कलिला मस्तिष्कमा शिक्षाको गह्रौं भार

फिनल्यान्डमा बस्ने नेपाली दम्पती दुई महिनाका लागि नेपाल आउनुपर्ने भयो । त्यो अवधिमा उनीहरूकी छोरीको स्कुल छुट्ने भयो । पढाइ बिग्रने साथै स्कुलले पनि नराम्रो मान्ने भयो भन्ने उनीहरूलाई चिन्ता थियो । उनीहरूले प्रिन्सिपलसँग भने, “हामी नेपाल जानुपर्ने भयो, पढाइ बिगार्न त हामीले पनि चाहेका होइनौं, नरिसाउनुहोला, बरु क्लास वर्क ह्वाट्स एपमा पठाइदिनुहोला, हामी घरमै गर्न लगाउँछौं ।”
ती नेपाली दम्पतीको कुरा सुनेर फिनिस प्रिन्सिपलले हास्दै भने, “छोरीको क्लास वर्कको कुनै चिन्ता नलिनुस् । तपाईंको छोरी भाग्यमानी रहिछन् । अभिभावक र आफन्तहरूसँग बस्न, खेल्न, रमाउन पाउने भइन । त्यो दुई महिनामा उसले सिक्ने ज्ञान र सीप हाम्रो स्कुलमा दुई वर्षमा सिक्नेभन्दा बढी हुनेछ ।”
नेपाली दम्पतीले फिनल्यान्ड बसेको पाँच वर्ष भइसक्यो, हामीलाई हाम्रो नेपाली संस्कारको ह्याङओभरले छोडेको छैन भन्ने मनमा सोचे । आफूलाई सच्चाउँदै उनीहरूले भने, “हो सर, केटाकेटीहरूले घुम्दा पनि धेरै कुरा सिक्छन् ।” पढाइ बिग्रेला भन्ने उनीहरूको चिन्ता हट्यो ।
नेपालका सहरबजारमा सुविधासम्पन्न बोर्डिङ स्कुल, मन्टेश्वरी, डे केयर सेन्टर, किन्डरगार्टेन आदि खुलेका छन् । जति महँगो स्कुलमा छोराछोरी भर्ना गर्न सकियो, उनीहरू त्यति बढी प्रतिभाशाली (ट्यालेन्ट) हुन्छन् भन्ने बुझाइ अभिभावकमा छ ।
शिक्षाबारे अभिभावकको बुझाइ सही हो त ? महँगा स्कुल किन खुलेका हुन् ? सरकारी स्कुलमा सामान्य स्तरको भौतिक सुविधा हुन्छ । जुन परिवार सुविधासम्पन्न घरमा बस्छ, सुविधासम्पन्न रेस्टुराँमा खान्छ, उसका छोराछोरीलाई स्कुलमा पनि त्यही वातावरण र सुविधा दिनु उचित हो ।
जुन व्यक्ति एउटा कोठा भाडामा लिएर कोचिएर सपरिवार बस्छ । छोराछोरीलाई महँगो स्कुलमा राख्छ । भौतिक सुविधा राम्रो भएको स्कुलको शुल्क महँगो हुने हो । घरमा बस्दा, खाँदा निम्न स्तरको जीवन बिताउने परिवारका लागि भौतिक सुविधा भएको स्कुल राखेर महँगो शुल्क तिर्नुको औचित्य छैन ।
मन्टेश्वरी, किन्डरगार्टेन, डे केयर, प्ले गु्रप भविष्यमा बच्चाबच्चीलाई पढाइमा प्रतिभाशाली बनाउन खुलेका होइनन् । घरमा अभिभावकले समय उपलब्ध गराउन नसक्ने बच्चाबच्चीका लागि खुलेका हुन् । ती पनि भौतिक सुविधाअनुसार सस्ता र महँगा हुन्छन् । घरको सुविधाभन्दा अचाक्ली बढी सुविधा भएको हेरचाह केन्द्र (केयर सेन्टर) मा राख्नुको कुनै औचित्य हुँदैन । अभिभावक पेसा–व्यवसायमा व्यस्त हुनुपर्ने, बच्चाबच्चीका लागि साथीसँगी पनि उपलब्ध नहुने अवस्थाको विकल्पका लागि हेरचाह केन्द्रहरू खुलेका हुन् । पूर्वकक्षा (प्रि–क्लास) परिवार सदस्य सहज उपलब्ध हुन सक्ने अवस्था हुँदाहुँदै बच्चाबच्ची राख्न खोलिएका होइनन् । बाध्यतावश अल्पकालका लागि पूर्वकक्षामा राख्ने हो ।
बालबालिकालाई पढाउन अद्भुत क्षमता भएको शिक्षक चाहिने होइन । महँगो स्कुलमा राम्रा शिक्षक र सस्तो स्कुलमा कमजोर शिक्षक हुन्छन् भन्ने होइन । शिक्षाको गुणस्तर केही हदसम्म स्कुलको व्यवस्थापनमा निर्भर हुने हो । सामान्य शुल्क लिने स्कुलमा कुशल व्यवस्थापन र धेरै शुल्क लिने स्कुलमा कमजोर व्यवस्थापन पनि हुन सक्छ ।
सरकारी स्कुलमा राम्रो पढाइ हुँदैन, बोर्डिङमा हुन्छ भन्ने मान्यता छ । यसको आधार एसईईको उत्तीर्ण प्रतिशतलाई लिइन्छ । वास्तवमा यो सरकारी र बोर्डिङको कारण भएको होइन । सरकारीमा अनुत्तीर्ण हुने खालका विद्यार्थी धेरै पढ्ने भएर हो । तिनलाई बोर्डिङमा राखिएको भए पनि पास हुँदैनथे ।
पछि पढाइमा प्रतिभावान् हुन्छन् भनेर जतिसक्दो सानो उमेरमा पूर्वकक्षा भर्ना गर्ने चलन छ । राम्रो स्कुलको प्रवेश परीक्षा (इन्ट्रान्स टेस्ट) उत्तीर्ण गर्न राम्रो मन्टेश्वरी राख्नुपर्छ भन्ने बुझाइ छ । घरमा पढाउन सकिएन भनेर सानै उमेरमा पूर्वकक्षा र स्कुलमा भर्ना गर्ने चलन छ । त्यसपछि पनि राम्ररी गृहकार्य (होमवर्क) गरेनन् भनेर ट्युसन राख्ने चलन छ ।
सबैभन्दा रमाइलो कुरा त यो छ कि अभिभावकहरू सबैभन्दा महँगो स्कुलमा भर्ना गर्न चाहन्छन् । तर, भनसुन (सोर्स) लगाएर छुट गराउन सके आफ्नो सफलता ठान्छन् । कतिपय निजी स्कुल सञ्चालकहरूले अभिभावको यो मनोविज्ञान बुझेर बढी शुल्क तोक्ने तर प्रत्यक्ष वा परोक्ष रूपमा सबैलाई भारी छुट दिने रणनीति अवलम्बन गरेका हुन्छन् ।
घरमा अभिभावक आफ्नै काम वा टिभी, मोबाइलमा व्यस्त हुने र छोराछोरीलाई पढ, गृहकार्य गर भनिरहने चलन छ । बोर्डिङ मात्र होइन, कतिपय सरकारी स्कुलमा समेत दिनभरि पढ्नै दबाब दिइएको हुन्छ । घर आएर पनि केटाकेटीहरू आफूखुसी खेल्न पाउँदैनन् । चाहेजति अभिभावकसँग कुराकानी गर्न पाउँदैनन् ।
अभिभावकले केटाकेटीलाई समय नै दिँदैनन् । समय दिइहाले भने प्रश्न सोध्छन् । उत्तर जानेन भनेर गाली गर्छन् । कतिपय अभिभावकले सही उत्तर दिने छोराछोरीको प्रशंसा गर्नुपर्छ भन्ने जानेका छन् । त्यसलाई बच्चाको मनोविज्ञानलाई सकारात्मक प्रभाव पार्ने महान् काम गरेको ठान्छन् ।
बच्चाबच्चीको हित चाहने अभिभावकले बच्चाबच्चीलाई प्रश्न सोधेर जाँच लिने होइन । उनीहरूलाई निस्फिक्री प्रश्न सोध्न दिनुपर्छ । बच्चाबच्चीको प्रश्नको उत्तर दिनुपर्छ । बच्चाबच्ची उत्तर भनेर होइन, प्रश्न सोधेर प्रतिभावान् बन्ने हुन् ।
अभिभावकको कर्तव्य छोराछोरीले मागेको कुरा सक्दो पु¥याइदिने हो । आफूले चाहेअनुसार छोराछोरीलाई गराउने होइन ।
छोराछोरीले मागेको सहयोग उपलब्ध गराउने हो । हरेक नयाँ पुस्ता प्रतिभावान् हुन्छ । अभिभावक आफूलाई राम्रो लागेको कुरा नै बच्चाका लागि पनि राम्रो हो भनेर जिद्दी गर्छन् । त्यसो हो भने दोस्रो पुस्ता पहिलो पुस्ताभन्दा कसरी बौद्धिक बन्न सक्छ ?
नयाँ पुस्ता पुरानो पुस्ताभन्दा बढी स्वतन्त्रता चाहन्छ । तर, सानैदेखि अभिभावकको दबाबमा पढ्न र काम गर्न दबाब रहेको छ । किशोर र युवा अवस्था हुँदासम्म निर्णय लिने छुट अभिभावकले दिँदैनन् । यसको फलस्वरूप नयाँ पुस्तालाई लक्ष्य निर्धारण र त्यसअनुरूप योजना बनाउन कठिन हुने गरेको छ ।
अभिभावकले बच्चाबच्चीलाई यो र त्यो गर भन्नु हुँदैन । अभिभावकलाई सही लागेको कुरा बच्चाका लागि सही नहुन पनि सक्छ । के राम्रो भन्ने आफैंले छनोट गर्न पाउनुपर्छ । छनोटको छुटले व्यक्तित्व विकासमा योगदान गर्छ । त्यसैले छोराछोरी बिग्रे कि भन्ने होइन, म बिग्रें कि भन्ने सोच बनाउन सके बालबालिकाको भविष्य उज्ज्वल हुनेछ ।