डोल्पा अस्पतालको पीडा : सडक र पुल नहुँदा बिरामीलाई सकस
जिल्ला अस्पताल डोल्पामा दुईवटा एम्बुलेन्स छन्, तर अस्पतालसम्म जान र आउन भने पाउँदैनन् । अस्पतालको बीचमा भेरी नदी र सडक नहुँदा एम्बुलेन्स भेरी नदी पारिपट्टि थन्क्याउनु पर्ने बाध्यता छ । दुईमध्ये एक एम्बुलेन्स वर्ष दिन अघिदेखि सञ्चालनमा छैन । अर्को एम्बुलेन्सले भेरी नदी पारिपट्टिसम्म मात्र सेवा दिने गर्दछ ।
झण्डै एक किलोमिटर टाढाको दूरीमा एम्बुलेन्सबाट बिरामी झारेर स्ट्रेचरको माध्यमबाट बिरामीलाई अस्पतालसम्म लैजाने र ल्याउने गरिन्छ । स्ट्रेचरमा राखेर बिरामी लैजान र ल्याउनसमेत साँघुरो बाटो भएकाले सधैँ मुस्किल हुने गरेको ठूलीभेरीका नवराज थापाले बताए । अस्पतालबाट बाहिर लैजानका लागि सिफारिस गरिएका बिरामीलाई समेत एम्बुलेन्ससम्म पुर्याउन समस्या हुँदै आएको छ ।
कतिपय गर्भवतीलाई अस्पतालसम्म ल्याउँदाल्याउँदै बाटोमै सुत्केरीसमेत हुने गरेको डाक्टर सुस्मिता जोसीले बताइन् । अस्पतालमा बिरामी लैजान र ल्याउन भेरी नदी बाधक देखिएको छ । भेरी नदीमा पुल निर्माण नहुँदा एक किलोमिटर लामो बाटो प्रयोग गरेर स्ट्रेचरको भरमा मुस्किलले अस्पतालसम्म बिरामी पुर्याउने गरिएको डाक्टर जोसीले बताइन् ।
अहिले झोलुंगे पुलको सहारामा बिरामी तथा यहाँका सर्वसाधारण वल्लो दुनैबाट पल्लो दुनै जाने र आउने गरेका छन् । “साँघुरो बाटो एक किलोमिटर हिँडेर अस्पतालसम्म जान र आउन निकै समस्या हुने गरेको छ, हामी समस्या समाधानका लागि प्रयास जारी राखेका छौँ,” अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमल शाहीले भने । २५ शैयाको नयाँ अस्पतालको निर्माणकार्य जारी छ ।
अस्पताल निर्माणका लागि आवश्यक सामग्री लिनसमेत समस्या हुँदै आएको अस्पताल स्रोत बताउँछ । बिरामी मात्र होइन, अस्पतालका आवश्यक उपकरणदेखि अन्य सामग्री लिनसमेत समस्या छ । स्वास्थ्य सेवा कार्यालय वाल्लो दुनैमा छ भने अस्पताल पल्लो दुनैमा छ । कर्मचारी तथा स्वास्थ्यकर्मीलाई जान र आउनमात्र आधा घण्टा लाग्छ । अहिले स्वास्थ्य सेवा कार्यालयको मातहतमा जिल्ला अस्पताल छ ।
भेरी करिडोरभित्र दुई वर्षअघि मात्र डोल्पाको सदरमुकाम दुनै सडक सञ्जालसँग जोडिएको थियो । डोल्पा सबैभन्दा ठूलो जिल्ला हो । ठूलीभेरी, त्रिपुरासुन्दरी नगरपालिकाबाट ल्याइएका बिरामीले सबैभन्दा बढी सास्ती भोग्दै आएका छन् । भेरी नदीको बीचमा पार्क बनाउने भन्दै करोड रकम खर्चिएको पाइन्छ तर त्यहाँ पार्क नै बनाइएको छैन ।
त्यस्तै तिब्ला सडक लिने भन्दै दुनै बजार नै जोखिममा पर्ने गरी पहाड खोलिँदै छ तर अस्पताल जाने र आउने सडक निर्माणतर्फ कसैको पनि ध्यान नगएको भन्दै सर्वसाधारण आक्रोषित छन् । भेरी पारि जिल्ला कारागार, अस्पताल, सामाजिक विकास कार्यालय र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जलगायतका आधा दर्जन कार्यालय रहेका छन् ।