धनगढी–दिपायल द्रुतमार्ग : सात महिनापछि काम सुरु हुँदै

नेपाल सरकारको प्राथमिकता प्राप्त धनगढी–दिपायल द्रुतमार्गमा पुँजीगत शीर्षकमा बजेट विनियोजन नभएपछि रोकिएको काम सुरु हुने भएको छ ।
प्राथमिकता प्राप्त भई बहुवर्षीय ठेक्का लागिसकेको सो आयोजनामा बजेट नपरेपछि निर्माण कम्पनीले गत असोजदेखि काम रोकेका थिए । फागुन मसान्तमा नेपाल सरकारले रकमान्तरमार्फत् १५ करोड रुपैयाँ विनियोजन गरेपछि निर्माण कम्पनीहरूले पुनः काम सुचारु गर्ने तयारीमा रहेको धनगढी–दिपायल द्रुतमार्ग आयोजना कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्षमा ट्रयाक खोल्ने काम सम्पन्न भएको आयोजनामा तीन खण्डमा कालोपत्रेका लागि ठेक्का लगाइएको छ । चालू आर्थिक वर्षका लागि बजेट विनियोजन नभए पछि ठेक्का लागेर आधा काम भइसकेको खण्डको काम रोकिएको छ । धनगढी–स्याउले खण्ड १३.४ किलोमिटर, स्याउले–हाटखोली खण्ड ६.५ किलोमिटर र दिपायलदेखि धनगढीतर्फ १५ किलोमिटर गरी जम्मा ३४.९ किलोमिटर सडक कालोपत्रे गर्नका लागि ठेक्का लगाइएको छ ।
धनगढी–दिपायल द्रुतमार्ग आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर दिनेश रैखोलाले स्याउले–हाटखोली खण्ड ६.५ किलोमिटर कालोपत्रे निर्माण गर्ने ठेक्का लिएको निर्माण कम्पनीले मेसिन ल्याएर खोलामा राखिसकेको बताए । उनले डोटीमा पनि काम सुरु हुन थालेको बताए । धनगढी–स्याउले खण्डमा निर्माण कम्पनी एक साताभित्रै आएर काम थाल्ने बताए ।
आयोजना कार्यालयले निर्माण कम्पनीहरूलाई ७८ करोड रुपैयाँ भुक्तानी गर्न गतवर्षको दायित्व छ । तत्काल काम सुरु गर्न हालै विनियोजित १५ करोड रुपैयाँले भ्याइने आयोजना कार्यालयले जनाएको छ । आयोजना कार्यालयले बजेट विनियोजन भएपछि रोकिएको काम सुचारु गर्न तत्काल ५० करोड रुपैयाँ माग गरेको थियो ।
धनगढी–स्याउले खण्डमा सबबेससम्म निर्माण भएको छ भने बाँकी दुई खण्डमा वाल, नालीलगायतका संरचना निर्माण भएको छ । धनगढी–स्याउले खण्डमा खड्का कृष्ण नारायणम् जेभीले २०७८ साउनदेखि काम गरिरहेको छ । सो खण्ड निर्माणका लागि भ्याटबाहेक १६ करोड ४० लाखमा ठेक्का सम्झौता भएको छ ।