बाजागाड र तलिकुडुका शतप्रतिशत बालबालिका विद्यालय पहुँचमा

जुम्लाको हिमा गाउँपालिका–५ का बाजागाडा र तलिकुडु गाउँलाई विद्यालय बाहिर रहेका बालबालिकामुक्त समुदाय घोषणा गरिएको छ । विद्यालय उमेर समूहका चारदेखि १६ वर्षका सबै बालबालिका विद्यालयको पहुँचमा पुगेपछि दुर्गम दुई गाउँलाई विद्यालय बाहिर रहेका बालबालिकामुक्त गाउँ घोषणा गरिएको हो । २१० घरधुरी रहेको तलिकुडुका ६३० जना र १२५ घरधुरी रहेको बाजागाडाका २८३ जना विद्यालय उमेर समूहका नौ सयबढी बालबालिका सबै विद्यालयमा भर्ना भएका छन् ।
हिमा–५ का कुल ३३० घरमा गरिएको घरधुरी सर्वेक्षणअनुसार विद्यालय उमेर समूहका सबै बालबालिका भर्ना भएको पाइएपछि शुक्रबार जिल्ला समन्वय समितिका प्रमुख, गाउँपालिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारीलगायतले संयुक्त रूपमा बाजागाड र तलिकुडु गाउँलाई विद्यालय बाहिर रहेका बालबालिकामुक्त समुदाय घोषणा गरे । हिमा–५ को तलिकुडुमा रहेको कालिका माविमा ६३० र बाजागाडामा रहेको रुपाकोट आधारभूत विद्यालयमा २८३ बालबालिका भर्ना भएका छन् ।
शिक्षा र स्वास्थ्यमा पहिलो प्राथमिकता दिँदै आएको हिमाले प्लान इन्टरनेसनल नेपाल र किर्डाक नेपालसँंगको सहकार्यमा जुम्लाकै नमुना कार्यका रूपमा विद्यालय बाहिर रहेका भर्ना उमेर समूहका शतप्रतिशत बालबालिकालाई विद्यालयको पहुँचमा पुर्याउन सफल भएको छ । विगतमा विभिन्न कारणले दलित तथा गैरदलितका बालबालिका विद्यालय आउँदैन थिए । सरकारी दलित छात्रवृत्ति र छात्रा छात्रवृत्ति दिए पनि सामुदायिक विद्यालयमा अपेक्षित विद्यार्थी भर्ना हुन्थे भने भर्ना भए पनि बीचमै विद्यालय छोड्ने समस्या विकराल थियो ।
तर हिमा गाउँपालिका, प्लान र किर्डाकले दुर्गम क्षेत्रको शैक्षिक अवस्था सुधार्न विगत लामो समयदेखि गरेको कसरतअनुसार दुर्गम गाउँका शतप्रतिशत बालबालिका विद्यालयको पहुँचमा पुगेका हुन् । विद्यालय स्थापना भएको दशकौंपछि दुवै गाउँका शतप्रतिशत बालबालिका विद्यालयको पहुँचमा पुगेकोमा रुपाकोट आधारभूत विद्यालयकी प्रधानाध्यापक शान्ती शाहीले खुसी व्यक्त गरिन् ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले शतप्रतिशत बालबालिका विद्यालय भर्ना घोषणाले यहाँका कुनै पनि बालबालिका गोठाला नभएको, घरमा बच्चा धराला नभएको श्रमिक नरहेको र शिक्षाबाट वञ्चित नरहेको पृष्टि भएको बताए । उनले भने, “विद्यालय बाहिर शून्य बालबालिका हुनु सुखद कुरा हो । तर गुणस्तर शिक्षा, बालबालिकाको नियमितता र घोषणा कार्यान्वयनमा चुनौती छ । सामुदायिक विद्यालयमा बालबालिका टिकाउन स्थानीय सरकारले शैक्षिक सुधारका ठोस नीति ल्याउन आवश्यक छ ।”
हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले हिमाका कुनै बालबालिका अब विद्यालय बाहिर रहेर शिक्षाबाट वञ्चित हुन नपर्ने बताए । “हिमा सरकारले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिँदै आएको छ । युग सुहाउँदो शिक्षा प्रणाली लागू गर्न तयार छौं,” उनले भने, “ आधारभूत तहको शिक्षामा सुधार नभई भविष्यमा दक्ष जनशक्ति उत्पादन सम्भव छैन । विद्यालय झिकाउने, व्यावहारिक शिक्षा सिकाउने, विद्यालयमा टिकाउने र बिकाउने जनशक्ति उत्पादन गर्न शिक्षाको जग बलियो गर्नुपर्नेमा हामी सचेत छौं ।”
पालिकाले रुपाकोट आवि र कालिका मावि विद्यालयको पूर्वाधार विकासँंगै पालिकाभरिकै विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि नीतिगत रूपमा अघि बढ्ने उल्लेख गरे । विद्यालयमा मैत्रीपूर्ण शौचालय, धारा, कक्षा कोठा व्यवस्थापन र शिक्षक शिक्षणविधि तथा क्षमता विकास तालिम दिएर सामुदायिक विद्यालयको शिक्षामा सुधार ल्याउने योजना रहेको अध्यक्ष शाहीको भनाइ छ । हिमामा शिक्षा नीतिको मस्यौदासमेत तयार भइसकेकाले अब त्यसलाई पूर्णता दिएर कार्यान्वयनमा ल्याइने उल्लेख गरे ।
प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बाजागाड र तलिकुडु गाउँजस्तै जुम्लाका ६० वटै वडाका सबै बस्तीलाई विद्यालय बाहिर रहेको बालबालिकामुक्त समुदाय घोषणा गर्न अभिभावक, शिक्षक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्ध समधुर हुनुपर्ने बताए ।
घोषणाका सूचक
कर्णालीकै नमुना समुदायका रूपमा बाजागाडा र तलिकुडुलाई विद्यालय बाहिर रहेका बालबालिकामुक्त गाउँ घोषणा गर्नका लागि हिमा गाउँपालिका, किर्डाक र प्यानलले वर्षौदेखि विभिन्न सूचकमा रहेर काम गर्दै आएको छ । हिमा–५ का झण्डै ९१३ जना बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउनका लागि घरधुरी सर्वेक्षण, विद्यार्थी र्याली, विद्यार्थी खोज अभियान, अभिभावक र वडा बैठक, घरदैलो अभियान, अभिभावक शिक्षा तथा परामर्श कार्यक्रम गरिएको थियो ।
साथै विद्यालयमा मैत्रीपूर्ण संरचना निर्माण, शौचालय, खानेपानी, घेराबार र गाउँपालिकाको नियमित पृष्ठपोषण तथा अनुगमनलगायत विभिन्न सूचक पूरा गरेर बाजागाडा र तलिकुडु गाउँलाई शतप्रतिशत बालबालिका विद्यालय बाहिर रहेको मुक्त समुदाय घोषणा गरिएको हो ।