मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्सको अडिसन शनिबारदेखि काठमाडौंमा

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’ को फिल्ड अडिसन यहि चैत ४ र ५ गते काठमाडौंमा हुने भएको छ । अडिसन दिन आउँदा प्रतियोगीहरुले आफ्नो उमेर खुलाएको आधिकारिक कागज साथमा राख्नुपर्ने आयोजकले जनाएको छ ।
फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीहरुले काठमाडौंमा आएर स्टुडियो अडिसनमा सहभागी हुन पाउने बताइएको छ । डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगीले पनि अनिवार्य रुपमा फिल्ड अडिसनमा सहभागी जनाउनु पर्नेछ । ‘मेरो भ्वाइस यूनिभर्स’को निर्णायकमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान छन् ।
त्यस्तै ‘मेरो डान्स यूनिभर्स’ को निर्णायकमा मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बिसी, केकी अधिकारी, प्रियंका कार्की, र नरमन राई रहेको आयोजकको भनाइ छ । फाउन्डेसनका अनुसार ‘मेरो भ्वाइस यूनिभर्स’ का विजेताले एक करोड रुपैयाँ पुरस्कार पाउने छन् । साथै फस्ट रनरअपले ३० लाख र सेकेण्ड रनरअपले २० लाख पाउने आयोजकको भनाइ छ ।
यस्तै, ‘मेरो डान्स यूनिभर्स’ का विजेतालाई पनि एक करोड रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने फस्ट रनरअपले ३० लाख र सेकेण्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै डान्स यूनिभर्स’को सांस्कृतिक समुह विधाका विजेताले पनि २० लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
उक्त विधाका फस्ट रनरअपले १० लाख र सेकेण्ड रनरअपले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । नेपालबाहेक, म्यानमार, थाइल्याण्ड, भुटान, भारत, अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायत युरेपेली देशहरुबाट पनि नेपाली भाषीहरुको सहभागिताको अपेक्षा राखेको फाउन्डेसनले जनाएको छ ।