधान रहेकामा अब वैदेशिक रोजगारी तथा विदेशमा रहेका सबै सूचीकृत हुन सक्ने भएका हुन् ।

सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका र विदेशमा रहेका श्रमिक तथा अन्य नेपालीलाई योजनामा आबद्ध गराउन यससँग सम्बन्धित अनलाइन प्रणालीको काम पूरा गरेको छ । कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले अब सबै क्षेत्रमा कार्यरत श्रमिक योजनामा आबद्ध हुने बताए ।

कोषले वैदेशिक रोजगारी तथा विदेशमा रहेका नेपालीलाई योजनामा आबद्ध गराउन आफ्नो सप्टवेयर प्रणालीलाई वैदेशिक रोजगार विभागको प्रणाली (फेमिस) सँग जोडिसकेको छ । चैत ८ बाट विदेश जान नयाँ श्रमस्वीकृति लिने र विदेशमा कार्यरत तथा स्वरोजगारलाई आबद्ध गराउने गरी काम भइरहेको कोषका सहप्रवक्ता रोहित रेग्मीले जानकारी दिए । उनका अनुसार चैतपछि वैदेशिक रोजगारीमा जाने श्रमिक श्रमस्वीकृति लिँदा नै कोषमा आबद्ध हुनु पर्नेछ ।

कोषले वैदेशिक रोजगारी तथा विदेशमा स्वरोजगार रहेका सबै श्रमिक योजनामा सामेल हुने अपेक्षासहित श्रम गन्तव्यबाट नै आबद्ध गर्ने गरी प्रणाली विस्तार गरेको छ । सरकारले गत पुस पहिलो साता वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगार रहेका व्यक्तिका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७९ स्वीकृत गरेको थियो । कार्यविधिमा वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा स्वरोजगारलाई चैतबाट र अनौपचारिक तथा स्वरोजगारलाई वैशाखबाट आबद्ध गराउने उल्लेख छ ।

चार वर्षअघि औपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा ल्याइए पनि स्वरोजगार, अनौपचारिक तथा विदेशमा रहेका श्रमिकलाई कोषको दायरामा ल्याइएको थिएन । वैदेशिक रोजगारमा रहेको वा विदेशमा स्वरोजगार रहेको नागरिकले कम्तिमा न्यूनतम आधारभूत पारिश्रमिकको २१.३३ प्रतिशत रकम अर्थात् न्यूनतम २ हजार मासिक रुपमा र अधिकतम त्यसको तीन गुणासम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुन सक्ने प्रावधान छ । यसैगरी स्वरोजगारमा रहेका व्यक्तिले नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ३१ प्रतिशत अर्थात् न्यूनतम २ हजार ९ सय ९ रुपैयाँका दरले अधिकतम यसको तीन गुणासम्म कोषमा योगदान गरी सुविधा उपभोग गर्न सक्ने व्यवस्था छ ।

कार्यविधिले नियमित रुपमा योगदान गर्ने योगदानकर्तालाई औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना गरी विभिन्न योजना सञ्चालनमा ल्याएको छ । सरकारले कोषको दायरा र कार्यक्षेत्र विस्तारसँगै सबै प्रकारका श्रमिक सामाजिक सुरक्षामा आबद्ध हुने निश्चित भएको छ ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकले अग्रिम रुपमा योगदान गरेमा १० प्रतिशतसम्म छुटको व्यवस्थासमेत गरिएको छ । खर्च कटाई आम्दानीको ७० प्रतिशत रकम औपचारिक माध्यमबाट रेमिटेन्स पठाएको प्रमाण पेश गरेमा २० प्रतिशत छुट रकम फिर्ता हुने प्रावधान छ । दुर्घटना, अशक्तता र आश्रित परिवार सुरक्षा योजना अन्तर्गत सुविधा नलिएमा २० प्रतिशत रकम छुटको व्यवस्था तथा नेपालमा फर्केपछि अन्यजस्तै औपचारिक, अनौपचारिक र स्वरोजगारमा योजनाहरुमा जान सक्ने व्यवस्था गरिएको कोषले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषबाट कर्जा तथा सापटीको व्यवस्था हुन सक्ने प्रावधान पनि राखिएको छ । श्रमस्वीकृतिको म्याद ३ वर्ष मान्ने हो भने विगत ३ वर्षमा १४ लाखभन्दा बढी श्रमिक हाल वैदेशिक रोजगारीमा रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्