हस्तान्तरण नहुँदै भत्कियो थलह–जेवाकोट सडक

पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोटको छेडागाड नगरपालिकाको थलहदेखि जेवासम्मको सडक पिच गर्ने कार्य सम्पन्न भएलगत्तै भत्कने क्रम पनि सुरु भएको छ । १३ किलोमिटर सडक खण्ड निर्माणको जिम्मेवारी लिएको लामा पीएस कन्स्ट्रक्सन जेभी काठमाडौंले भत्किएको सडक मर्मत नगर्ने भन्दै स्थानीयबासीलाई धमक्याउने काम गरिरहेको छेडागाड नगरपालिका–५ की विष्णु चदाराले बताइन् ।
उनले भनिन्, “सडक भत्किँदा मेरो घरलाई समस्या परेको छ, तर ठेकेदारलाई सडक बनाउभन्दा उल्टै हप्काउँछन् ।” पिच गरिएको सडक भत्किएपछि सडकभित्र यात्रा गर्ने सवारी साधनसमेत दुर्घटना पर्ने डर भएको बताउँछन् । २०८० जेठ २४ गते पटकपटक थपिएको म्यादको अन्तिम मिति हो ।
लामा पीएस कन्स्ट्रक्सन जेभी काठमाडौंका प्रतिनिधि प्रेम लामाले भत्किएको सडक मर्मत गर्न नसकिने बताउँछन् । उनले वर्षामा भत्किएको सडक हामीले कसरी बनाउने भन्दै उल्टै प्रश्न गरिरहेका छन् । जाजरकोट खण्डमा ८२ किलोमिटर सडक छ । अधिकांश ठाउँमा पिचको काम अन्तिम चरणमा पुगे पनि काम गुणस्तर नहुँदा अगाडि बनाउँदै जाँदा पछाडि भत्कँदै गएको छ ।
छेडागाड नगरपालिकाले समेत आफ्नो पालिकाभित्र भत्किएका सडक मर्मत गराउन चासो नदिएको सर्वसाधारण बताउँछन् । अधिकांश समय काठमाडौं र व्यक्तिगत ठेक्काको काममा व्यस्त हुने छेडागाड नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले आफ्नो पालिकामा विकास निर्माण हुने गरेको विकृतिका विषयमा ध्यान नदिएको स्थानीय पवन चनाराको भनाइ छ ।
स्थानीयबासीले निर्माण व्यवसायीलाई जति दबाब दिए पनि ठेकेदारले कुनै पनि चासो नदिँदा आफूहरू हैरान भएको उनले बताए छ । सडकको बीचमा दरादरा परेर जोखिम बढेको छ । दर्जनौ ठाउँमा सडक दरादरा हुँदा यातायातका साधन सञ्चालनमा समेत मुस्किल भएको यातायात व्यवसायी धनबहादुर खत्रीले बताए ।