कालिकोट अस्पतालको सेवा बन्द

जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख डा. कौशल अलीलाई नेकपा माओवादीका कार्यकर्ताले कालो मोसो दलेर दुव्र्यवहार गरेको विरोधमा कालिकोटका स्वास्थ्यकर्मी आन्दोलित छन् । शुक्रबार रास्कोट पूर्ण खोपयुक्त नगरपालिका घोषणा समारोहमा सहभागी हुन गएका अलीलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कालोमोसो दलेर दुव्र्यवहार गरेको विरोधमा सोमबारदेखि जिल्ला अस्पताल लगायत सबै स्वास्थ्य संस्थामा इमरजेन्सी बाहेकका सेवा बन्द गरेका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालयले एक प्रेस विज्ञप्ती सार्वजनिक गरी आइतबार सबै स्वास्थ्यकर्मीले हातमा कालो पट्टी बाँधेर सेवा दिनुका साथै सोमबारदेखि ईमरजेन्सी बाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द गरेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका डा. टंक आचार्यले सोमबारदेखि जिल्ला स्वास्थ्य कार्यालय तथा जिल्लाका सबै स्वास्थ्य संस्थामा इमरजेन्सी बाहेकका सबै सेवा बन्द गरिएको बताए ।
जिल्ला अस्पताल तथा अन्य ग्रामीणस्तरका स्वास्थ्य संस्थामा इमरजेन्सी बाहेकका सबै सेवा बन्द भएपछि नागरिकलाई सास्ती भएको छ । जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि गएका सेवाग्राही उपचार नपाएर घर फर्किन थालेको बताइएको छ ।
यसैबीच, डाक्टरहरुको लापरबाहीका कारण चन्द्रा शाहीको ज्यान गएको भन्दै शाहीका आफन्तहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । डा. कौशल अलि र महेश्वर गोसाईलाई कारबाहीको माग गर्दै मृतक चन्द्रा शाहीका श्रीमान् शुक्रदिप शाहीले प्रशासनमा ज्ञापनपत्र बुझाएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी मनीलाल ऐडी (रणदिप)ले भने आफूहरुले नै जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. कौशल अलीलाई जनकारबाही गरेको बताएका छन् । डा. अलीकै कार्यकालमा सुत्केरी महिलालाई गलत अप्रेसनका कारण चन्दा शाहलगायत तीन महिलाको अकालमा ज्यान लिएको, जनताले अस्वीकार गर्दा पनि जिल्लामा पुनः हाजिरी भएको, पोष्टमार्टम तथा केस फारम भर्दा सेवाग्राहीबाट घूस लिने गरेको आरोप उनले लगाए ।