सूर्य नेपाल सेन्ट्रल ओपन गल्फमा शुक्रको अग्रता कायमै

सूर्य नेपाल गल्फ टुर २०२२/०२३ अन्तर्गतको पाँचौ प्रतियोगिता, सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन नेपाल नम्बर एक गल्फर शुक्रबहादुर राई शीर्षस्थानमा कायमै रहन सफल भएका छन् । ३–अण्डर ६९ मा तेस्रो दिनको खेल पूरा हुँदासमग्रमा २१ ऋण्डर १ सय ९५ को स्कोरका साथ उनी शीर्ष स्थानमा रहन सफल भए ।
उनले दोस्रो स्थानमा रहेका भुवन नगरकोटीलाई ६ स्ट्रोकले पछि पार्दै उपाधि रक्षा गर्ने सम्भावनालाई समेत बलियो बनाएका छन् । इभन–पार ७२ सहित समग्रमा १५–अण्डर २ सय १ सहित भुवन दोस्रो तथा युवा एमेच्योर खेलाडी सदभाव आचार्यले ८–अण्डर ६४ को उत्कृष्ट स्कोरमा समग्रमा ११ अण्डर २ सय ५ को स्कोरमा तेस्रो स्थानमा छन् ।
नेपाल नम्बर एक एमेच्योर खेलाडी सुबास तामाङ ६–अण्डर ६६ खेल्दै समग्रमा ७–अण्डर २ सय ९ मा चौथो स्थानमा छन् । यसैगरी जयराम श्रेष्ठले ३–अण्डर ६९ मा दिनको खेल पूरा गर्दा समग्रमा ४–अण्डर २ सय १२ को नतिजामा पाँचौ स्थानमा रहे । ३–अण्डर ६९ खेलेका शिवराम पौडेल समग्रमा १–अण्डर २ सय १५ मा छैटौं स्थानमा छन् ।
प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सूर्य नेपाल प्रा लिको प्रायोजनमा जारी प्रतियोगितामा समग्रमा इभन–पार २ सय १६ को स्कोरमा सञ्जय लामा र निरज तामाङले संयुक्तरुपमा सातौं स्थान बाँडे । टंकबहादुर कार्की समग्रमा २–ओभर २ सय १८ सहित नवौं स्थानमा र कूल ४–ओभर २ सय २० सहित दिनेश प्रजापति क्रमश नवौं र दशौं स्थानमा छन् । दुवैले आज इभन–पार ७२ मा खेल पूरा गरे ।
अघिल्लो दिन ११–अण्डर ६१ को नयाँ कोर्ष रेकर्ड कायम गरेका शुक्रले बिहीबार फ्रन्ट नाइन २–अण्डर ३४ मा खेल पूरा गरे । उनले तेस्रो र सातौं होलमा बर्डी प्रहार गरे । यसपछि ११औं होलमा बोगी खेपे पनि १०औं र १२औं होलमा एक–एक सट बचाउँदै ब्याक नाइन १–अण्डर ३५ मा पूरा गरे । पहिलो दिन ७–अण्डर, दोस्रो दिन ११–अण्डर र तेस्रो दिन ३–अण्डरको लोभलाग्दो नतिजामा शुक्रले उपाधि रक्षा गर्ने सम्भावनालाई बलियो बनाएका छन् ।
अन्तिम १८ होलको खेल बाकी छदा उनले ६ स्ट्रोकको स्पष्ट अग्रता बनाइसकेका छन् । पहिलो र दोस्रो दिन अण्डर–पार खेलेका भुवनले बिहीबार फ्रन्ट र ब्याक नाइन दवबैमा इभन–पार ३६ खेले । तेस्रो होलमा एक सट बचाए पनि चार–पारको चौंथो होलमा डबल बोगी खेपे । सातौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन पूरा गरे । यसपछि १०औं र १४ औं होलमा बोगीको सामना गरे भने ११औं र १७औं होलमा बर्डी खेले ।
राष्ट्रिय टिमका सदस्य युवा गल्फर सदभाव आचार्यले ८–अण्डर ६४ को दिनकै उत्कृष्ट स्कोर कार्ड बनाउने क्रममा फ्रन्ट नाइनमा ४–अण्डर ३२ खेले। उनले तेस्रो, चौथो, छैटौं र सातौं होलमा बर्डीको सफलता प्राप्त गरे। बोगीरहित खेल्ने क्रममा सदभावले ब्याक नाइन पनि ४–अण्डर ३२ मा खेल पूरा गरे । उनले १०औंदेखि १२औं होलसम्म लगातार तीन र १७ औं होलमा एक बर्डी प्रहार गरे । ८–अण्डरको स्कोर सदभावको करियरकै उत्कृष्ट प्रदर्शन हो ।
नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवासले पनि बोगीरहित ६–अण्डरको कार्ड बनाउने क्रममा फ्रन्ट नाइन र ब्याक नाइन समान ३–अण्डर ३३ मा पूरा गरे । उनले तेस्रो छैटौ, सातौ, १२औं, १३औं र १४औं होलमा एक–एक सट बचाए । कुल ८ लाख नगद पुरस्कार राशीको प्रतियोगितामा ३१ प्रोफेसनल र ९ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।