Logo

नेपाल रेमिट इन्टरनेशनल र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता

नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैंकबीच वैदेशिक रेमिटेन्स बैंकिङ च्यानलमार्फत भुक्तानी गर्नेसम्बन्धि सम्झौता भएको छ । यस सम्झौता पत्रमा नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनाल र राष्ट्रिय वाणिज्य बैँकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

विगत १७ वर्षदेखि रेमिटेन्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेशनल तथा देशभरी २६५ वटा शाखा कार्यालय र ४६ वटा एक्सटेन्सन काउन्टर रहेको राष्ट्रिय वाणिज्य बैंकबीचको सम्झौता पश्चात नेपाल रेमिटमार्फत विश्वका विभिन्न स्थानबाट बैंकिङ च्यानलमार्फत पठाएको रकम देशको ७७ जिल्लामै सम्बन्धित व्यक्तिले बैंकको शाखा कार्यालयमार्फत सरल तरिकाबाट रकम प्राप्त गर्न सक्नेछन् ।

यसका साथै राष्ट्रिय वाणिज्य बैंकसँगको सम्झौतासँगै नेपाल रेमिटले देशभर १२ हजार भन्दा बढि स्थानबाट आफ्नो सेवा जनतामाझ प्रदान गर्न सक्नेछ । डिजिटल रेमिटेन्सलाई प्राथमिकता दिने नेपाल रेमिटले विश्वका धेरै देशबाट नेपालमा रहेका थुप्रै बैंक तथा वित्तीय संस्थाबाट ग्राहकका खातामा रियल टाइम बैंक डिपोजिट सेवालाई प्रभावकारी रुपमा प्रदान गर्दै आएको छ । जसले गर्दा नेपालमा रेमिटेन्स भित्र्याई देशको अर्थतन्त्र सुदृढीकरणमा समेत टेवा पुग्ने अपेक्षा लिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्