चार अर्ब लगानी विस्तार गर्दै लिटमस, परासीमा अर्को उद्योग सञ्चालनको तयारी «

चार अर्ब लगानी विस्तार गर्दै लिटमस, परासीमा अर्को उद्योग सञ्चालनको तयारी

विद्युतीय केबल तथा कन्डक्टर उत्पादन गर्ने कम्पनी लिटमस इन्डस्ट्रिजले लगानी विस्तार गर्ने भएको छ । बजारमा आक्रामक उपस्थिति कायम राखेको यस उद्योगले करिब ४ अर्ब लगानी गरी परासीमा दोस्रो प्लान्ट निर्माण गर्न लागेको हो ।

परासीमा करिब १५ बिघा जमिनमा नयाँ उद्योग बनाउन सुरू गरिएको कम्पनीका उपाध्यक्ष सरोज मिश्राले जानकारी दिए ।
घरायसीदेखि प्रसारण लाइनमा प्रयोग हुने ४०० केभीए क्षमताका कन्डक्टरदेखि केबलसम्म उत्पादन गर्दै आएको लिटमसमा रमेश कर्पको लगानी रहेको छ । सो उद्योगले हाल बुटवल औद्योगिक क्षेत्रमा रहेको प्लान्टबाट आफ्नो उत्पादन गरिरहेको छ । २ बिघा क्षेत्रफलमा रहेको बुटवलको यस उद्योगमा रमेश कर्पले करिब १ अर्ब रुपैयाँ लगानी गरिसकेको कम्पनीका उपाध्यक्ष मिश्राले जानकारी दिए । उनका अनुसार अब करिब ३ अर्ब लगानी विस्तार गरिनेछ । उनले भने, “हाम्रो योजना करिब ४ अर्ब लगानी विस्तारको हो, जसमा १ अर्ब लगानी भइसकेको छ । बाँकी पनि प्रक्रियामा छौं ।”

सन् १९७७ मा लुम्बिनी विद्युत उद्योगको नामबाट यस कम्पनीले बजारमा उपस्थिति जनाएको हो । शुरूवाती समयमा एसीएसआर कन्डक्टरमात्रै उत्पादन गरेको यस उद्योगले समयक्रमसँगै अन्य वस्तुहरू पनि उत्पादन गर्न थाल्यो । सन् १९९४ मा इनामेल वाइन्डिङ वायर उत्पादन थालेको कम्पनीले सन् १९९६ मै नयाँ उत्पादन भारतीय बजारमा निर्यात गर्न सफल भएको थियो । भारतको चेन्नई, (तत्कालीन मद्रास) कोलकाता, दिल्ली लगायतका ठाउँमा दैनिक २० देखि २५ ट्रक इनामेल वाइन्डिङ वायर निर्यात गर्ने गरेको थियो । तर, केही समयपछि भारत सरकारले नेपाली उत्पादनमा आयात शुल्क लगाउँदा उद्योगले आफ्ना उत्पादन भारत निर्यात गर्न रोकेको उपाध्यक्ष मिश्राले जानकारी दिए ।

सन् १९९८ मा पेपर इन्सुलेटेड स्ट्रिप्सको पनि उत्पादन शुरू गर्न थालेको उद्योगले सन् २००६ मा पावर केबल र सन् २००८ मा एरियल बन्च्ड केबल उत्पादन शुरू गरेको थियो । उद्योगलाई आक्रामक रूपमा विस्तार गर्दै गएको कम्पनीले सन् २०१० मा महत्वपूर्ण सफलता हात पार्यो, त्यो थियो– एनएस गुणस्तर अवार्ड । यसपछि सन् २०१५ मा इण्डियन स्ट्याण्डर्ड सटिफिकेसन समेत यस उद्योगले पायो ।

कम्पनीले स्थापनाको लामो समयपछि उद्योगको सञ्चालक तथा कर्मचारीहरूको हेरफेर गर्यो । सन् २०१९ मा पुराना कर्मचारीलाई बिदा गर्दै कम्पनीले नयाँ सञ्चालक तथा उच्च व्यवस्थापनको समेत हेरफेर गर्यो । नयाँ व्यवस्थापन ल्याएसँगै कम्पनीले नयाँ तरिकाबाट उद्योग सञ्चालन गर्न थाल्यो, जसको एक वर्षमै उत्पादन क्षमता विस्तार गरेको मिश्रा बताउँछन् । उनका अनुसार सोही समयमा कम्पनीले उद्योगको मुख्य अपग्रेड समेत गरेको थियो । अपग्रेडपछि जर्मन प्रविधिमार्फत उत्पादन गरिरहेको उनको भनाइ छ ।

कम्पनीले करिब ८० करोड रुपैयाँ लगानीमा बुटवलमा उद्योग अपग्रेड गरेको थियो । मिश्रा भन्छन्, “सबै गरेर उद्योगमा करिब १ अर्ब रुपैयाँ लगानी गरिसकेका छौं ।” उद्योगले सोही अपग्रेडका कारण सन् २०२१ मा नेपाल विद्युत प्राधिकरणलाई ५ करोड अमेरिकी डलरभन्दा बढीको एबीसी केबल आपूर्ति गर्ने ठेक्का पायो । त्यसपछि २०२२ मा कम्पनीले ३ हजार ६ सय किमीका लागि लाग्ने ४ सय केभीएको प्रसारण लाइन कन्डक्टर आपूर्ति गर्ने ठेक्का पाएको उपाध्यक्ष मिश्राले जानकारी दिए ।

त्यसपछि सन् २०२२ मा कम्पनीले आफूलाई पब्लिक कम्पनीका रुपमा रुपान्तरण गर्ने महत्वपूर्ण काम गर्यो र शुरू गर्यो– लिटमस इन्डस्ट्रिज लिमिटेडको रूपमा यात्रा । बुटवलको प्लान्टमार्फत घरायसी र प्रसारण लाइनमा प्रयोग हुने कन्डक्टर बनाइरहेको उद्योगले परासीमा हाइटेन्सनमा प्रयोग हुने एचटी केबल तथा तार उत्पादन गर्ने गरेको छ ।

“नेपालमै पहिलो पटक यस्तो तार उत्पादन गरेका हौं,” मिश्राले भने । तारको उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने लक्ष्यका साथ अगाडि बढेको उनले उल्लेख गरे । त्यसका लागि क्रमिक रूपमा उद्योगको विकास गर्दै लगानी विस्तार गर्दै जाने उद्योगको तयारी छ । कम्पनीले देशभरका १३० भन्दा बढी डिस्ट्रिब्युटर र २ हजारभन्दा बढी रिटेल पोइन्टबाट आफ्ना उत्पादनहरू बिक्री गरिरहेको छ ।

अवैध आयातले बजारमा समस्या
भारतबाट अवैध रूपमा तार आउँदा बजार बिग्रेको मिश्राको बुझाइ छ । उनी भन्छन्, “अवैध तथा मापदण्ड विपरीतका तार भारतबाट आइरहेका छन् । यसले गर्दा सस्तोमा उनीहरूको सामान बिक्छ । हामीलाई बजारमा समस्या सिर्जना भएको छ ।” कुल उत्पादनको १० प्रतिशत पनि उपयोग गर्न नसकिएको उनको गुनासो छ । “विद्युतीय तारले अनिवार्य रुपमा नेपाल गुणस्तर प्रमाण चिन्ह ने.गु. ३४४ लिनुपर्ने हुन्छ । तर बजारमा गुणस्तर चिन्ह नलिएका उत्पादनसमेत बिक्री भइरहेको पाएका छौं,” मिश्रा भन्छन्, “भारतीय कन्सल्टेन्टहरूले पनि अवैध सामान नै ल्याएको भन्ने सुनिन्छ ।”

लिटमससँग केबल उत्पादन गर्ने क्षमता अत्यधिक छ । तर बजार माग कम हुँदा निकै कममात्र बिक्री हुने गरेको उनी बताउँछन् । मिश्रा थप्छन्, “केवल उत्पादन क्षमता वार्षिक २५ लाख कोइलभन्दा बढी छ । तर महिनामा करिब २५ देखि ३० हजार कोइलभन्दा बढी उत्पादन बिक्री गर्न सकेका छैनौं ।” हाल मुलुकमा लिटमसद्वारा उत्पादित घरायसी केबलको बजार हिस्सा १५ देखि १८ प्रतिशतसम्म रहेको कम्पनीको दाबी छ । यसलाई अझ बढाउने रणनीतिमा उद्योग लागेको उपाध्यक्ष मिश्राले बताए ।

लिटमसका उत्पादन सबैभन्दा बढी नेपाल विद्युत प्राधिकरणले प्रयोग गर्दै आएको छ । प्राधिकरणसँगै बुटवल पावर कम्पनी, नेपाल टेलिकम, भुटान पावर कर्पोरेसन, शिवम् सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स लगायत कम्पनीहरूले लिटमसको उत्पादन प्रयोग गर्दै आइरहेका छन् । कम्पनीले निक, युनियन कप्पर, बिहानी ग्रुप, केएलजी ग्रुप, बेदान्त लिमिटेड, हुलास वायर्स लगायतबाट कच्चा पदार्थ खरिद गर्दै आएको छ । कम्पनीमा ५ सयभन्दा बढी जनशक्तिले काम गरिरहेको उपाध्यक्ष मिश्रा बताउँछन् । लिटमसले निकसँगको सहकार्यमा नेपाल विद्युत प्राधिकरणलाई करिब १० हजार युनिट ट्रान्सफर्मर निर्माणको काम गरिहरेको छ । यसमध्ये ७ हजार युनिटको काम सम्पन्न भइसकेको कम्पनीको भनाइ छ ।

कस्तो छ कम्पनीको क्षमता ?
लिटमसले ओभरहेड कन्डक्टर (ओएचसी) अन्तर्गत कन्डक्टर र केबल उत्पादन गर्दै आएको छ । जसमध्ये एसीएसआर कन्डक्टरको आकार २० देखि ५०० वर्ग मिलिमिटर हुन्छ । कम्पनीका अनुसार यसको प्रयोग ११ देखि ४०० केभीए भोल्टेजको प्रसारणलाइनमा गरिन्छ ।

कम्पनीकै अर्को उत्पादन एरिएल बन्च्ड केबल (एबीसी)को आकार २५ देखि १५० वर्ग मिलिमिटर हुन्छ । सहरी क्षेत्रमा राखिने ओभरहेड डिस्ट्रिब्युसन १/१ केभीए भोल्टेजमा यसलाई प्रयोग गरिने कम्पनीले जनाएको छ । कम्पनीको अर्को उत्पादन एक्सएलपीई कभर्ड कन्डक्टर्स हो । यसको आकार ५५ देखि १५० वर्ग मिलिमिटर हुन्छ । जसको प्रयोग ११ केभीए भोल्टेजको ओभरहेड ट्रान्समिसनमा गरिन्छ ।

लिटमसले घरायसी प्रयोगका लागि लागि केबल तथा तारहरूको उत्पादन पनि गर्छ । साथै, औद्योगिक तथा व्यापारिक क्षेत्रमा प्रयोग गर्न १.५ देखि एक हजार वर्ग मिलिमिटर आकारको एलभी पावर केबल पनि कम्पनीले बनाउँछ । कम्पनीले विभिन्न चार प्रकारका एफआर, एफआरएलएस, फ्लेक्जिबल ट्वीन र कन्सेन्ट्रिक घरायसी तार पनि उत्पादन गर्छ । ट्रान्सफर्मर तथा अन्य विद्युतीय उपकरणहरूमा प्रयोग हुने इनामेल वायर र पेपर स्ट्रिप्स पनि उत्पादन गर्दै आएको छ ।

लिटमससँग एसीसीएसआर कन्डक्टरको वार्षिक उत्पादन क्षमता ६७ हजार ७५० किलोमिटर छ । कम्पनीका अनुसार एबीसी वार्षिक २९ हजार ७०० किमी, एक्सएलपीई कभर्ड कन्डक्टर्स १९ हजार ९०० किमी, पावर केबल्स ४५ हजार ३२० किमी उत्पादन क्षमता रहेको छ । यस्तै हाउस वायरिङ केबलको उत्पादन क्षमता वार्षिक २५ लाख ३९ हजार ५७० कोइल छ । स्ट्रिप्सको वार्षिक उत्पादन क्षमता १३ हजार ६ सय टन रहेको कम्पनीले जनाएको छ ।

आईपीओ निष्काशनको तयारी
कम्पनीले हालैमात्र लिटमसलाई पब्लिक कम्पनीमा लगेको छ । समयलाई मध्यनजर गर्दै लिटमसले पनि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने उपाध्यक्ष मिश्रा बताउँछन् । उनले भने, “कम्पनी, बजार र देशकै समग्र आर्थिक स्थितिलाई मूल्यांकन गर्दै सर्वसाधारणलाई प्राथमिक सेयर निष्कासन गर्नेछौं ।” कम्पनीले अबको डेढ वर्षभित्रमा आफ्ना उत्पादन निर्यात गर्ने योजना बनाएको छ । साथै कम्पनीले एमसीभी, एलईडी लाइट, फ्यान, स्वीच र इन्डक्सन चुल्होसमेत उत्पादन गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्