पर्यटकीय गन्तव्य बन्दै रत्नेचौर «

पर्यटकीय गन्तव्य बन्दै रत्नेचौर

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर पर्यटनको गन्तव्य बन्दै गएको छ । चारैतिर हरियाली पहाड, उत्तरतर्फ मनमोहक धवलागिरि र नीलगिरि हिमाल, बीचमा समथर फाँट, बुढो पोखरी, लामो झोलुंगे पुल, कालोपत्रे सडक र ग्रामीण बस्तीले चिटिक्क बनेको रत्नेचौर । पछिल्लो समय पर्यटकको गन्तव्य रूपमा विकसित हुँदै आएको छ ।

परम्परागत शैलीका घर, पृष्ठभूमिमा देखिने धौलागिरि हिमाल, समथर भूगोल, कालोपत्रे सडक र त्यसको दायाँबायाँ फाँटमा गहुँको हरियाली र माघ र फागुनमा फुल्ने तोरीखेती, लामो झोलुंगे पुलले पर्यटकको आगमन बढाएको स्थानीय बालकुमार कार्कीले बताए । यहाँबाट पर्यटकीयस्थल पञ्चकोटसहित बागलुङ र पर्वतका दर्जनौ बस्तीको दृष्यावलोकन गर्न सकिने कार्कीले बताए ।

रत्नेचौर गाउँको तोरीबारीमा रमाउन माघ र फागुनमा बागलुङ, पर्वत र बेनीलगायत क्षेत्रबाट आन्तरिक पर्यटक आउने गरेका छन् । रत्नेचौरदेखि बागलुङको कुडुले जोडने गरी निर्माण भएको नयाँ झोलुंगे पुलले थप आन्तरिक तथा बाह्य पर्यटक बढाएको छ । बेनी–बागलुङ सडकखण्डको बीचमा पर्ने रत्नेचौर बागलुङ, पर्वत र म्याग्दीको संगमको रूपमा चिनिन्छ ।

लामो झोलुंगे पुलले चिनिएको यस क्षेत्रमा पर्यटकको बसाइ लम्ब्याउने पूर्वाधार, सेवासुविधा थप र विकास निर्माणलाई रत्नेचौरबासी लागेका छन् । भारतका चर्चित गुरु अनन्तश्री विभूषित त्रिदण्डी श्रीमन्नारायाण स्वामिजीले रत्नेचौरमा रहेको परम बैद्धिक सनातन धार्मिक आश्रम श्री लक्ष्मीहरि नारायण मन्दिरमा मुक्तिनाथ दर्शन गरे फर्कने क्रममा दर्शन गरेका थिए ।

स्वामीजीको भ्रमणले मन्दिरको गरिमा बढ्नुका साथै पर्यटकीय क्षेत्रको रूपमा विकसित हुँदै गएको रत्नेचौरमा धार्मिक पर्यटक बढाउन सहयोग पुग्ने अपेक्षा लक्ष्मीनारायण मन्दिरका महासचिव कृष्णबहादुर बोगटीले गरेका छन् । करिब पाँच सय घरधुरी रहेको रत्नेचौरलाई कृषि र पर्यटनको हवको रूपमा विकसित गर्न मौलिक घरहरूको संरक्षण, होटल तथा रेस्टुराँ सुविधा विस्तार र स्थानीय कलासंस्कृति र मौलिकतालाई बचाई राख्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्