युवा ठगिन रोक «

युवा ठगिन रोक

मुलुक रेमिटेन्सबाट चलेको छ । सरकार हाँक्नेहरूको तलबदेखि फजुल खर्चसम्मका सबै खर्चको अप्रत्यक्ष स्रोत रेमिटेन्स नै हो । रेमिटेन्समा केही कमी आउँदा कस्तो अवस्था हुन्छ, गत वर्षको सरकारी तथ्यांकहरूले प्रस्ट पारेका छन् । तर, तिनै रेमिटेन्स पठाउने युवाहरू स्वदेशदेखि विदेशसम्म खुलेआम ठगिइरहेका छन् । रोजगारीका लागि विदेश जान चाहने युवा ठगिएका घटना दैनिकजसो सार्वजनिक भइरहेका छन् ।

सरकारले भने आवश्यक कारबाही गर्न सकेको छैन । केही कारबाही नभएका पनि होइनन् तर अधिकांश देखावटीजस्तो भइरहेको छ । सरकारले संस्थागत वा व्यक्तिगत रूपमा कसैलाई पनि कामदारका रूपमा कोरिया पठाउने अनुमति दिएको छैन । अहिलेसम्म कोरिया जान इपीएस कोटामार्फत सरकारी तवरबाट लिइने लिखित र मौखिक परीक्षा पास हुनुपर्छ ।

तर, केही ‘तर’ मार्न पल्केका व्यक्तिहरूले कोरिया पठाउने भन्दै युवा ठगी गर्ने प्रयास गरेका छन् । इलाममा कोरिया पठाउने लोभ देखाएर करिब ५ सय जना स्थानीय युवालाई वल्डिङ (फलाम जोड्ने काम) को तालिम दिएको घटना सार्वजनिक भएको छ । कोरियामा पानीजहाजमा वल्डिङको काम मिलाइदिने भन्दै इलामका सुरेन्द्र राई र कान्तिपुर मल्टी टेक्निकल कलेजले यस्तो तालिम दिएको हो ।

राईको मुस्कान इन्जिनियरिङ टेक्निकल इन्स्टिच्युट र कोरियन भाषा पढाइरहेको इलाम बजारको कान्तिपुर मल्टी टेक्निकल कलेज यो धन्दामा लागेको हो । सबैको विश्वास जित्न वल्डिङको तालिम दिने नाटक रचिएको छ । बेरोजगार युवाले तालिम नै दिएपछि कोरिया अवश्य लैजान्छ भन्ने आशा गर्नु अन्यथा भएन । सरकारले अनुमति नदिएको देशमा युवालाई पठाउने भन्दै खुलेआम तालिम सञ्चालन गरेको सूचना जिल्ला प्रशासन कार्यालय पुगेपछि ती दुवै संस्थामा छापा पारी कागजात नियन्त्रण गरिएको छ ।

वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै ठगी र अलपत्र पार्ने घटनाहरू पनि बढ्दै गएका छन् । यसमा सरकार सचेत र गम्भीर बन्नुपर्छ ।

त्यस क्रममा तालिम लिने प्रत्येक युवाबाट तत्काल ९१ हजार रुपैयाँ उठाएको र पछि थप ७ लाखका दरले लिने तयारी सञ्चालकहरूले गरेको देखिन्छ । सरकारी निकायबाट जोगिने गरी यो धन्दा सञ्चालन गर्न राईले खोलेको कम्पनीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट वल्डिङलगायतका तालिम दिने स्वीकृति लिएको देखिन्छ । प्रशासनले हाल कागजात नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।

वैदेशिक रोजगारीका नाममा युवालाई ठगी गर्ने यो एउटा मात्र उदाहरण हो । स्वदेश र विदेश दुवै ठाउँमा ठगी धन्दा मौलाइरहेको छ । बेरोजगार युवालाई आकर्षक तलबलगायतका विभिन्न प्रलोभनमा पारेर विदेश पठाई अलपत्र पारेका घटना दैनिकजसो आइरहेका छन् । यस्तो कार्यमा केही संख्यामा वैदेशिक रोजगार व्यवसायीसमेत संलग्न छन् । धेरैको संख्यामा भने गाउँघरमा फैलिएका एजेन्टहरूले नै युवालाई ठग्ने गरेका छन् ।

अमेरिका युरोपजस्ता विकसित मुलुकको सपना देखाएर ४०–५० लाख रुपैयाँ ठगी गर्ने गिरोह पनि ठूलै छ । सबैभन्दा धेरै ठगी नेपालीहरू धेरै जाने खाडीका मुलुक र मलेसियामा हुने गरेको छ । विमानस्थलको कार्गोमा मासिक १ लाख तलब पाउने आस देखाएर मलेसिया पुर्‍याएका ५६ जना नेपाली अहिले अढाई महिनादेखि त्यहाँ अलपत्र छन् । यो ठूलो संख्यामा अलपत्र परेको भएकाले मात्र घटना सार्वजनिक भएको हो ।

दुई–चार जनालाई अलपत्र पारिए तिनको आवाज कसैले सुन्दैन । यस्ता घटना दिनहुँ भइरहेका छन् । स्वदेशमा रोजगारी नपाएपछि ठगिने डर हुँदाहुँदै पनि नेपाली युवा जोखिम मोल्न तयार भएको देखिन्छ । बेरोजगारीको यही विकराल अवस्थाको मौका छोपी ठगी गर्नेहरूले धन्दा फस्टाइरहेका छन् । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने श्रमिकका सबै प्रकारका गरेर प्रतिमहिना करिब ६०–७० हजार जनालाई सरकारले श्रमस्वीकृति दिने गरेको छ ।

पछिल्लो समयमा नयाँ र पुराना गरी दैनिक २ हजारभन्दा बढीको संख्यामा युवा कामका लागि बिदेसिने गरेका छन् । यो वर्षको माघसम्ममा ४ लाख ८२ हजार जना वैदेशिक रोजगारीमा गएका छन् । गत वर्षसँग तुलना गर्दा संस्थागत तथा व्यक्तिगत रूपबाट विदेश जाने नयाँ संख्या ५७ र पुनः श्रम स्वीकृति लिएर विदेश जानेको संख्या १० प्रतिशतले बढेको छ ।

यो तथ्यांकले काम गर्न सक्ने उमेर समूहका अधिकांश युवायुवती विदेश जान खोजेको देखिन्छ । सरकारले हालै श्रम स्वीकृति दिने सेवा काठमाडौंबाट सातै प्रदेशमा विस्तार गरेको छ । यसले विदेश जाने संख्या झनै बढ्नेछ । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै ठगी र अलपत्र पार्ने घटनाहरू पनि बढ्दै गएका छन् । यसमा सरकार सचेत र गम्भीर बन्नुपर्छ । वैदेशिक रोजगारीको तत्काल विकल्प छैन ।

त्यसैले सरकारको प्राथमिकता वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने हुनुपर्छ । युवालाई स्वदेश र विदेश दुवैमा ठगी हुनबाट मात्र बचाउन सके पनि धेरै राहत मिल्नेछ । युवालाई ठग्ने र अलपत्र पार्नेमा वैदेशिक रोजगार व्यवसायीको भन्दा पनि एजेन्टको धेरै भूमिका हुन्छ । त्यसैले एजेन्टको संलग्नतालाई कसरी हुन्छ सरकारले रोक्न सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्