नेपाल विश्वकप क्रिकेटको क्वालिफायरमा «

नेपाल विश्वकप क्रिकेटको क्वालिफायरमा

आईसीसी क्रिकेट विश्वकप लिग-२ मा नेपालले यूएईलाई हराएको छ । नेपाल ९ रनले विजयी भएकाे छ । याे जितसँगै नेपालले एक दिवसीय विश्व कप क्रिकेटको क्वालिफायर खेल्ने पक्का भएको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा यूएईले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएपछि डकवर्थ लुइस नियमका आधारमा नेपाल विजयी भएको हो । लिग-२ मा नेपालको ४० अंक भएको छ ।

नामिबियालाई पछि पारेर नेपाल तेस्रो नम्बरमा पुगेको हो । आजको खेलमा नेपालमा ४ जना खेलाडीले अर्धशतक बनाए । नेपालका लागि कुशल भुर्तेलले ५०, भीम सार्कीले ६७, आरिफ शेख ५२ र गुल्सन झाले ५० रन बनाए । यूएईका जुनैद सिद्दिकीले ३ विकेट लिए ।

यस्तै पछिल्ला १२ खेलमा नेपाल ११ वटा खेलमा विजयी भएको छ । एउटा खेलमा पराजित भएको छ । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनायो । आशिफ खानले १ सय १ रन बनाए । उनले ४० बलमै शतक पूरा गरेका हुन् ।

त्यस्तै, वृत्य अरविन्दले ९४, मोहम्मद वासिमले ६३ रन र रोहन मुस्ताफाले २० रन बनाए । बलिङतर्फ नेपालका दिपेन्द्रसिंह ऐरीले २ तथा ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले १/१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्