चर्को ब्याजदरको मारमा पोखराका अटो व्यवसायी

पोखराका अटो व्यवसायी पनि बैंक तथा वित्तीय क्षेत्रबाटै प्रभावित भएका छन् । नेपाल राष्ट्रय बैंक, नेपाल सरकारको नियमका कारण हाल भएको आर्थिक संकटको मार अटो क्षेत्रमा पनि भएको व्यवसायीले बताएका हुन् ।
कोभिड–१९, युवा शक्ति बाहिरिनु, जनताको आम्दानीको श्रोत कम हुनुलगायतका कारणले अटो व्यवसाय पनि नराम्रोसँग प्रभावित भई केहीले कर्मचारी घटाउनुपर्ने अवस्था रहेको छ भने केहीले सोरुमहरु बन्द गर्ने अवस्थामा पुगेका छन् । पोखरा क्षेत्रका विभिन्न अटो व्यवसायीले बैंकहरुको ब्याजदर हाल दोब्बरले वृद्धि हुँदा व्यवसाय बन्द हुने अवस्थामा पुगेको बताएका छन् । उनीहरुले कम्तिमा केही एक अंकमा ब्याज दर घटाउन माग गरेका छन् ।
पश्चिमाञ्चल अटो मोवाइल डिलर्स एशोसियसनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बजारको अवस्था नाजुक भएको उल्लेख गर्दै अटो व्यवसाय अहिलेको अवस्थामा टिक्नै कठिन भएको गुनासो गरे । विगतको करिब ६ महिना जेनतेन गरी धानेको अवस्थामा अझै पर्ख र हेरको अवस्थामा व्यवसायीहरु रहेको उनले बताए । पोखरामा सुजुकी कम्पनीले मासिक ३० वटासम्म गाडी बिक्री गर्ने गरे पनि पछिल्लो समयमा मुस्किलले ५ वटा मात्र बिक्री हुने गरेको अध्यक्ष श्रेष्ठले बताए ।
सुजुकी, किया, हुण्डाई, निसानलगायतका कम्पनीका गाडीहरु पोखरामा बढी बिक्री हुने भएपनि हाल विभिन्न कारणले गर्दा अघिल्ला वर्षको तुलनामा करिब २० प्रतिशत मात्र सवारी साधनहरु खरिद बिक्री हुने गरेको उनले जनाए । जावा मोटरसाइकलको सोरुम समेत सञ्चालन गर्दै आएका अध्यक्ष श्रेष्ठले अटो क्षेत्रको व्यवसाय करिब ८० प्रतिशतले गिरावट आएको जनाए ।
विकास बैंकहरुले १२/१३ प्रतिशतमा डिपोजिटमा माग गरेको आधारमा वेसरेट ४/५ राख्दा १६/१७ प्रतिशतमा ऋण लियर व्यवसायीहरुले अटो क्षेत्रमा लगानी गर्न नसक्ने अवस्था रहेको अध्यक्ष श्रेष्ठले बताए । केही समय अघि ७/८ प्रतिशतमा कर्जा लिएको अवस्थामा हाल दोब्बर भन्दा पनि बढी हुँदा ब्याजदरको सन्तुलन राख्न नसक्ने अवस्थाले गर्दा अटो व्यवसाय प्रभावित भएको उनले बताए ।
नेपालभरी हालसम्म ६० वटा सोरुमहरु बन्द नै भएको दाबी गर्दै अध्यक्ष श्रेष्ठले सरकारले यसलाई नजरअन्दार गरेर बैंकको व्याजदर घटाउनतर्फ ध्यान नदिएमा ६ महिनामा थप ६० भन्दा बढी सोरुम बन्द हुने तर्क गरे । सरकारको विकास बजेटसमेत समयमै खर्च हुन नसक्दा पनि त्यसबाट आम जनताको आर्थिक स्थिति कमजोर भएको उनले जनाए ।
यसैबीच, पश्चिमाञ्चल अटो मोवाइल डिलर्स एशोसियसनका पूर्वअध्यक्ष मोहनबाबु खड्काले आर्थिक समस्या र यसबाट उत्पन्न भएको तरलता अभावले अटो क्षेत्र बढी प्रभावित भएको बताए । सोरुम खर्च बढाउँदै गएको अवस्थामा विभिन्न कम्पनीले अब बन्द गर्न थालेको बताउँदै उनले सोरुममा काम गर्ने कामदार घटाउनेदेखि अतिरिक्त खर्च कटौतीतर्फ केन्द्रित भएको बताए ।
देशका अधिकांश क्षेत्र आर्थिक रुपमा कमजोर भएको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुले कम मुनाफ हुनेगरी काम गर्न उनले आग्रह गरे । पोखरा केही क्षेत्र बुद्धचोक, नयाँबजारलगायतका स्थानमा सोरुमका केही कम्पनीले भाडाको सोरुम हटाउँदै सटर खाली गरेको र बिक्रीका लागि सूचना टाँसेका छन् ।