फागुनमा दुई अर्ब वैदेशिक लगानी प्रतिवद्धता «

फागुनमा दुई अर्ब वैदेशिक लगानी प्रतिवद्धता

प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)का क्षेत्रमा चालू आर्थिक वर्षको सुरुवातदेखि उतारचढाव देखिएको छ । अघिल्लो महिना (माघ) मा स्वात्तै घटेको वैदेशिक लगानी प्रतिवद्धतामा फागुनमा भने केही सुधार देखिएको छ । उद्योग विभागका अनुसार माघको तुलनामा फागुन महिनामा करिब २८ प्रतिशत बढी वैदेशिक लगानी स्वीकृत भएको छ । यद्दपि, अघिल्लो वर्षको फागुनको तुलनामा यस वर्ष लगानी प्रतिवद्धता घटेको देखिन्छ ।

विभागका अनुसार फागुनमा करिब २ अर्ब लगानी स्वीकृत भएको छ । अघिल्लो महिना १ अर्ब ३९ करोड ६ लाख ५५ हजार विदेशी लगानी स्वीकृत गरेको विभागले फागुनमा भने १ अर्ब ९२ करोड ९० लाख वैदेशिक लगानी स्वीकृत गरेको छ । यसरी पछिल्लो एक महिनामै ५३ करोड ८३ लाख ४५ हजार अर्थात २७.९ प्रतिशतले लगानी बढेको तथ्यांक छ ।

विभागको तथ्यांकअनुसार पुसमा यस वर्षकै सबैभन्दा बढी ४ अर्ब ८५ करोड २० लाख ८० हजार रुपैयाँ बराबरको लगानी स्वीकृत भएको थियो । अघिल्लो वर्षको फागुनमा भने २ अर्ब २ करोड ३९ लाख रुपैयाँ बराबरको लगानी स्वीकृत भएको थियो । यससँगै चालू आवको आठ महिना अर्थात फागुनसम्म २० अर्ब ५६ करोड २३ हजार ७०४ रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको छ ।

गत आर्थिक वर्ष (२०७८/०७९) ५४ अर्ब १५ करोड रूपैयाँ प्रतिवद्धता आएको थियो भने अघिल्लो वर्ष (२०७७/०७८) मा ३२ अर्ब ७ करोड रूपैयाँ लगानी प्रतिवद्धता रहेको थियो । फागुनमा स्वीकृत भएका वैदेशिक लगानीका १५ परियोजनामध्ये १३ वटा साना रहेका छन् । सरकारले वैदेशिक लगानीको न्यूनतम सीमा घटाएर २ करोडमा सीमित गरेसँगै यस्ता प्रकृतिका परियोजना स्वीकृत गराउने क्रम बढेको छ ।

यो महिनामा मझौला र ठूला परियोजना भने एक/एउटा मात्र स्वीकृत भएको छ । यसरी तथ्यांक हेर्दा फागुनमा पनि वैदेशिक लगानीको क्षेत्रमा सुधार आउन नसकेको विभागका महानिर्देशक रामचन्द्र तिवारी बताउँछन् । उनका अनुसार वैदेशिक लगानीमा उल्लेख्य सुधार हुन नसक्नुको मुख्य कारण अन्तरिक भन्दा बाह्य नै रहेको देखिन्छ ।

रसिया–युक्रेन युद्धपछि विश्वव्यापी रुपमै वैदेशिक लगानीको क्षेत्र प्रभावित बनेको उनको भनाइ छ । क्षेत्रगत आधारमा फागुनमा सबैभन्दा बढी लगानी स्वीकृति पर्यटन क्षेत्रको ७४.६० प्रतिशत रहेको छ भने यसपछि क्रमशः सेवा क्षेत्र, उत्पादनमूलक क्षेत्र र पूर्वाधार क्षेत्रको रहेको छ । यो महिनामा ऊर्जा, कृषि, सूचना प्रविधि र खानीजन्य क्षेत्रमा कुनै लगानी स्वीकृत भएको छैन ।

विभागका अनुसार हालसम्म मुलुकमा ४ खर्ब ३९ अर्ब ८२ करोड ९४ लाख रुपैयाँ बराबर वैदेशिक लगानीका ५ हजार ६९२ परियोजना स्वीकृत भएका छन् । जसबाट ३ लाख १ हजार ५९८ रोजगारी सिर्जना गर्ने भनिए पनि प्रभावकारी नियमन र अनुगमनको अभावमा प्रतिवद्धता अनुसार लगानी भित्रन सकेको छैन भने रोजगारी पनि सिर्जना भएको छैन ।

विभागले गत वर्ष गरेको अध्ययनअनुसार प्रतिवद्धताको एक तिहाईमात्र लगानी भित्रने गरेको अवस्था छ । विभागले फागुनमा १२३ लगानीकर्तासहित २९ प्रतिनिधि र ७५ जना आश्रित व्यक्तिका लागि व्यावसायिक भिसा सिफारिस गरेको छ । यसरी फागुनसम्म १ हजार ६९ व्यवसायीले यस्तो भिसा लिइसकेका छन् भने १५० प्रतिनिधि र ३९२ आश्रित व्यक्तिले पनि भिसा सिफारिस पाएका छन् ।

आठ महिनामा साढे १३ अर्ब लाभांश फिर्ता

नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ताले चालू आर्थिक वर्षको फागुनसम्म करिब साढे १३ अर्ब रुपैयाँ लाभांशवापत फिर्ता लगेका छन् । विभागका अनुसार उनीहरुले आठ महिना अवधिमा १३ अर्ब ४५ करोड ९८ लाख ७८ हजार ३२४ रुपैयाँ लाभांश लगेका छन् । फागुनमा मात्र उनीहरुले २८ करोड ८१ लाख ८ हजार ३०३ रुपैयाँ लाभांश लगेको विभागको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्