शैलुङमा पर्यटकको आकर्षण बढ्दो

शैलुङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक बढ्दै गएसँगै शैलुङ बेस क्याम्प कालापानीमा पर्यटक लक्षित पूर्वाधार थपिँदै गएका छन् । शैलुङ गाउँपालिका–८ को कालापानी शैलुङ क्षेत्र प्रवेश गर्ने प्रमुखद्वार पनि हो । महाभारत क्षेत्रकै सबैभन्दा उच्च स्थानमा रहेको शैलुङ प्राकृतिक तथा धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य हो । नयाँनयाँ क्षेत्र घुम्ने पर्यटकका लागि शैलुङ महत्वपूर्ण गन्तव्य हो ।
कालापानीसम्म मोटर बाटोको सुविधा छ । त्यही भएर कालापानीबाट शैलुङ जान पैदल यात्रा तय हुन्छ । कालापानीबाट शैलुङका थुम्का पुग्न एक घण्टाको पैदल यात्रा गर्नुपर्छ । जताजतै मोटर बाटोले प्राकृतिक महत्व घट्दै गएकाले शैलुङसम्म सडक लैजान रोक लगाएकाले कालापानीसम्म मात्र सडक तयार गरेको हो । कालापानीमा पूरै जंगल हुँदा नै माया तामाङ सानो छाप्रोबाट सुरु गरेको होटेल अहिले ४० वर्ष पुरानो भइसकेको छ ।
सडक र अन्य पूर्वाधारसँगै पर्यटक बढ्न थालेपछि पर्यटक लक्षित होटल थपिन थालेको हो । “पहिलाभन्दा शैलुङ घुम्न आउने धेरै छन्,” कालापानीकी होटल व्यवसायी माया तमाङले भनिन्, “अब त अहिले नयाँनयाँ अरु होटल पनि खुल्दै छन्, होटल र रिसोर्ट बनाउन जग्गा किन्ने पनि धेरै आएका छन् ।” दोलखाकै शैलुङ गाउँपालिका र मेलुङ गाउँपालिका साथै रामेछापको दोरम्बा गाउँपालिकाको संगमस्थलको रूपमा रहेको शैलुङ तीनवटै स्थानीय तह क्षेत्रमा पर्छ ।
सय वटा प्राकृतिक थुम्का रहेको र गुफा, मन्दिर र विभिन्न प्राकृतिक छाप रहेको शैलुङ पुग्न काठमाडौंबाट जाने पर्यटकका लागि सबैभन्दा छोटो मार्ग मुडेसम्मपुगेपछि २० किलोमिटर ग्राभेल सडकको यात्रापछि कालापानी पुग्न सकिन्छ । त्यसमध्ये अहिले १६ किलोमिटर कालोपत्रे गर्न ठेक्का लागेर काम भइरहेको छ । वर्षात्मा बिग्रेको सडक सुधारका लागि शैलुङ गाउँपालिकाले काम गर्दैछ ।
कालापानीमा बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयले नै पर्यटक बस्नका लागि सामुदायिक लज व्यवस्थापन गरेको छ भने अर्को गोलघर निर्माण गरेको छ । शैलुङ गाउँपालिका–५ का व्यवसायी नवराज खड्का अब शैलुङको एक मात्र लक्ष्य पर्यटन विकास नै भएको बताउँछन् । “शैलुङ प्राकृतिक आकर्षण र धार्मिक गन्तव्य पनि हो,” उनले भने, “अब शैलुङ आउने पर्यटकलाई कुनै पनि असुविधा नपुगोस् भनेरै काम गरेका छौं ।”
उनका अनुसार पर्यटन बोर्डसँगको साझेदारीमा गाउँपालिकाले मिनी ग्रेटवाल निर्माणको काम धमाधम चलिरहेको छ । सडक कालोपत्रे भएपछि काठमाडौंबाट ४ घण्टामा सजिलै र चरिकोटबाट एक घण्टामा शैलुङ पुग्न सकिन्छ । शैलुङ सयवटा थुम्का भएको प्राकृतिक संरचना हो । प्राकृतिक मनोरम दृश्यावलोकन, बौद्ध र हिन्दु मन्दिर दर्शन गर्नसमेत पुग्छन् । हिउँ परेका बेला हिउँ खेल्न, थरिथरिका गुराँस हेर्नका लागि पनि मन्दिर पुग्छन् ।
शैलुङबाट सगरमाथा हिमालयन क्षेत्रदेखि, रोल्वालिङ, जुगल हिमालय र लाङटाङ हिमालयन क्षेत्रको चाँदीको घेरा झै सजिलै दृष्यावलोकन गर्न सकिन्छ । पहिलो पटक शैलुङ पुग्ने जो कोही पर्यटक रमाउँदै फर्कन्छन् । पहिलो पटक शैलुङ पुगेर फर्केका पर्यटक कर्मा लामाले शैलुङ सोचेभन्दा धेरै रमाइलो लागेको प्रतिक्रिया दिए । तीन हजार १४६ मिटर उचाइमा रहेको शैलुङ वर्षामा हरियाली, हिउँदमा हिउँ र विभिन्न फूलहरू फुल्छन् । चौंरीपालन, घोडा पालन पनि यहाँ हुन्छ ।
काठमाडौं र तराई क्षेत्रमा सोझै सडक क्षेत्रले जोडिएपछि यहाँ आउने पर्यटकसमेत बढ्दै गएका छन् । शैलुङमा पर्यटकका लागि थप आकर्षण दिने नेपाल विज्ञान प्रज्ञा प्रतिस्ठान (नाष्ट)सँगको समन्वयमा विज्ञान पार्क निर्माण हुँदैछ । अहिले डीपीआरको काम चलिरहेको छ । डीपीआर लगत्तै निर्माण प्रक्रिया सुरु हुन्छ । यस क्षेत्रको पर्यटन पूर्वाधारका लागि पदमार्ग, विद्युत र खानेपानीको निर्माण पनि जारी छन् । प्राकृतिक र सौन्दर्यको हिसाबले महत्वपूर्ण शैलुङमा पर्यटकीय रूपमा महत्व बढ्दै जाँदा दोलखा र रामेछापको सिमाना विवादसमेत छ ।