खाली बोरा ओढेर किसान आन्दोलित

सरकारले रासायनिक मलको खरिदमा किसानलाई दिँदै आएको अनुदान घटाएको भन्दै झापाका किसान आन्दोलित भएका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको गत फागुन २६ गतेको बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेपछि त्यसको विरोधमा झापाका किसानले खालि बोरा ओडेर राष्ट्रिय झण्डा र मकै तथा अन्य कृषि उपजका बोट लिएर आन्दोलनमा उत्रिएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला समिति झापाको आह्वानमा झापाका किसानले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाउने निणर्य फिर्ता गर्न माग गरेका छन् । कृषिप्रधान मुलुकका किसानको ढाड सेक्ने तथा आन्तरिक उत्पादनलाई समेत ह्रास गराई बाह्य निर्यातलाई बढवा दिने उद्देश्यसहित रासायनिक मलमा गरेको चर्को मूल्यवृद्धिको विषयमा कसैले पनि आवाज नउठाएकाले अआनदोलन सुरु गरेको राष्ट्रिय स्वतन्त्र पार्टी झापाका सभापति उमेश खरेलले जानकारी दिए ।
मुक्ति चोकमा भएको कोणसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शम्भु सुस्केरा ढकालले रासायनिक मलमा भएको मूल्यवृद्धि र अनुदान कटौतीले किसानको अवस्था दयनीय भएको बताउँदै निर्णय तत्काल फिर्ता गरी किसानहरुलाई थप राहातका कार्यक्रमहरु ल्याउन माग गरे ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सचिव प्रकाश पाठकले कृषिप्रधान देशमा किसानलाई सहुलियत दिनुको सट्टा किसानमारा नीति ल्याएर देशलाई मरुमूमिकरण बनाउने सरकारको कदम अविलम्ब फिर्ता लिएर किसानको हितमा काम गर्न आग्रह गरे । किसानमाथि गरिएको विभेदविरुद्ध पार्टीको झण्डाभन्दा पनि राष्ट्रिय झण्डा बोकेर सडकमा निस्केको उनले बताए ।