अमेरिकी बैंक रनबाट नेपालले सिक्नुपर्ने पाठ

बजार अर्थतन्त्रमा ग्राहकहरू नै सर्वेसर्वा हुन्छन् । त्यसैले ग्राहकलाई व्यापारीहरूले देउतासरह मान्नुपर्छ भन्ने व्यापारिक सिद्धान्त रहिआएको छ । यदि ग्र्राहकलाई राम्रो व्यवहार गरिएन भने व्यवसाय राम्ररी सञ्चालन हुन सक्दैन र टाट पल्टिन पनि सक्ने हुन्छ ।
यस्तो अवस्था आउन नदिन व्यापारीहरू सदैव सचेत र चनाखो हुनुपर्छ । यी कुरालाई ध्यान दिन सकियो भने व्यापार फस्टाउँदै जान्छ र व्यापारी र ग्राहक दुवैले लाभ लिन सक्ने हुन्छन् । कहिलेकाहीं यस्तो अवस्था आइदिन्छ कि न त ग्राहक सन्तुष्ट हुन सक्छन् न त व्यापारीले नै राम्रोसँग व्यापार सञ्चालन गर्न सक्छन् । आखिरमा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था पनि देखा पर्छ ।
केही दिनअघि मात्र अमेरिकाको क्यालिफोर्नियास्थित सिलिकन भ्याली बैंक टाट पल्टिन पुग्यो र अहिले बन्द भएको अवस्था छ । किन बैंक टाट पल्टियो ? टाट पल्टिनुमा केके कारण छन् ? भन्ने प्रश्न नै अन्तर्राष्ट्रिय जगत्का लागि चासोको विषय बन्न गएका छन् । अमेरिकाजस्तो विकसित देशमा यसरी बैंक टाट पल्टिनु सामान्य कुरा होइन र अहिले विश्व बजारमा यही विषयले चर्चा पाएको देखिन्छ । कतिपय देशले यसबाट पाठ सिकेर बैंकहरूलाई सजग गराएका पनि छन् । चिन्ता अमेरिकाको सिलिकन बैंकको मात्र होइन । नेपालका बैंकहरूको पनि चासोको विषय हो । कतै नेपालका बैंकहरू पनि धराशायी त हुने होइनन् भन्ने पनि सामाजिक सञ्जालमा समाचारहरू आइ नै रहेका छन् ।
सिलिकन भ्याली बैंक टाट पल्टिनुमा अन्य कतिपय कारण हुन सक्लान् । मुख्य कारण भनेको बैंकप्रति ग्राहकको अविश्वसनीयता नै हो । ग्राहकवर्ग यति सचेत हुन्छ कि कुनै पनि बैंकमा केही कमी–कमजोरीको आशंका देखिएमा उसले आफ्नो निक्षेपको सुरक्षाका लागि रकम झिकिहाल्छ । यहाँ पनि यस्तै भएको हो ।
केही आशंका हुँदैमा ग्राहकहरूले बैंकबाट धमाधम पैसा निकाल्न थाले । बैंकमा भएको सबै रकम ग्राहकले झिकेपछि बैंक जोखिममा पर्नु कुनै ठूलो कुरो भएन । बैंकहरूले आफ्नो कारोबार गर्नु भनेको नै ग्राहकले जम्मा गरेको निक्षेपको रकमबाट उद्योगी, व्यवसायी तथा व्यक्तिलाई कर्जा प्रवाह गर्नु हो । निक्षेपमा दिइएको ब्याज र कर्जामा लिइएको ब्याजको फरक नै बैंकहरूको नाफा हो । यसलाई स्प्रेड दर भन्ने गरिन्छ ।
निक्षेपको रकम ग्राहकहरूले बैंकबाट झिकि नै सकेपछि बैंकसँग लगानीयोग्य रकम भएन र लगानी गरेको ऋण तथा ब्याज पनि फिर्ता नभएको अवस्थामा बैंकले आफ्ना क्रियाकलाप सञ्चालन गर्न सक्दैनन् । यस अवस्थालाई बैंक टाट पल्टिएको अवस्था भन्न सकिन्छ; अर्थात् बैंक रन । बैंकबाट पैसा झिक्न सबै ग्राहक छिटोछिटो गर्दै जाने भएकाले नै यसलाई बैंक रन भनिएको हो । यस्तो स्थिति आउन नदिन केन्द्रीय बैंकको ठूलो भूमिका रहेको हुन्छ ।
केन्द्रीय बैंकले टाट पल्टिनबाट जोगाउन आवश्यक रकम उपलब्ध गराएको हुन्छ र उनीहरूको अस्तित्व जोगाएको हुन्छ । यसरी केन्द्रीय बैंकले दिने ऋणलाई लास्ट रिसोर्ट अफ दि बैंक भन्ने गरिन्छ र अहिले अमेरिकी बैंकहरूलाई जोगाइराख्न केन्द्रीय बैंकले ऋण उपलब्ध गरिरहेको छ ।
सिलिकन भ्याली बैंकको मात्र कुरो होइन, अन्य बैंकहरूमा पनि यसको असर पर्न गएको छ । अहिले खास गरेर टप सिक्स्टिन बैंक, सिल्भरगेट तथा सिग्नेचर बैंकहरू पनि तीन दिनमा नै बैंक रनमा पुगेका छन् । छोटो अवधिमा नै करिब ४० अर्ब अमेरिकी डलरभन्दा बढीको निक्षेप झिकिएपछि बैंक रन हुन पुगे । निक्षेपकर्ताको विश्वास नभएपछि वित्तीय संस्थाहरू जति नै आर्थिक रूपले सक्षम भए पनि केही हुँदै रहेनछ । सिलिकन बैंकमा धेरै निक्षेप भएको प्रविधि तथा भेन्चर क्यापिटलमा काम गर्नेहरूले बैंकबाट एकैचोटि ठूलो रकम झिकिदिँदा मूलतः यो समस्या आएको हो ।
अहिले यी बैंकहरू युनाइटेड स्टेट्स फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनको पूर्ण नियन्त्रणमा छन् । यसको तरंग विश्व बजारमा पर्न थालिसकेको छ र नेपालमा पनि नपर्ला भन्न सकिँदैन । किनकि सुका मोहोर जम्मा गरेर भविष्यका लागि नेपाली जनताले बैंकमा जम्मा गरेका छन् । यही रकम डुब्न गयो भने उनीहरूको अन्य केही उपाय हुँदैन र धमाधम बैंकबाट रकम झिक्न सक्छन् । यस्तो अवस्था आउन नदिनका लागि नेपाल राष्ट्र बैंकले समयमा नै आवश्यक कदम चाल्नुपर्छ । बैंकहरूको स्थिति के–कस्तो छ र के–कस्तो सुधार गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकले अनुगमनलाई तीव्रता दिनुपर्छ ।
यसैलाई मध्यनजर गरेर होला, नेपाल राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली, २०७९ जारी गरेको छ र जसमा यस विनियमावलीले इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था आर्थिक संकटमा परेर टाट पल्टिने स्थिति देखा परे केन्द्रीय बैंकले अन्तिम ऋणदाताको रूपमा कर्जा सापटी दिएर बचाउने नीति लिने कुरा उल्लेख भएको छ । यसबाट के बुझ्न सकिन्छ भने नेपाल राष्ट्र बैंक जनताको निक्षेपको प्रत्याभूतिका लागि सचेत छ र बैंक तथा वित्तीय संस्थाहरूमा संकट आउन नदिनेतर्फ आवश्यक गतिविधि अगाडि सार्ने कार्य गर्नेछ भन्ने आशा गर्न सकिन्छ । नेपाल राष्ट्र बैंकले लिएको यो नीतिले बैंक तथा वित्तीय संस्था तथा निक्षेपकर्ताका लागि अभिभावकको भूमिका लिएको देखिन्छ ।
कोभिडले थला परेको अर्थतन्त्र र रुस–युक्रेन युद्धका कारण इन्धनमा बढेको उच्च मूल्यवृद्धिले जनताले सहन नसक्ने गरी सबै वस्तु तथा सेवामा मूल्य बढेको छ । आयातमा निर्भर अर्थतन्त्रमा यसरी मूल्यवृद्धि हुँदा अलिअलि बचेखुचेको वैदेशिक सञ्चिति पनि आयातित वस्तुमा नै खर्च भएको देखिन्छ । आयात बढ्नु र निर्यात खस्कँदै गएको हुँदा व्यापारघाटा तीव्र रूपमा बढ्दै गएको छ । विश्व अर्थतन्त्र नै खुम्चिँदै गएको अवस्थामा विदेशी पर्यटन आगमनमा पनि ह्रास आउँदै गरेको छ ।
अर्को कुरा, हाम्रो अर्थतन्त्रलाई योगदान दिने भनेको विप्रेषण हो । विप्रेषणको अवस्था पनि त्यति राम्रो छैन । देशको अर्थतन्त्र विप्रेषणमा आधारित भए पनि राष्ट्रिय हितको दृष्टिकोणबाट यसलाई राम्रो मान्न सकिँदैन । किनकि सस्तोमा उत्पादनशील श्रम बेचेर कुनै पनि देश सम्पन्न हुन सक्दैन । बेच्ने भनेको अन्तर्राष्ट्रिय बजारमा वस्तु नै हो । नेपालले भने सकिरहेको छैन ।
अहिले नेपालको अर्थतन्त्र निकै जोखिममा रहेको छ । अर्थतन्त्र चलायमान बनाउनका लागि पुँजीगत खर्च बढाउनुपर्छ । चालू आर्थिक वर्षको हालसम्म पुँजीगत खर्च २२ प्रतिशतमात्र भएको छ । बाँकी अवधिमा ७८ प्रतिशत खर्च गर्न कठिन नै हुने देखिन्छ । छोटो अवधिमा खर्च गरिँदा कामको गुणस्तर र आर्थिक अनुशासनका विषय पनि त्यत्तिकै कमजोर हुनेछन् ।
यसका अतिरिक्त बैंक तथा वित्तीय संस्थाहरूमा तरलताको अभाव देखिन्छ । सरकारले पुँजीगत खर्च बढाउन नसकेको हुँदा बजारमा पैसा देखिएको छैन । तरलताको अभावमा बैंकहरूले कर्जा प्रवाह गर्न सकिरहेका छन् । लगानी गरेको रकमको साँवाब्याज पनि बैंकमा फिर्ता आउन सकेको छैन । उद्योगी तथा व्यापारीवर्गले बैंक ब्याजदर बढी भयो भन्दै नेपाल राष्ट्र बैंकलगायत अन्य बैंक तथा वित्तीय संस्थाहरूलाई ब्याजदर घटाउन नारा–जुलुुस र धर्ना दिइरहेको अवस्था छ । कतिपय उद्योगी तथा व्यापारीहरूले त बैंकको ब्याजदर नघटाएमा ऋण नै नतिर्ने धम्कीसमेत दिएका छन् ।
कोभिडको समयमा उपलब्ध गराएको सहुलियत तथा राहतका कार्यहरूको निरन्तरता अहिले पनि हुनुपर्छ भन्दै आएका पनि छन् । यही मौका छोपेर उद्योगी तथा व्यवसायीहरूले सुविधा तथा सहुलियतको निरन्तरता र एकल अंकको ब्याजदरमा ऋण उपलब्ध गराउने कुरा अहिलेको अर्थतन्त्रको अवस्थालाई हेर्दा सम्भव देखिँदैन । यसको उपयुक्त उपाय भनेको उद्योगी–व्यवसायी र बैंक तथा वित्तीय संस्थाहरू दुवै पक्षलाई मर्का नपर्ने गरी नेपाल राष्ट्र बैंक र सरोकार सबै पक्षले आवश्यक निर्णय गर्नुपर्छ । छिटो समस्या निरूपण गर्न नसके बैंकहरूमा जोखिम बढ्ने देखिन्छ नै ।
अहिले नेपालको अर्थतन्त्र निकै कमजोर भएको अवस्था छ । त्यसैले गर्दा अमेरिकी सिलिकन बैंक र अन्य बैंकहरू जसरी बैंक रन हुन पुगेका छन् त्यसरी नै नेपाली बैंकहरूमा संकट नआउला भन्न सकिँदैन । संकट निम्तिने भनेकै यस्तै कमजोर अवस्थामा हो । ग्राहकहरूको निक्षेपको प्रत्याभूति गर्ने काममा नेपाल राष्ट्र बैंकले अझ सशक्त भएर काम गर्नुपर्ने हाम्रो आफ्नै अर्थतन्त्रले भनिसकेको अवस्था देखिन्छ ।