सर्वाङ्गीण विकासका लागि महिला सहभागिता

नेपाल एक अतिकम विकसित राष्ट्र हो । त्यसैले आजसम्म पनि यहाँका धेरै व्यक्ति गाँस, बास र कपासजस्ता आधारभूत आवश्यकताहरूबाट वञ्चित छन् ।
यदि आज हाम्रा कुनै शत्रु छन् भने ती हाम्रै पछौटेपन तथा अभाव हुन् र तिनै शत्रुहरूविरुद्ध हामीले लड्नुपरेको छ । यसका लागि हामीले विभिन्न क्षेत्रहरूको विकास गर्नुपरेको छ । तर, आजसम्म पनि यो कुरा कागजमा मात्र सीमित भएको छ । वस्तुतः विकासको हाम्रो तात्पर्य भौतिक उत्पत्ति मात्र होइन । हामीले खोजेको विकास मानव जातिको सम्पूर्ण आध्यात्मिक, बौद्धिक, सांस्कृतिक एवम् भौतिक विकाससँग अपरिहार्य सम्बन्ध राख्छ ।
आवश्यक परेको अवस्थामा अन्तर्राष्ट्रिय सहयोग लिए तापनि मुख्यतः हामीले स्वदेशी स्रोत तथा साधनहरूको परिचालन गरेर यहाँको सर्वाङ्गीण विकास गर्नुपरेको छ । यसका लागि जसरी माहुरीहरूले विभिन्न किसिमका फूलहरूबाट मह सञ्चय गरी घर बनाउँछन् त्यसरी नै विदेशमा गई स्वदेशको हावापानी र माटो सुहाउँदो सीप एवम् ज्ञान आर्जन गरी नेपालीहरूले एक सबल आधुनिक राष्ट्रको रचना गर्ने काममा संलग्न रहनुपरेको छ ।
वास्तवमा विकासको कुनै पनि काम सहज छैन । यसका निम्ति व्यापक चिन्तनका साथै जनमानस जगाउने काम नेपाली समाजका प्रत्येक व्यक्तिहरूमा हुनु आजको अपरिहार्य आवश्यकता हो । कुनै पनि विकास कार्य गर्न समस्याहरू सामना गर्नुपर्छ । तर, तिनीहरूलाई ढाकछोप गर्ने वा लुकाउनुको सट्टा तिनीहरूलाई अगाडि राखेर कसरी मुकाबिला गर्ने भन्नेतिर हाम्रो ध्यान आकृष्ट हुनुपरेको छ ।
वर्तमान समयमा विकास हाम्रो निमित्त सर्वोपरि भएको छ र अन्य मुलुकहरूमा हेरी हामीकहाँ यसको प्राथमिक अनिवार्यता देखिएको छ । त्यसैले आज हामीले विकासको अभियानमा दर्हो पाइला चाल्न सक्नुपरेको छ, जसका लागि महिलाहरूको सहभागिता नितान्त आवश्यक छ ।
विगत केही दशकयता नेपाली महिलाहरूलाई विकास कार्यहरूमा सहभागी बनाउने उद्देश्यले यहाँको विभिन्न भागमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिए । यसै सन्दर्भमा शिक्षाक्षेत्रमा महिलाहरूको सहभागिता केही अभिवृद्धि भएको छ । यसो हुनाका कारणहरूमा उनीहरूलाई प्रदान गरिएको निःशुल्क शिक्षा, छात्रवृत्ति, साक्षर महिलाहरूका लागि विभिन्न तालिमका अवसरहरू र न्यूनतम शिक्षा प्राप्त गरेपछि उनीहरूलाई शिक्षण पेसामा आबद्ध हुन सक्ने जस्ता सुविधाहरू हुन् ।
विगत केही वर्षयता घरेलु तथा साना उद्योगहरूमा र खास गरेर ग्रामीण क्षेत्रमा महिलाहरूको सहभागिता बढेको छ । यसबाट निःसन्देह पनि उनीहरूको आयआर्जन वृद्धि भई जीवनस्तरमा समेत सकारात्मक प्रभाव परेको छ । तर, बेलाबेलामा आवश्यक मात्रामा कच्चा पदार्थ एवम् बजारको अभाव हुनाले उनीहरू निरुत्साही भएका छन् । यसैले उक्त क्षेत्रमा उनीहरूको सहभागिता बढाउन सम्बन्धित क्षेत्रबाट यथोचित व्यवस्था गर्न आवश्यक छ ।
नेपाल एक कृषिप्रधान देश हो, जहाँ हालसम्म अधिकतम व्यक्तिहरू कृषिमा आश्रित छन् । यस क्षेत्रमा खास गरेर ग्रामीण महिलाहरूको सहभागिता अधिकतम छ । तर, आजसम्म पनि उनीहरू पुरानै प्रणालीमा अभ्यस्त भएकाले अपेक्षित मात्रामा कृषि उत्पादन गर्न सकिएको छैन । त्यसैले सम्बन्धित पक्षले उनीहरूलाई नयाँ खेतीपाती गर्ने तरिका तथा उन्नत कृषि सामग्रीहरूको यथोचित समयमा व्यवस्था गरिदिएमा उनीहरूको कृषिक्षेत्रमा सहभागिता वृद्धि भई यहाँको कृषि विकासमा समेत थप टेवा पुग्न सक्ने कुरा नकार्न सकिँदैन ।
आज हाम्रो देशमा दिनप्रतिदिन तीव्र रूपले वन विनाश भइरहेको कुरा निर्विवाद छ । हुन त वन विकासमा महिला सहभागिता नभएको होइन । कतिपय जिल्लाका सामुदायिक वनहरूमा उनीहरूको सहभागिता प्रशंसनीय छ । तर, धेरैजसो महिलामा आजसम्म पनि आवश्यक ज्ञानको कमीले गर्दा उनीहरूले यस क्षेत्रमा ठोस योगदान पुर्याउन सकेका छैनन् । त्यसैले उनीहरूलाई बेलाबेलामा वृक्षरोपण, जडीबुटी खेती एवम् वन संरक्षणसम्बन्धी तालिम प्रदान गर्न सकेमा उनीहरूको सहभागिताले वन विकासमा सार्थकता पाउनेछ ।
आज हाम्रो देश ऊर्जाको संकटले ग्रस्त छ । वर्तमान समयमा यहाँका अधिकतम महिलाहरूलाई ऊर्जाको विकासमा संलग्न गर्न सके उनीहरूबाट यस क्षेत्रमा ठूलो योगदान पुग्न सक्ने कुरा नकार्न सकिँदैन । यसै सन्दर्भमा उनीहरूलाई खास गरेर ग्रामीण क्षेत्रमा गोबर ग्याँस तथा सौर्य ऊर्जा उत्पादन एवम् उपकरणहरू मर्मतसम्बन्धी तालिम प्रदान गर्न सकेमा विद्यमान ऊर्जा सङ्कट न्यून गर्ने काममा सघाउ पुग्ने कुरामा दुईमत नहोला ।
कुनै पनि देशको सम्पूर्ण क्षेत्रको विकासका लागि यहाँको राजनीति विकासमुखी हुनुपर्छ । विश्वका धेरै राष्ट्रको अनुभवबाट यो कुरा प्रमाणित भएको छ कि राजनीतिलाई विकाससँग आबद्ध गर्न सकिएन भने कुनै पनि देशको कुनै पनि क्षेत्रको ठोस विकास गर्न सकिँदैन ।
हाम्रो जस्तो आधा आकाश महिलाहरूले ओगटेको देशमा अधिकतम महिलाहरूलाई राजनीतिको मूल प्रवाहमा समाहित गर्न नसकेमा यहाँको सर्वाङ्गीण विकास गर्न कठिन हुनेछ । त्यसैले यहाँको सर्वतोमुखी विकासका लागि महिलाहरूलाई स्थानीय तहदेखि राष्ट्रिय तहसम्म बढीभन्दा बढी सहभागी गराउन जरुरी छ ।
वास्तवमा कुनै पनि क्षेत्रमा महिलाहरूको सहभागिता अभिवृद्ध गर्न उनीहरू पुरुषहरूसँग प्रतिस्पर्धा गर्न सक्षम हुनुपर्छ । यसका लागि उद्यमशील संस्कृतिको विकास गर्नु अपरिहार्य आवश्यकता हो ।