२८ प्रतिशत कम खर्चमा बन्यो कण्ठीपुर खानेपानी आयोजना «

२८ प्रतिशत कम खर्चमा बन्यो कण्ठीपुर खानेपानी आयोजना

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित आलानगर (कण्ठीपुर) खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । उक्त आयोजना इस्टिमेटभन्दा २८ प्रतिशत कम खर्चमा सम्पन्न भएको हो । नेपाल खानेपानी संस्थान शाखा कार्यालय नेपालगन्जद्वारा निर्मित आयोजनाको एक समारोहका खानेपानीमन्त्री अब्दुल खानले उदघाटन गरेका छन् ।

खानेपानी आयोजनाको उद्घाटन गर्दै मन्त्री खानले स्वच्छ खानेपानी खान पाउनु सबै नेपालीको मौलिक हक भएकाले सम्पूर्ण जनताको घरघरमा स्वच्छ खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताए । नेपालले सन् २०३० सम्म सम्पूर्ण नागरिकको पहुँचमा स्वच्छ खानेपानी उपलब्ध गराउने अन्तर्राष्ट्रिय सम्झौतामा हस्ताक्षर गरेको बताउँदै उनले सम्पूर्ण नागरिकलाई स्वच्छ खानेपानी पुर्‍याउने कार्यमा सम्बद्ध सबै निकाय सबैले आ–आफ्नो स्थानबाट पहल गर्न अनुरोध गरे ।

“सरकारी प्रतिबद्धता पूरा गर्नेगरी हामी लागेका छौं,” उनले भने, सबै निकायले सन २०३० सम्म सम्पूर्ण नागरिकको पहुँचमा स्वच्छ खानेपानी पुर्‍याउने गरी लाग्न म अनुरोध गर्दछु ।” खानेपानी मन्त्रालय सम्बद्ध संस्थाहरुले उत्पादन गर्ने पानी गुणस्तरीय पानी भएकाले सम्पूर्ण नागरिकलाई पानीको गुणस्तरीयतामा शंका नगर्न मन्त्री खानले आग्रह गरे । “निजी कम्पनीहरूले उत्पादन गरेको पानीभन्दा संस्थानले उपलब्ध गराउने पानी राम्रो भएकोले बिना हिच्किचाहट यो पानी पिउन आग्रह गर्दछु,” उनले भने ।

मन्त्रालयका सचिव मणिराम गेलालले सबै नेपालीले स्वच्छ पिउने पानी पाउन भनेर सरकारले ‘एक घर एक धारा’को अवधारणा ल्याएको बताए । उनले खानेपानीका योजना ल्याइसकेपछि त्यसलाई सम्पन्न गरी बिना कुनै सर्त सञ्चालन गर्न आफूहरू प्रतिबद्ध रहेको बताउँदै त्यसका लागि नेपाल खानेपानी संस्थानको क्षमता वृद्धिलगायत रिक्त रहेका दरबन्दी पूर्ति गर्न सरकार सकारात्मक भएको बताए ।

२०७८ असारदेखि सुरु भएको आयोजना २०७९ कात्तिक २८ गते सम्पन्न भएको थियो । कुल १२ करोड ८४ लाख ७१ हजार ९१६ रुपैयाँ लागत इस्टिमेट रहेको आयोजनामा नौ करोड १३ लाख २२ हजार २९४ रुपैयाँ अर्थात् कुल लागत स्टिमेटको २८ प्रतिशत कम खर्च भएको संस्थानका महाप्रबन्धक इश्वरप्रसादले बताए । कम समय र लागतमा गुणस्तरीय कार्य भएको उनको दाबी छ ।

आयोजनाअन्तर्गत करिब दुई करोडको लागतमा खानेपानी ट्याँकी निर्माण भएको छ भने ६ करोड ३७ लाखको लागतमा एचडीपीई पाइपलाइन विस्तार भएको उनले जानकारी दिए । त्यस्तै १२ लाख २२ हजार ३९४ को लागतमा विद्युतीकरण विस्तार, ११ लाख २६ हजार पम्प हाउस निर्माण, १३ लाख ८ हजारको अपरेटर हाउस निर्माण, ११ लाख २२ हजारको कम्पाउण्ड वाल निर्माण र २८ लाख १२ हजारको लागतमा वेल निर्माणलगायत कार्य भएको उनले जानकारी दिए ।

कम लागतमा समयमै आयोजना सम्पन्न गरेको भन्दै खानेपानीमन्त्री अब्दुल खानले निर्माण कम्पनीलाई धन्यवाद दिए । नेपालगन्जको आलानगर खानेपानी आयोजना समयमै सम्पन्न भएर देशभर सकारात्मक सन्देश गएको बताउँदै उनले देश आर्थिक संकटबाट गुज्रिरहेको अवस्थामा आयोजनाअन्तर्गत निर्माण भएका पाइप संरक्षण गर्न स्थानीयका साथै सम्बन्धित सबैमा अनुरोध गरे ।

नेपालगन्ज उपमहानगरपालिकाका २३ वडामध्ये १७ वडामा खानेपानी संस्थानद्वारा सेवा प्रदान भइरहेको छ भने दैनिक ९ देखि १० घण्टा पानी आपूर्ति भइरहेको छ । बाँकी ६ वटा वडामध्ये वडा नम्बर १९ मा आलानगर कण्ठीपुर आयोजना सम्पन्न भई उद्घाटन भएको संस्थानले जनाएको छ । उपमहानगरपालिकामा कुल एक लाख ३८ हजार ९५१ जनसंख्या रहेकोमा वडा नम्बर १९ मा जनसंख्याको ६ प्रतिशत अर्थात् ८ हजार ५१७ जनाले उक्त आयोजनाबाट पानी उपभोग गर्न पाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्