सभामुखको अभिव्यक्तिमा पत्रकार महासंघको आपत्ति «

सभामुखको अभिव्यक्तिमा पत्रकार महासंघको आपत्ति

नेपाल पत्रकार महासंघले सभामुख देवराज घिमिरेले दिएको अभिव्यक्तिप्रति विरोध जनाएको छ । संघीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानुनका विषयमा छलफल गर्ने र नवनिर्वाचित सभामुखलाई बधाई दिन शुक्रबार आयोजित कार्यक्रममा सभामुख घिमिरेले नेपाली सञ्चार क्षेत्रका बारेमा दिएको अभिव्यक्तिबाट समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको ठहर महासंघले गरेको छ ।

‘सार्वभौम संसद्को मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरित सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दुःखद् छ,’ महासंघले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा सभामुखको अभिव्यक्तिप्रति तत्काल महासंघको नेतृत्वले सभामुखको सचिवालयमार्फत ध्यानाकर्षण गराएको र सभामुखबाटै उक्त आधारहीन अभिव्यक्ति फिर्ताका लागि आग्रह गरेकामा सचिवालयबाट सामान्य प्रष्टीकरणबाहेक आधिकारिक धारणा आउन नसकेको उल्लेख छ ।

महासंघले आरोप पुष्टि गर्न वा आधारहीन आरोप फिर्ता लिई सञ्चार क्षेत्रको संवैधानिक अधिकार र स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्धता जनाउन सभामुखसमक्ष आग्रह गरेको छ । आधारहीन अभिव्यक्ति तत्काल फिर्ता नभए महासंघ कानुनीलगायत अन्य दबाबमूलक कार्यक्रम अगाडि बढाउन बाध्य हुने बताइएको छ ।

भनेका के थिए ?

सभामुख घिमिरेले पत्रकारहरू बिक्रीमा रहेको टिप्पणी गरेका थिए । शुक्रबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले आफूमा यस्तो मान्यता रहेको बताएका थिए ।

सभामुख घिमिरेले थर्काएर, किनेर, फकाएर बिग हाउसहरूले पत्रकारलाई प्रभावित पारिरहेको भन्दै त्यसबाट मुक्त हुन पनि आग्रह गरेका थिए । मुलुकमा पित पत्रकारिता निकै डरलाग्दो गरी देखा परेको सभामुख घिमिरेको बुझाइ छ । उनले पत्रकारहरूले जिम्मेवारीका साथ पत्रकारिता नगरेको जिकिर गर्दै त्यसको प्रभाव समाजमा परिरहेको तर्क गरेका थिए ।

सभामुखले भनेका थिए, ‘पत्रकारहरूले जिम्मेवारीसाथ पत्रकारिता गर्नुपथ्र्यो । अन्यथा नलिनुहोला । यो पत्रकार महासंघ हो, त्यो खालको छैन । पित पत्रकारिता अहिले पनि निकै डरलाग्दो गरी छ । जेजे कारणले भए पनि तिनीहरू प्रभावित छन् । अझ अर्को भन्ने हो भने त बिक्रीमा छन् पत्रकारहरू । संघ बिक्रीमा छ भन्यो सभामुखले भन्लान् कि भनेर मैले यसलाई रोकिरहनु पर्दैन र, त्यो भन्नु पनि हुँदैन तपाईंहरूले । किनकि यो त हाम्रो आफ्नो भित्री कुरा हो नि । त्यसको प्रभाव चाहिँ कुनै न कुनै रूपमा परिरहेको छ । बिग हाउसहरूले प्रभावित पारेको छ । थर्काएर गरेको छ, किनेर गरेको छ, फकाएर गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्