दुई भेरियन्टमा नेपाल आयो कियाको ‘कारेन्स’

कोरियाली कार निर्माता कियाले आफ्नो नयाँ एमपीभी कारेन्स नेपाली बजारमा ल्याएको छ । कम्पनीले नेपालका लागि आफ्नो अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजमार्फत नेपाली बजारमा कारेन्स लन्च गरेको हो । कम्पनीले कियाको पछिल्लो संस्करण ‘किया कारेन्स’लाई पूर्ण आधुनिक पारिवारिक कार भनेको छ । किया कारेन्स भारतको प्रतिष्ठित इन्डियन कार अफ द इयर (आईसीओटीवाई) २०२३ अवार्ड प्राप्त एमपीभी हो ।
हालै सम्पन्न भारतको सबैभन्दा महत्वपूर्ण गाडी पुरस्कार आईसीओटीवाईको १८औं संस्करणमा एमपीभीले किया कारेन्सलाई उक्त अवाड प्रदान गरेको हो । गत जनवरीमा भारतमा ७ हजार ९०० थान कारेन्स बिक्री भएको छ । यसअघि सन् २०२२ को जुनमा ७ हजार ८९५ युनिट बिक्री भएको थियो । एक वर्षअघि बजारमा आएयता भारतमा ७० हजार ६५६ युनिट कारेन्स बिक्री भएको छ । कारेन्सको सबैभन्दा उल्लेख्य विशेषतामध्ये एक यसका १० रोबस्ट हाइ–सेफ्टी प्याकेज हुन् जुन सबै भेरियेन्टमा स्ट्यान्डर्ड रुपमा आउँछन् ।
यसमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक्स स्टाबिलिटी कन्ट्रोल, भेहिकल स्टाबिलिटी म्यानेजमेन्ट, ब्रेक एसिस्ट, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, डाउनहिल ब्रेक कन्ट्रोल, एन्टी लक ब्रेक सिस्टम, अल ह्विल डिस्क ब्रेक, हाइलाइन टायर प्रेसर मोनिटरिङ सिस्टम र रियर पार्किङ सेन्सर पर्छ । यो दुईथरी पेट्रोल इन्जिनमा उपलब्ध छ, एउटा ११५ बीएचपी र १४४ एनएम टर्कयुक्त १.५ लिटर र अर्को १४० बीएचपी र २४२ एनएम टर्कयुक्त १.४ लिटर । ६ स्पिड म्यानुअल भने १.५ लिटर पेट्रोलमा मात्र प्रदान गरिएको छ।
१.४ लिटर टर्बो पेट्रोलमा ७ स्पिड डीसीटी अप्सन छ । कारेन्स ११५ बीएचपी तथा २५० एनएम टर्कयुक्त १.५ लिटर टर्बो डिजेल इन्जिनमा पनि उपलब्ध छ । यसमा म्यानुअल र अटोमेटिक ट्रान्समिसन छ। लक्जरी प्लस ट्रिममा स्टियरिङमा जडित प्याडल सिफ्टर पनि छ, जसले ७ स्पिड डीसीटी वा ६ स्पिड अटोमेटिकमा पुगेका बेला काम गर्छ ।
कारेन्सका विशेषताहरुमा १९५ एमएम ग्राउन्ड क्लियरेन्स, १०.२५ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले, डिजिटल इन्स्ट्रूमेन्टेसन, सनरुफ, दोस्रो र तेस्रो रो लागि हावाको स्पिड एडजस्ट गर्न मिल्ने छतमा जडित एयरकन भेन्टस, सिटपछाडि जडित ट्याब्लेट र स्मार्टफोन नोचयुक्त कपहोल्डरसहितको ट्रे टेबल, भेन्टिलेटेड फ्रन्ट सिटहरु, ६४ कलर एम्बियन्ट लाइटिङ, एयर प्युरिफायर, बोस अडियो सिस्टम, वान टच सेकेन्ड रो टम्बल आदि पर्छन् ।
यसले कारमा आवश्यक पर्ने सबै स्पेस प्रदान गर्दछ । यो सात सिटर कन्फिगरेसन, ठूलो बुट स्पेस, २१६ लिटरको लगेज स्पेससहित आएको छ । तेस्रो रो फोल्ड गर्दा लगेज स्पेसलाई ६४५ लिटरसम्म बढाउन सकिन्छ । कम्पनीका अनुसार कारेन्स प्रिमियम भेरियन्टको मूल्य ४८ लाख ९० हजार र प्रेस्टिज भेरियन्टको ५२ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।
कियाले नेपाली कारप्रेमीमाझ आफूलाई भरपर्दो र विश्वसनीय ब्रान्डको रूपमा स्थापित गरेको छ । कम्पनीले नेपाली बजारको विविध आवश्यकता पूरा गर्ने इनोभेटिभ, आधुनिक र स्टाइलिस्ट गाडीहरू निरन्तर उपलब्ध गराउँदै आएको छ ।