Logo

पहिलो पटक ‘रात्री बजार’ लगाउँदै वीरगन्ज

फाइल तस्बिर ।

आर्थिक नगरी वीरगन्जमा पहिलो पटक ‘रात्री बजार’ लाग्ने भएको छ । अर्थतन्त्र चलायमान बनाउनका लागि स्थानीय तहको सरकारले पहिलो पटक ‘रात्री बजार’ लगाउने तयारी गरेको हो ।

विश्व बजारमा देखिएको आर्थिक मन्दीले खस्किएको अर्थतन्त्रलाई पुर्नजीवित बनाउन स्थानीय सरकारको तर्फबाट वीरगञ्ज महानगरपालिकाले पहिलो पटक ‘रात्री बजार’ लगाउने तयारी गरेको हो । यही चैत ३० गते बेलुकादेखि वैशाख २ गते मध्य रातिसम्म वीरगञ्जको आदर्शनगर चोकदेखि पुरानो बसपार्कसम्म ‘रात्री बजार’ लगाइने महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिए ।

आर्थिक नगरी भनेर वीरगञ्जलाई चिनिने गरेको भए पनि वीरगञ्जको व्यवसाय साँझ नपर्दै बन्द हुने गरेको छ । यहाँको आर्थतन्त्र चलायमान बनाउन र बजार अबेरसम्म सञ्चालन हुने वातावरण बनाउन पनि परीक्षण स्वरुप नयाँ वर्षको अवसर पारेर तीन दिने रात्री बजार लगाउन लागिएको महानगर प्रमुख सिंहको भनाइ छ । महानगरको आयोजनामा वीरगञ्जमै पहिलो पटक हुन लागेको ‘रात्री बजार’ मा विभिन्न स्थानका विशेष खानाका परिकार, लत्ताकपडा, कस्मेटिक, भाडाकुँडालगायतका उपभोग्य वस्तुहरु राखिने छ ।

वीरगञ्जमै पहिलो पटक तन्दुरी चाय, विभिन्न स्थानमा प्रसिद्ध रहेका खानेकुराहरुको रात्री बजारमा ल्याउने पहल गरिएको महानगर प्रमुख सिंहले बताए । रात्री बजार आयोजना गर्दा आवश्यक पर्ने सुरक्षा व्यावस्थाको बारेमा सम्बन्धित निकायसँगको छलफल गरी विश्लेषण गरिने र यसको चुनौतीबारे वीरगन्जबाट एउटा नयाँ संदेश प्रवाह गर्ने प्रयास गरिएको बताए । यसले सफलता प्राप्त गरे लामो समयसम्म रात्री बजार लगाउन सकिने बताए ।

वीरगञ्जमै पहिलो पटक नयाँ अवधारणासहित लाग्ने बजारमा सहभागी भई सफल बनाउन प्रमुख सिंहले अपिल समेत गरेका छन् । महानगरले रात्री बजार सञ्चालनका लागि विभिन्न संस्थासँग सहकार्य गरेको छ । रात्री बजारमा लगाइने स्टलहरु बुकिङको काम अहिले धमाधम भइरहेको सहआयोजकको रुपमा रहेको ग्रिन सिटीका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।

आदर्शनगर चोकदेखि कैलाश होटल चोक र त्यहाँबाट पुरानो बसपार्कसम्मको क्षेत्रमा करिब एकसय स्टल लगाउने गरी आवश्यक तयारी गरिएको र अहिले स्टल बुकिङको काम धमाधम भइरहेको उनले बताए । खुला सीमाना नजिकैको बजार भएकोले रात्री बजारमा भारतीय ग्राहकको आवागमनलाई पनि ध्यानमा राखेर सुरक्षा संवेदनशीलतालाई समेत दृष्टिगत गरी गृहमन्त्राय लगायतका सम्बन्धित सरोकारवाला निकायसँगको समन्वयमा रात्री बजार लगाइने नगर प्रमुख सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्