हिमालको सान बचाउने चुनौती

हालै सोलुखुम्बु जिल्लामा अवस्थित संसारकै लगभग सबैभन्दा अग्लो ठाउँ खुम्जुङमा त्यहाँकी एक जना महिला जनप्रतिनिधिले स्थानीय गाउँपालिकाको सहयोग र समन्वयमा १ सय १२ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउने क्रममा अहिलेका हाम्रा सांसदहरूमा पहिलोचोटि मुलुकको ह्रासोन्मुख पर्यापर्यटनबारे चर्चाको विषयलाई अघि सार्दै कृषि र जनस्वास्थ्यप्रति पनि चासो देखाउने काम गरिन् ।
नेपाली नारीहरूको सन्दर्भमा समाजमा व्याप्त नारीप्रति विभेदको भावना र त्यसबाट उत्पन्न अन्य अनेक हिंसाजन्य कथाहरूको पुनरावृत्ति हुनु स्वाभाविकै हो । तर, सोलुखुम्बुका नारीहरूको अदम्य साहस र सामाजिक, आर्थिक र अबका दिनमा आएर उनीहरूको राजनीतिक दृष्टिकोण पनि तीक्ष्ण बन्दै गइरहेको देखिन्छ । यो स्तुत्य छ । नेपालको पर्यटनलाई अघि बढाउने श्रेय गत ६० को दशकमा नेपाल आएर रमाउने पश्चिमी हिप्पी वर्गलाई नै जान्छ ।
त्यस बेलासम्मका पर्यटकीय गतिविधिहरू बिल्कुलै न्यून देखिन्छन्, यद्यपि विश्वकै पर्यटनको मानचित्रमा नेपाललाई अब्बल स्थानमा पुर्याउने अर्को श्रेय खुम्बुवासीलाई र सँगसँगै खुम्बुवासीहरूका प्रिय साहेब सर एडमन्ड हिलारीलाई नै जान्छ । त्यहाँका भूमि सन्तानहरूको सुखदुःख र मानवीय वेदना र संवेदनशीलतालाई युवा उपन्यासकार नयनराज पाण्डेले आफ्नो लोकप्रिय उपन्यास ‘सल्लीपिर’मा यथार्थपरक र हृदयस्पर्शी ढंगले प्रस्तुत गरेका छन् । जे होस्, हाम्रो यस आलेखको उद्देश्य नेपालको पर्यटन क्षेत्रमा पर्यावरणको विद्यमान वर्तमान अवस्थालाई केलाउने रहेको छ ।
हिप्पीहरूको नेपालप्रतिको आकर्षण मुख्यतः यहाँको शान्तिपूर्ण वातावरण नै थियो । आधुनिकता र भौतिकवाददेखि टाढा रहेर जीवनलाई सहज रूपमा स्वतन्त्र ढंगले व्यतीत गर्न उनीहरूले नेपालका मठमन्दिर र विशेष गरी गुम्बाछेउछाउका ठाउँ रोजे, जसमा स्वयम्भूनाथ र बौद्धका स्तूप तथा पशुपतिनाथको क्षेत्र मृगस्थली थियो । तर, ती खर्च कम गर्ने र अरू मस्तीमा लीन रहने प्रवृत्तिका भएकाले तिनलाई यहाँका गाँजा व्यापारीबाहेक अन्य व्यवसायीहरूले तथा जिम्मेवार नागरिकले त्यति रुचाएनन् र ती बिस्तारै भारततर्फ फर्किए ।
अब रह्यो, नेपालको साहसिक पर्यटन, विशेष गरी आरोहण र पदयात्रा रुचाउने पश्चिमा पर्यटकहरूबारेको एउटा संक्षिप्त नालीबेली । तत्कालीन श्री ३ को निम्तोमा बेलायतबाट सिकार खेल्न धेरै नै अंग्रेज मूलका व्यक्तित्वहरू नेपाल आए, घुमे, सिकार खेले र गए । त्यसै क्रममा बिस्तारै विदेशी पर्वतारोहीहरू समूहमा पर्वतारोहणका लागि हिमालतर्फ जान थाले र हिमाच्छादित पर्वतराजहरूले मुलुकको आर्थिक गतिविधि उकास्ने क्रमलाई निरन्तरता दिँदै गए ।
विदेशी समूहहरूको धेरै प्रयासका बाबजुद पनि सन् १९५३, मे २९ सम्म विश्वको सर्वोच्च शिखर सगरमाथामा (अंग्रेजीमा माउन्ट एभरेस्ट र हिमाली भेग र त्यसपारिको भाषामा चोमोलुङ्मा) मानव पाइला पुग्न सकेको थिएन । सन् १९२२ तिर सगरमाथा आरोहणका क्रममा सात जना शेर्पाले हिमपहिरोको सिकार बनेर मृत्युवरण गर्नुपरेको थियो । ब्रिटिस आरोही मेलोरीका कथा पनि पढ्न त पाइन्छ, तर उनीबारे यथार्थ खुलिनसकेको हुनाले त्यता नजाऊँ ।
सन् १९५३ मा नेपालका तेन्जिङ नोर्गे र न्युजिल्यान्डका सर एडमन्ड पर्सिभल हिलारीले सफलतापूर्वक सगरमाथा आरोहण गरे र नेपालको पहिचान विश्वसामु अझै राम्रोसँग फैलियो । त्यस बेलासम्म नेपाल विदेशीहरूका लागि खुला भइसकेको थियो र विदेशीहरू पर्यटकका रूपमा फाट्टफुट्ट भारत हुँदै नेपाल आउन थालेका थिए । सन् १९६० को एउटा अभिलेखअनुसार सन् ६० मा झन्डै ६८ हजार पर्यटक नेपाल आएको बुझिन्छ । ७० को दशकको पूर्वाद्र्धतिर पर्यटनको नियमनका लागि मन्त्रालय बन्यो । बिस्तारै पर्यटकहरूको नेपाल आगमनलाई हेर्दा सन् २०१९ मा ११ लाख ९७ हजार १ सय ९१ पर्यटक नेपाल आए र त्यो अहिलेसम्मकै सबैभन्दा ठूलो आँकडा हो ।
सन् ८० र ९० को दशक अस्थिर सरकार, चक्काजाम–हड्ताल र विभिन्न प्राकृतिक प्रकोपहरूका कारण पर्यटनले रुग्णता भोग्नुप¥यो । त्यसपछि पनि दसवर्षे द्वन्द्वकालले पर्यटनलाई उकासिन दिएन । मुलुक शान्ति प्रक्रियामा गइसकेपछि आशाका धेरै उज्याला किरण देखिए, तर सन् २०१५ को विनाशकारी महाभूकम्प र लगत्तै विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाले त मुलुकलाई शिथिल नै बनायो । यस वर्ष फेरि पर्यटनको बादलमा चाँदीका घेरा देखिन थालेको छ । गत जनवरीमा मात्रै ५५ हजार ७४ र फेब्रुअरीमा ७३ हजार २ सय ५५ पर्यटक नेपाल आएका छन् ।
यस वर्ष अन्यथा अरू केही नभए हाम्रो पर्यटन आगमनको आँकडाले अनुमानतः सन् २०१९ को आँकडा नाघ्ला कि भन्ने आशा गरिएको छ । हालै एउटा समाचार सुन्न पाइयो । सर्वोच्च शिखर चढ्नेहरूको संख्याले १३ हजार नाघ्यो रे । राजस्वका हिसाबले मुलुकलाई अवश्य लाभ भएको होला, हुनु पनि पर्छ । हिमालबाट उठेको रोयल्टी रकम स्थानीय पालिकाहरूलाई पर्यटन विकास गर्न दिइने सरकारी व्यवस्थाको पंक्तिकार स्वयं प्रसंशक हो । सगरमाथा आरोहणसम्बन्धी कतिपय रोचक तथ्य पाठकसमक्ष राख्ने अनुमति चाहन्छु ।
सन् १९७५ को मे ६ मा जापानी महिला आरोही जुन्को ताबेईले सगरमाथाको सफल आरोहण गरिसकेपछि सन् १९७८ मा अस्ट्रियाका पिटर हाब्लर र इटालीका रेन्होल्ड मेस्नर बिना अक्सिजन सर्वोच्च हिमचुचुरोमा टेक्न सफल भए । रमाइलो प्रसंग त के भने सन् १९८० मा पोल्यान्डका बेई लिक्कीले सन् १९९० को अक्टुबर ७ मा स्लोभानियाका जुगल जोडीसँगसँगै सगरमाथा चुमे । त्यसै दिन जिन नोयल रोस् (बुबा) र उनको १७ वर्षे छोरो रोस बर्टान्डले सँगसँगै आफ्नो सगरमाथा आरोहण पूरा गरे । सन् १९९२ मा एउटै परिवारका दाजुभाइले र सन् १९९३ मा नेपालकी पहिलो राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाले ।
सन् १९९८ मा अमेरिकाबाट आएका पहिलो अशक्त आरोही थोमस हिटवेकरले, १९९९ मा नेपाली बाबुछिरी शेर्पाले १६ घण्टा ५६ मिनेटमा सगरमाथा चढेर रेकर्ड बनाए । सन् २००० मा (२१ औँ शताब्दीकी पहिलो नेपाली महिला लाक्पा शेर्पाको सफल आरोहण पनि ऐतिहासिक नै हो । सन् २००१ मा दृष्टिविहीन विदेशी वैहन मेयर र नेपालकै १६ वर्षे कान्छा आरोही टेम्बा छिरिङको उपलब्धिलाई पनि बिर्सन सकिन्न । सन् २००२ मा तेस्रो नेपाली महिला आरोही पेम्बा डोल्मा शेर्पा र २००३ मा पत्रकार आङ छिरिङ शेर्पाले सगरमाथा चढेको पनि उल्लेख्य छ ।
त्यसै वर्ष लाक्पा गेलु शेर्पाले छोटो अवधिभित्रै सगरमाथा चढेर रेकर्ड कायम गरे । त्यसै वर्ष नेपाली तीन भाइ लाक्पा गेलु, दा. नुरु र जाङ्बु शेर्पाले माइनस कीर्तिमान कायम गरे । सन् २००४ मा पहिलाका सबै रेकर्ड तोड्दै पेम्बा दोर्जे शेर्पाले ८ घण्टा १० मिनेटमै सर्वोच्च शिखरमा टेक्न सफल भए । २००५ मा मोनी मुलेपति र प्रेम दोर्जेले सँगसँगै सगरमाथा चढेर त्यहीँ वैवाहिक बन्धनमा बाँधिए । अर्को रोचक कीर्तिमान माइनस ४० डिग्री सेन्टिग्रेडमा सगरमाथाको चुचुरोमा पुगेर माथिल्लो हरका लुगा फुकालेर तीन मिनेट त्यहीं बसेका थिए २५ वर्षे लाक्पा थार्के शेर्पा ।
सरमाथाको चुचुरोमा पुस्तक विमोचनको प्रसंग पनि उल्लेख्य छ । सन् २००७ मा अप्पा शेर्पा र लाक्पा शेर्पाले ‘सगरमाथाको आधार शिविरबाट’ र त्यसै वर्ष कामी शेर्पा, सोनाम शेर्पा, लाक्पा ग्याल्जे शेर्पा र दा छाम्बाले ‘सेती पानी काली पानी’ पुस्तकको विमोचन गरेका थिए । दुवै पुस्तकका लेखक प्रतीक ढकाल हुन् । त्यसै वर्ष पेमा थार्के शेर्पा (बुरा), पेमा बुकी शेर्पा (आमा) र आफ्ना सातवटै छोरासहित विश्वको सर्वोच्च शिखर चढेर कीर्तिमान कमाए । त्यसपछिका पनि धेरै रोचक प्रसंगहरू छन्, सोबारे पछि विस्तार गरौंला ।
जापानी महिला जुन्को ताबेईपछि सन् २०१९ सम्म देशविदेशका गरी ४ सय ७१ महिला र ६ हजार ५ सय ७ पुरुषले सगरमाथामा पाइला टेकेको इतिहास छ । सन् २००८ मै नेपाली ७७ वर्षे मीनबहादुर शेरचनको सफल आरोहण र त्यसै वर्ष अप्पा शेर्पाले १८ औं चोटि सफल आरोहण गरेको पनि उल्लेख्य छ । २००८ मेमै महिला समूहको सामूहिक सफल आरोहण, त्यसै वर्ष २२ मेकै दिन एकैचोटि १ सय ३५ जनाको उफ्फाले सगरमाथा चढेको थियो र त्यसै वर्ष त्यसै दिन अप्पा शेर्पाले १९ औं चोटि २०१० मा, बीसौं २०११ मा, एक्काइसौं चोटि कामीरिता शेर्पाले २०१८ र २०१९ मा गरेर आफ्नो २४ औं आरोहण पूरा गरेका थिए । सन् २०११ मा सचिव लीलामणि पौडेल नेतृत्वको सगरमाथा आरोहण दलको उपलब्धि पनि स्मरणीय छ । नेपालकै निर्मल पुर्जाले ६ वर्ष ६ महिनामा ८ हजार मिटरभन्दा माथिका १४ वटै शिखर चढ्न सफल भएको सन्दर्भ अत्यन्तै महत्वपूर्ण छ ।
देशको पर्यटन वर्तमान अपेक्षा गरिएअनुसार गतिशील छैन । नेपालको पर्यटनलाई प्रकृतिको पुरातन पछ्यौरीभित्र पनि मौलिक रूपमा फस्टाउन दिनुपर्छ । आकर्षण त्यहीँ छ । जैविक विविधतामा अद्वितीय ठहरिएको जडीबुटी र विभिन्न जातका रूखपातले भरिएको एवं उच्च हिमालहरूले ढकमक्क ढाकिएको नेपाललाई कृत्रिम रूपले अझ सुन्दर बनाउने नाना थरीका मानवीय प्रयास अनावश्यक हुन्, यिनले हामीलाई दिग्भ्रमित पार्न सक्छन् । भनिन्छ, अहिले मुलुकमा पर्यटन दशक मनाइँदै छ ।
यस दशकभित्र पर्यटनका आवश्यक भौतिक पूर्वाधारहरूको निर्माण गरिनुका साथै पर्यटनलाई राष्ट्रिय प्राथमिकतामा राखेर बाह्य तथा आन्तरिक पर्यटनको समुचित विकासका योजनाहरू सार्वजनिक गराइनु जरुरी छ । नेपाल भ्रमण वर्ष, १९९८ ताका नेपालको समग्र भूगोल र हिमालहरूबारेका विज्ञ स्व. हर्कबहादुर गुरुङसँगको ककनीमा भएको पाँचघण्टे वार्तालापले पंक्तिकारमा लुक्ला, नाम्चे र खुम्बु क्षेत्रहरूबारे र ती क्षेत्रको पर्यापर्यटनको सम्भाव्यताबारे कौतूहलता जन्मायो र नेपालका अन्य अथाह पर्यटकीय सम्भावनाहरूबारे विहंगम विचरण पनि गरायो ।
ओजोनको बढ्दो तापक्रमका कारण हिमालको हिउँ तीव्र रूपले पग्लिँदै गइरहेको सन्दर्भमा नेपाल सरकारले हाम्रो उत्तरी भेगको सम्पूर्ण पर्यावरणलाई सन्तुलित राख्दै त्यसको संरक्षण र प्रवद्र्धनमा जुट्ने अभियान अविलम्ब प्रारम्भ गर्नुपर्ने र तराईका वनजंगलहरूलाई सुरक्षित राख्नुपर्ने पर्यावरणविद्हरूको भनाइ छ । यसै आलेखमार्फत पर्यावरणको प्रवद्र्धन गर्दै सरकारलाई नेपालको पर्यटकीय स्वरूप विशेष गरी हिमालको सान हाम्रो सान अभिवृद्धि गर्न/गराउन, स्पष्ट कार्ययोजनाहरू अघि सार्न जोडदार माग अघि सारिन्छ ।