राष्ट्रिय सभा निर्वाचन आज ५६ पदका लागि निर्वाचन हुँदै «

राष्ट्रिय सभा निर्वाचन आज ५६ पदका लागि निर्वाचन हुँदै

राष्ट्रिय सभा सदस्यका लागि आज निर्वाचन हुँदैछ । ७ वटा प्रदेशमा ७ स्थानमा मतदान हुनेछ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा कुल २ हजार ५६ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको आयोगले जानकारी दिएको छ ।
प्रदेश नम्बर २ मा सबैभन्दा बढी मतदाता छन् । सो प्रदेशमा ३ सय ७९ जना मतदाता छन् । सबैभन्दा कम मतदाता भएको प्रदेश नम्बर ६ मा १ सय ९८ जना मात्र मतदाता छन् । प्रदेश नम्बर १ को मतदान केन्द्र मोरङको विराटनगर महानगरपालिकास्थित विरेन्द्र सभागृहमा हुनेछ । त्यस्तै, प्रदेश २ मा निर्वाचन अधिकृतको कार्यालय प्रांगण धनुषामा मतदान केन्द्र तय गरिएको छ । प्रदेश नम्बर ३ को वडा समिति भवन ललितपुरमा, ४ को लोकसेवा आयोग पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय पोखरामा, ५ को कर्मचारी मिलन केन्द्र घोराही, दाङमा मतदान केन्द्र तोकिएको छ । त्यस्तै, प्रदेश नम्बर ६ को जिल्ला निर्वाचन कार्यालय परिसर सुर्खेत र ७ को पदम पब्लीक मुक्तिनारायण मावि, सिलगढी डोटीमा मतदान केन्द्र रहेको छ ।
राष्ट्रिय सभाका ५६ सदस्यका लागि ८२ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । ७ प्रदेशमा ९ पार्टीका ८२ जनाले उम्मेदवारी दिएको आयोगको भनाई छ । प्रदेश १ मा १२, २ मा ९, ३ मा १६, ४ मा १२, ५ मा ११, ६ मा १२ र ७ मा १० जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये केही प्रदेशमा केही पदमा निर्विरोध भएको भनिएपनि आयोगले औपचारिक घोषणा भने गरेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्