बुढ्यौली पुस्ताका जवान समस्या «

बुढ्यौली पुस्ताका जवान समस्या

समयक्रमको उतारचढावसँगै यो संसारलाई नियमित रूपमा अनेकन अपेक्षित तथा अनपेक्षित समस्याहरूले घेर्दै लगेको छ । राजनीतिमा आधारित शक्ति र दम्भले निर्माण गरेका अतिवादी अनि जडसूत्रवादी चिन्तनका अतिरिक्त विभिन्न अववयहरू भएका सामाजिक तथा मनोवैज्ञानिक सशक्त समस्याहरू पनि सतहमा आउँदै छन् । यस्ता अनौठा समस्याको चंगुलमा एजिङ भनिने वृद्घ उमेर भएका मानिसहरूको संख्यामा उच्च बढोत्तरी पछिल्लो नयाँ समस्या बन्दै छ । विख्यात लेखक जलमान स्यालोमी आफ्नो पुस्तक ‘फ्रम एजिङ टु सेजिङ’मा यसलाई एक घातक समस्याका रूपमा चित्रण गर्छन् ।

यसरी बन्दै छ समस्या
बुढ्यौली लागेका मानिसहरूबारे अध्ययन–अनुसन्धान गर्ने केही संस्थाका अनुसार सन् २०३० सम्ममा पोल्यान्डमा सम्पूर्ण जनसंख्याको २३ प्रतिशत नागरिक वयस्क अथवा अवकाशित हुनेछन् । अहिले त्यहाँ अवकाशित नागरिकको संख्या जम्मा १० प्रतिशत छ । चीनमा सन् २०५० मा सम्पूर्णको ४४ प्रतिशत नागरिक बुढ्यौलीमा पुग्नेछन् । फ्रान्समा पछिल्लो १ सय वर्षमा यो संख्या ४ प्रतिशतबाट १४ प्रतिशत पुगेको देखिन्छ, तर अविकसित तथा अल्पविकसित देशहरूमा भने हरेक २५ वर्षमा वृद्घ नागरिकको संख्या दोब्बर हुँदै गएको तथ्याक छ ।
अहिले नै जापानमा एकचौथाइ जनसंख्या वृद्घहरूको छ । सन् २०१६ को जनगणनाअनुसार क्यानडामा बालबालिकाको भन्दा वृद्घको संख्या धेरै भएको छ । नेपालमा पनि अघिल्लो पुस्ताको तुलनामा अहिले अभिभावकहरूबाट हुने सन्तानोपादन दर निकै कम छ । हेल्थ एन्ड रिटायरमेन्ट स्टडी सेन्टर नामक संस्था चलाएर वृद्घहरूलाई समाजको प्रगतिमा लगाउन सकिने बारेमा अनुसन्धान गर्दै आएका एक अमेरिकी लेखक डेभिड वायर यस्तो असन्तुलित बनावटलाई ऋणले भरिएको विस्फोटक पदार्थ मान्छन् । सन् २००९ मा ६.५ प्रतिशत जनसंख्या वृद्घ भएको तथ्यांक थियो, अहिले उक्त संख्यामा उच्च वृद्घि भइरहेको छ । विभिन्न शोधका अनुसार वृद्घ अवस्था हुनुमा ३० प्रतिशत वंशाणुगत र ७० प्रतिशत जीवन निर्वाहको पद्घतिले निर्धारण गर्छ । सन् २०५० सम्ममा संसारभर ६ अर्ब मानिस ६५ वर्ष उमेर माथिका हुनेछन् । जापान, नर्वे, डेनमार्कजस्ता केही देशमा अत्यधिक न्यून बाल जन्मदर र अन्य केही देशमा अधिक बसाइँसराइले समेत यस्तो असन्तुलन भएको देखिन्छ ।
बढ्दो बुढ्यौली मानिसको संख्याले विश्वभर अनेकन तन्दुरुस्त अनि जवान समस्याहरूका पहाड थोपर्दै छ । संसारभर वित्तीय व्यवस्थापन र सूक्ष्म अर्थतान्त्रिक स्थिरताको असन्तुलन एजिङको सबैभन्दा ठूलो समस्या बन्दै छ । केही अर्थशास्त्रीका अनुसार बुढ्यौलीका कारण मानिसको आर्थिक हैसियतको बढोत्तरी अनि गुणात्मक जीवनमा गम्भीर असर परेको देखिन्छ । निराशावाद अनि मानसिक विचलन र विक्षिप्तताहरूले उनीहरूलगायत बाँकी सदस्य तथा समाजलाई समेत नराम्ररी असर पारेको छ । रोगको निवारण, सामाजिक सुरक्षा, औषधि उपचार अनि वृद्घहरूको स्याहारसुसार तथा व्यवस्थापन हरेक देशका सरकारको बलियो आर्थिक चुनौति बन्दै छ । यी कुराको यथोचित व्यवस्थापन गर्नका लागि सरकारलाई निकै ठूलो बजेट लाग्छ । औसतमा सम्पूर्ण बजेटको एकतिहाइ रकम यसमा खर्च हुने तथ्यांकहरू देखिन्छन् ।
अर्कातिर पारिवारिक विभाजनलाई निम्त्याउने प्रकारका पुस्तान्तरणका सोच र विचारहरू एजिङका नयाँ बाछिटा बन्दै छन् । अधिक उमेर अन्तर भएका दुई समूहबीच बुझाइ र सोचको भिन्नता, असामन्जस्यता अनि बेअन्तरघुलनता हरेक समाजमा देखिन थालेको छ । बुढ्यौलीको व्यवस्थापन समाजका अन्य घातक समस्याजस्तै जटिल हँुदै छ, केही फरक तथा सिर्जनात्मक समाधान खोज्न ढिला हुन लाग्दै छ ।

समाधान खोज्न सकिन्छ
यद्यपि केही नवीन अवधारणाको प्रयोगले बुढ्यौलीका कारण विश्व मानचित्रमा आएका जवान समस्यामाथि कुशल नियन्त्रण गर्नुका साथै सकारात्मक संस्करणहरू निर्माण गर्न सम्भव रहन्छ । वयस्कहरूलाई यथोचित सम्मान, आत्मीय माया अनि आदरतापूर्ण स्नेह यसका सबैभन्दा श्रेयस्कर औषधि हुन् । जोन चिटिस्करकृत पुस्तक ‘द गिफ्ट फर इयर्स’ले बुढ्यौलीलाई कसरी समाजको हितोपयोगी तवरमा सकारात्मक सन्देश र परिणामसमेत आउने गरी विकास अनि समृद्घिलाई समेत सहयोग गर्ने गरी प्रयोग गर्ने भनेर थुपै्र नौला र बहुआयामिक उपायहरू सुझाउँछ ।
संयुक्त परिवारमा बालबच्चाको स्याहारसुसार गर्ने अभ्यासले यो समस्याको निराकरण गर्न आधार अवस्थादेखि नै सहयोग गर्न सक्छ । यस्तो अभ्यासमा बच्चा, प्रौढ, युवा अनि वयस्कहरू सबै सँगै रहने भएकाले एक–अर्कालाई बुझ्न सहज हुन्छ । दीर्घकालमा सोचको फरकतामा कमी आउँछ । जर्ज भ्यालिनेटको पुस्तक ‘एजिङ वेल’मा यी समस्याका निराकरण गर्न केही सिद्घहस्त सहयोगी विचार दिन छन् ।
वयस्क मानिसहरूलाई उनीहरूले समाजमा दिन सक्ने योगदानका लागि विशेष पहल गर्नुपर्छ । उनीहरूको अनुभव तथा ज्ञानका सशक्त सञ्चारणले बाँकी पुस्तालाई सही बाटो देखाउन सक्छ । इम्यानुएल कान्तका मुख्य कृतिहरू उनी ६० देखि ८० वर्षको बीचमा हुँदा लेखिएका थिए । धेरै वैज्ञानिकबाट विश्व परिवर्तनकामी प्रसिद्घ सिद्घान्तहरू जीवनको उत्तराद्र्धमै प्रतिपादन भएका थिए । डेभिड स्नोडाउनको ‘एजिङ विथ गे्रस’ अनि एनडे«यु वेल्सको ‘हेल्दी एजिङ’लाई वयस्कहरूका जवान समस्या निराकरण गर्न सघाउने विहंगम दस्तावेजका रूपमा हेरिन्छ । उमेरको भेदभावबिना वयस्कहरूलाई उत्पादक काममा लगाउँदै व्यस्त राख्न सक्नुपर्छ । त्यसो भएमा वयस्कहरूसमेत विश्वको विकास र समृद्घिमा उत्तिकै गहन योगदान दिन सक्षम छन् ।
वयस्कता त्यति जघन्य समस्या होइन, जति हामी सोचिराखेका छौँ तर अधिकांश मानिस वयस्क हुँदै गर्दा स्वतः मनोवैज्ञानिक रूपमा कमजोर अनुभव गर्छन् । त्यस्तो आत्मकेन्द्रित स्वअपहेलनाचाहिँ समस्याको प्रमुख जड हो, जसलाई उनीहरूले आफ्नो सोचाइबाट हटाउन सक्नुपर्छ । अहिले पनि अधिकांश नोबल पुरस्कार विजेताहरू वयस्क उमेर समूहका छन् । सन् २०१४ मा १७ वर्षको कलिलै उमेरमा नोवल पुरस्कार पाउने मालाला इतिहासकै दुर्लभ र अपवाद आभूषित हुन् । उनीभन्दा पहिले सन् १९१५ मा लोरन्स बागले २५ वर्षको उमेरमा उक्त पुरस्कार पाएका थिए । तर, अधिक विभूषितहरूचाहिँ ६० देखि ७० वर्ष अथवा त्योभन्दा पनि बढी उमेर समूहका छन् । सन २००७ मा अर्थशास्त्रतर्पmका विजेता लियोनिड हुरविक्ज ९० वर्षका थिए । लेखक ह्यारी वर्नस्टिनले ९७ र ९८ वर्षमा विश्वव्यापी चर्चासहित सर्वाधिक बिक्री हुन सफल दुई पुस्तक लेख्न सके । त्यसैले वयस्क मानिसहरूले आफ्ना अनुभव, बुझाइ तथा भावी पुस्ताका लागि उपयोगी दर्शनलाई लिखतमार्पmत सुरक्षण गर्न सके उनीहरू पनि व्यस्त रहन्छन् अनि इतिहास पनि जोगिन्छ ।
झन्डै दुई दर्जनबढी विश्व धनाढ्यहरूले ५५ वर्षपछि सुरु गरेका नयाँ व्यवसाय वा पेसाबाट सफलता हात पारे । विख्यात वैज्ञानिक चाल्स डार्बिन पनि यही समूहमा पर्छन् । साहित्यमा प्र्mयांक मसिकोर्ट, कलामा म्यारी डिलाने, अभिनयमा इस्टेले गेटी, फास्ट फुडको व्यवसायमा हारल्यान्ड सेन्डरस केही यस्ता उदाहरण हुन्, जसले सामन्यतया अरू मानिसहरू रिटायर्ड हुने उमेर नजिकैबाट आफ्नो काम सुरु गरेर पनि अलौकिक विश्व सफलता हात पारे । उमेर आफैंमा समस्या होइन, वयस्क मानिसहरूको मानसिकतामा सकारात्मक सोच निर्माण गराउँदा र बाँकी समाजले उनीहरूलाई त्यसै गरी परिचालन गर्दा समस्याको हल सहज हुन्छ ।
त्यस्तै वयस्कहरूको नियमित सतसंग, उनीहरूबीच विभिन्न विषयका शास्त्रार्थ गर्नाले उनीहरूलाई बढी पुनर्ताजगी गर्न सक्छ । आवश्यक सबै पूर्वाधार र सुविधासहितको वयस्कहरूको एकीकृत सामूहिक बस्ती विकास अर्को सहयोगी अभ्यास हुन सक्छ ।
बुल्गेरियाले वयस्कको समस्या समाधान गर्न वर्क फोर्स पार्टिसिपेसनमा वृद्घि गरेको छ । जापानले मानिसको काम गर्ने समयसीमालाई ७० बाट बढाएर ८० बनाएको छ । मासाच्युसेटले हेल्दी एजिङ नामक कार्यक्रम सुरु गरेको छ । केही एसियन देशले परामर्श समूहका व्यापारमा वयस्कहरूको सघन सदुपयोग गर्ने नीति बनाएका छन् । समाजलाई युगीन विकासमा लैजाने सूत्रहरू प्रतिपादन गर्ने अनुसन्धान गराउँदै छन् । यस्ता गतिविधिहरू वयस्क समूहका मानिसका लागि सुहाउँदो र रमाउँदोसमेत हुन्छ । यस्ता विविध सुधारात्मक कदमहरू लिएमा वयस्कता त्यति ठूलो समस्या नहोला । समयमै प्रभावकारी कदम नलिएमा चाहिँ एजिङले व्यापक मनोवैज्ञानिक विचलन, सामाजिक असंगति अथा आर्थिक अस्तव्यस्तता ल्याउने निश्चित देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्