Logo

पानी बेचेर मुलुक धनि बनाउने आश्वासन

खानेपानीमन्त्री अब्दुल खानले स्वदेश पानी बेचेर मुलुकको आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् । मुलुक जलस्रोतमा धनी रहेको भन्दै उनले नेपालको पानी विदेश निर्यात गरेर आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका हुन् ।

“देशका खोलानालाबाट विभिन्न ‘मिनरलयुक्त’ स्वच्छ पानी बगिरहेकोछ,” उनले भने, “त्यसलाई बजारीकरण गर्न सकेको खण्डमा अन्य देशमा पानी बिक्री गर्न सकिने छ ।” खाडीलगायतका देशमा खानेपानी निर्यात गर्न सके आर्थिक आर्जनसँगै विदेशी मुद्रा भित्राउन सकिने उनको दाबी छ ।

“यस विषयमा आवश्यक अध्ययन अनुसन्धान सुरु गरिएको छ,” मन्त्री खानले थपे, “यसका लागि विभिन्न अन्तर्राष्ट्रिय दातृ निकायमा छलफल समेत भइसकेको छ ।” उनले पहिलो चरणमा राजधानी काठमाडौंलगायत तराई मधेश र पहाडका विभिन्न भागमा बसोबास गर्ने नागरिकसम्म पानीको पहुँचलाई सर्वसुलभ बनाउने बताएका हुन् ।

दोस्रो चरणमा विभिन्न देशमा खानेपानी निर्यात गर्ने योजनाअनुसार काम सुरु गरिएको उनको भनाइ छ । मन्त्री खानले नेपालको तराई, पहाड र हिमालमा बस्ने सबै नेपालीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेको समेत बताए । पानीको सबैभन्दा धनी देशमा नै खानेपानीको समस्या हुनु दुःखद पक्ष रहेको भन्दै भएको बताउँदै सरकारले स्वच्छ पानी पाउने जनताको अधिकारलाई सुनिश्चित गर्ने स्पष्ट पारेका छन् ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक प्रदान गरेकोले वर्तमान सरकारले सो हक सबैलाई सरल र सहज तरिकाले दिने मन्त्री खानले बताए । आफूले मन्त्रालय सम्हाले लगत्तै मातहतका विभाग र कर्मचारीलाई खानेपानीको सवालमा कुनै किसिमको राजनीति नगर्न र बखेडा खडा नगर्न निर्देशन दिएको जनाउँदै सबै नागरिकलाई सर्वसुलभ तरिकाले स्वच्छ खानेपानी उपलब्ध गराउने सरकारको नीति पूरा गर्न निर्देशन दिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्