Logo

शैक्षिक सुधार योजना बनाउँदै जलजला

शैक्षिक क्षेत्र सुधार कार्ययोजना निर्माणका लागि पर्वतको जलजला गाउँपालिकाले शैक्षिक सरोकारवालाबीच अन्तरक्रिया गरेको छ । जलजलाका गाउँ शिक्षा समितिका सदस्य, वडाअध्यक्ष, सामुदायिक विद्यालयका प्राधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको उपस्थितिमा आइतबार अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

गाउँपालिका अध्यक्ष राजु आचार्यको अध्यक्षतामा भएको शैक्षिक सरोकारवालाबीच गरिएको अन्तरक्रिया कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष कुलप्रसाद आचार्यले सामुदायिक विद्यालयको शैक्षिक सुधार नभएसम्म अन्य कुराको सुधार नहुने बताउँदै गाउँपालिकाभित्रका शैक्षिक क्षेत्रका सरोकारवालाले विशेष ध्यान दिन आग्रह गरे । आगामी दिनमा जलजलाको शिक्षा शैक्षिक क्षेत्रको सुधारका लागि संघले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै गाउँपालिका अध्यक्ष आचार्यले शैक्षिक क्षेत्र तत्काल सुधार कार्ययोजना निर्माणलाई मूर्तरुप दिन तथा समग्र शैक्षिक गुणस्तर कायम गर्न सबैको भूमिका महत्वपूण हुने बताए । उनले शैक्षिक सुधारका लागि शिक्षकहरू पनि जिम्मेवार बन्न आग्रह गरे । शैक्षिक क्षेत्रको सुधार योजना निर्माणदेखि कार्यान्वयनसम्म शिक्षक तथा प्रधानाध्यापक र विव्यस अध्यक्ष जिम्मेवार र अनुशासित विद्यार्थी भएमा शिक्षा क्षेत्र गुणस्तरीय बनाउन सहयोग पुग्ने भनाइ राखे । विद्यालयको प्रविधिमैत्री बनाउन गृहकार्य गाउँपालिकाले गरेको जानकारी गराए ।

गाउँपालिका उपाध्यक्ष दिपक आचार्य र प्रमुख प्रशासकीय अधिकृत कुशल सुवेदीको उपस्थित रहेको थियो । आगामी दिनमा विद्यालयको शैक्षिक सुधार कार्ययोजना निर्माण तथा कार्यान्वयनसम्बन्धी प्रशिक्षण प्रशिक्षक बद्री दाहालले गरेका थिए । शैक्षिक गुणस्तर बनाउनका लागि सबै पक्षको सल्लाह र सुझावका लागि अन्तरक्रिया राखिएको गाउँपालिका शिक्षा अधिकृत त्रिविक्रम आचार्यले बताए । जलजलामा सामुदायिक ४४ वटा र निजी तीनवटा गरी ४७ वटा विद्यालय छन् ।

प्रतिक्रिया दिनुहोस्