एक वर्षमा खराब कर्जा दोब्बर «

एक वर्षमा खराब कर्जा दोब्बर

पछिल्लो एक वर्षमा वाणिज्य तथा विकास बैंकहरूको खराब कर्जा दोब्बरभन्दा धेरैले बढेको छ । चालु आर्थिक वर्षको माघ महिनाको आर्थिक विवरणलाई गत आवको माघसँग तुलना गर्दा खराब कर्जा दोब्बरभन्दा धेरै देखिएको हो ।

गत असारकै तुलनामा पनि माघमा बैंकहरूको खराब कर्जा अत्यधिक बढेको छ । राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा १.२० प्रतिशत रहेको बैंकहरूको खराब कर्जा माघमा आउँदा २.४९ प्रतिशत पुगेको छ । यस्तै, गत असारमा १.३६ प्रतिशत रहेको विकास बैंकको खराब कर्जा माघमा २.८२ प्रतिशत पुगेको छ । फाइनान्सहरूको खराब कर्जा ६.२३ प्रतिशतबाट बढेर ७.८२ प्रतिशत पुगेको छ ।

विगतका वर्षहरूको तुलनामा पनि चालु आवको माघ महिनामा बैंकहरूको खराब कर्जा उच्च देखिएको छ । २०७५ माघमा वाणिज्य बैंकको खराब कर्जा १.६० प्रतिशत र विकास बैंकको खराब कर्जा १.१२ प्रतिशत रहेको थियो । यस्तै, फाइनान्सहरूको खराब कर्जा २०७५ माघमा १०.२७ प्रतिशत रहेकोमा चालु आवको माघमा ७.८२ प्रतिशत रहेको छ ।

पछिल्लो एक वर्ष बैंकहरूलाई खराब कर्जा असुलीका लागि निकै सकस परेको छ । चर्को ब्याजदर र अर्थतन्त्रमा आएको सुस्तताका कारण ऋणीहरूले यतिखेर कर्जा तिर्न नसक्ने बताउँदै आइरहेका छन् । उद्योगी तथा व्यवसायीहरूले पनि तत्काल कर्जा तिर्न नसक्ने भन्दै समयावधि थप्नका लागि आवाज उठाइरहेका छन् । यस्तै, चर्को ब्याजदर कम गर्न पनि यतिखेर निजी क्षेत्र आन्दोलित छ । यसका कारण पनि कर्जा नतिर्नेको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।

पछिल्ला महिनाहरूमा बैंकहरूले कर्जा उठाउन नसक्दा कालोसूचीमा पर्ने ऋणीको संख्या पनि बढ्दो छ । एक बैंकर भन्छन्, “खराब कर्जा उठाउन साँच्चै सकस परेको अवस्था हो । तर, अब ब्याजदर क्रमशः कम हुँदै जाने भएकाले खराब कर्जा पनि कम हुन्छ भन्ने अपेक्षा गर्न सकिन्छ ।”

कुन वर्ष कति खराब कर्जा ?
आर्थिक वर्ष (माघ) वाणिज्य बैंक (प्रतिशत) विकास बैंक (प्रतिशत) फाइनान्स (प्रतिशत)
२०७९ २.४९ २.८२ ७.८२
२०७८ १.१८ १.४२ ७.०५
२०७७ १.७१ १.९३ ६.६४
२०७६ १.७१ १.२१ ६.६७
२०७५ १.६० १.१२ १०.२७
स्रोतः राष्ट्र बैंक

तथ्यांक केलाउँदा बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा बढ्दो क्रममा देखिएको छ । खराब कर्जा शून्यको अवस्थामा ल्याउन नसकिने भए पनि प्रतिशत निकै कममा भने झार्न सकिन्छ । यद्यपि बैंक तथा वित्तीय संस्थाहरूले ऋणीहरूसँग कर्जा असुली गर्न सकेका छैनन् ।

खराब कर्जाको अवस्था भयावह हुन सक्ने
राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा अहिलेको परिस्थिति नियाल्दा खराब कर्जा अवस्था भयावह हुन सक्ने औंल्याउँछन् । उनी भन्छन्, “अबको दुई वर्षसम्ममा खराब कर्जाको अवस्था बढेर १०/१२ प्रतिशत नपुग्ला भन्न सकिन्न ।” बैंकहरूले प्रवाह गर्ने कर्जाको नीतिका कारण नै खराब कर्जा बढेको उनले विश्लेषण गरे । “बैंकहरूले जसरी कर्जाको व्यवस्थापन गरेका छन्, त्यसले नै समस्या निम्त्याएको देखिन्छ,” थापा थप्छन्, “कर्जाको वर्गीकरणमै त्रुटी रह्यो, वैज्ञानिक नै भएन ।”

अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि नेपालमा कर्जाको वर्गीकरण वैज्ञानिक नभएको र समावेशी पनि नभएको बताउँदै आएको उनले बताए । चालु पुँजी प्रकृतिको कर्जाका कारण पनि बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा बढेको पूर्व कार्यकारी निर्देशक थापा बताउँछन् । उनी भन्छन्, “कर्जा दिइसकेपछि असुली हुनुपर्छ । चालु पुँजी कर्जा असुली नहुने प्रकृतिको हो भनेर आईएमएफले नै भनेको थियो । सोही कर्जाका कारण कर्जा प्रणालीमा समस्या आयो । आईएमएफकै सुझावअनुसार अहिले चालु पुँजी कर्जा असुलीका लागि समयावधिसहितको कार्यविधि ल्याइएको छ ।”

सो कार्यविधि लागु भएपछि खराब कर्जा झनै बढ्नेतर्फ पूर्व कार्यकारी निर्देशक थापाको चिन्ता छ । उनले कार्यविधिमा कर्जा किस्ता–किस्तामा तिर्ने व्यवस्था भएकाले पनि त्यसले खराब कर्जाको अवस्था बढाउने बताए । उनले भने, “कार्यविधि लागू नगर्दा त यस्तै रहला, तर लागु हुँदा झनै खराब कर्जा धेरै हुन्छ । अर्थतन्त्रले गति पनि नलिने अवस्थामा त्यो बढ्छ भन्ने अनुमान गर्न सकिन्छ ।”

पूर्व बैंकर पर्शुराम कुँवर क्षेत्री अबको करिब एक वर्षसम्म खराब कर्जा बढ्न सक्ने अनुमान गर्छन् । मुद्रास्फीति र ब्याजदर घटेपछि खराब कर्जा क्रमशः घट्दै जाने उनको अनुमान छ । यद्यपि ब्याजदर घट्दै गए पनि मुद्रास्फीतिको अवस्था कहिले घट्छ भन्ने अनुमान गर्न सहज छैन ।

“भारतमा पनि मुद्रास्फीति केही घटेको छ, अन्य मुलुकमा पनि मुद्रास्फीति घट्ने अनुमान गरिएको छ । ब्याजदर पनि क्रमशः घट्ने अवस्थामा जाने अनुमान गर्न सकिन्छ । ब्याजदरलाई केही कम गर्ने अवस्थामा पुगिसकेको देखिन्छ,” उनले भने । खराब कर्जा बढ्नुको मुख्य कारण अर्थतन्त्रमा आएको मन्दी नै भएको उनको भनाइ छ । अहिले जनतासँग क्रयशक्ति नै नहुँदा अर्थतन्त्र सुनसान बनेको भन्दै उनले विस्तारै सहज हुने र खराब कर्जा कम हुँदै जाने विश्वास व्यक्त गरे ।

नेपालभन्दा कैयौं गुणा राम्रा अर्थतन्त्र भएका विश्वका शक्तिशाली देशहरू २०२३ मा आर्थिक मन्दीमा जाने देखिएका छन् । वर्तमान विश्वमा आर्थिक साम्राज्य जमाएका देशहरू नै महँगी र आर्थिक मन्दीको चपेटामा जाने भएपछि विश्व अर्थतन्त्र धराशायी हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्