पाठ्यपुस्तकबिनै पठनपाठन दुर्गममा विद्यार्थीका झोला रित्तै

हिमाली जिल्ला डोल्पामा पाठ्यपुस्तकबिना नै पठनपाठन सुरु भएको छ । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत पर्ने ३१ वटा विद्यालयमा पाठ्यपुस्तकबिना नै पठनपाठन सञ्चालनमा ल्याइएको हो । फागुन पहिलो सातामै विद्यालय खुले पनि नयाँ किताब नपुग्दा विद्यार्थीको पठनपाठन प्रभावित भएको त्रिपुराकोट माध्यमिक विद्यालयले जनाएको छ ।
नयाँ किताब नआएपछि कक्षा चारदेखि १० सम्म पुराना किताब र पाठ्यक्रमबाट पठनपाठन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको प्रधानाध्यापक कृष्णबहादुर बोहोराले जानकारी दिए । फागुनमै शैक्षिक सत्र सुरु भए पनि पाठ्यपुस्तक आइपुग्न ढिला हुँदा पठनपाठनमा समस्या भएकोसमेत बोहोराले बताए । त्यसैगरी त्रिपुरा माध्यमिक विद्यालय काटियाँचौरमा पनि पुराना पाठ्यपुस्तकबाट पठनपाठन भइरहेको छ ।
आधारभूत र माध्यमिक तहमा कोर्स परिवर्तन भए पनि पुरानै किताबले पठनपाठन गर्नुपर्ने बाध्यता रहेको प्रधानाध्यापक रमानन्द उपाध्यायले जानकारी दिए । “शैक्षिक सत्र सुरु भएको एक महिना पुग्नै लागिसक्यो, तर पाठ्यपुस्तक आएको छैन, पुरानै कोर्स पढाउनुपर्ने बाध्यता छ, पुराना किताबसमेत सबै विद्यार्थीसँग छैन, पठनपाठनमा एकदमै समस्या भइरहेको छ,” उपाध्यायले भने ।
सरकारले छिटोभन्दा छिटो नयाँ किताब पठाइदिन उनले आग्रहसमेत गरे । कक्षा एकदेखि तीनसम्मका किताब भने ल्याएर वितरण भइसकेको उनले बताए । बिक्री कक्षमा नयाँ किताब आउँदा पनि बाँडिएन जनक शिक्षा सामग्री केन्द्र नेपालगन्जको बिक्री कक्ष नयाँ किताबले भरिभराउ भए पनि दुर्गमका विद्यार्थीका झोला भने रित्तै छन् । बिक्री कक्षमा आइसकेका किताबसमेत वितरण गर्न नमानेपछि फागुनमा शैक्षिक सत्र सुरु भएका कर्णालीका विद्यालयमा पुराना किताबबाटै काम चलाउनुपरेको हो ।
फागुन पहिला सातामै किताब नेपालगन्ज पुगे पनि जनक शिक्षाले किताब दिन नमान्दा डोल्पाका विद्यालयमा समस्या भएको सृष्टि एन्ड स्मृति पुस्तक पसल त्रिपराकोटका सञ्चालक पूर्णकेसर न्यौपाने बताए । “शैक्षिक सत्र सुरु भएलगत्तै किताब लिन जनक शिक्षाको नेपालगन्ज कार्यालयल पुग्यौं, सरकारले वैशाखमा मात्र शैक्षिक सत्र सुरु गर्ने नियम लागू गरेको छ भन्दै बिक्री कक्षमा आएका किताब पनि दिन मानेन,” न्यौपानेले भने । जनक शिक्षाले ४ देखि १० कक्षासम्मका किताब दिन नमानेपछि निजी प्रकाशनबाट कक्षा १ देखि ३ सम्मका किताब ल्याएर फर्किएको उनले बताए ।
यता जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले शिक्षा मन्त्रालयले नै वैशाखमा मात्र शैक्षिक सत्र सञ्चालन हुने निर्णय गरेकाले अगाडि नै नयाँ पाठ्यपुस्तक वितरण गर्न नसकिएको बताए । कोरोनाका कारण देशभरको पढाइ घटेपछि हिमाली तथा तराई क्षेत्रमा एउटै शैक्षिक सत्र लागू भएकाले अब चैत १५ देखि धमाधमा नयाँ पाठ्यपुस्तक वितरण सुरु हुने बताए ।
“अब आगामी शैक्षिक सत्रमा भने पुरानैजस्तै दुई शैक्षिक सत्र लागू हुन्छ, हिमालमा फागुनमा नयाँ शैक्षिक सत्र सुरु हुन्छ, मंसिरमा अन्त्य हुन्छ, अन्य जिल्लामा चैतमा शैक्षिक सत्र सकिन्छ, वैशाखमा सुरु हुन्छ, यसैका आधारमा पाठ्यपुस्तक वितरण हुन्छ,” उनले भने ।
एउटै जिल्लामा तीन शैक्षिक सत्र
डोल्पामा एउटै जिल्लामा तीन शैक्षिक सत्र रहेका छन् । यस वर्षमात्रै जिल्लामा तीन फरक–फरक शैक्षिक सत्र लागू भएका छन् । उपल्लो डोल्पामा एउटा शैक्षिक सत्र छ भने तल्लो डोल्पामा पनि दुई शैक्षिक सत्र कार्यान्वयन भएका छन् । दुई नगरपालिका र ६ वटा गाउँपालिका रहेको डोल्पामा स्थानीय तहले एकरूपता नल्याई आफ्नै ढंगबाट शैक्षिक सत्र सञ्चालन गर्दै आएका छन् ।
उपल्लो डोल्पामा रहेका डोल्पोबुद्ध, छार्काताङसोङ र से–फोक्सुन्डो गाउँपालिकाले आफ्नो सेवा क्षेत्रका विद्यालयमा गत मंसिरमै शैक्षिक सत्र सम्पन्न गरेर करिब पाँच महिनाका लागि विद्यालय नै बन्द गरे । जाडो बिदामा बन्द भएका सम्पूर्ण विद्यालय अझै खुलेका छैनन् । अब एकैपटक तातो सयम सुरु भएपछि वैशाखमा खुल्ने र त्यसपछि मात्र नयाँ शैक्षिक सत्र सुरु हुने गर्दछ ।
त्यसैगरी जिल्लाको काइके गाउँपालिका, ठूलीभेरी नगरपालिका र जगदुल्ला र मुड्केचुला गाउँपालिकामा आगामी वैशाखमा मात्र नयाँ शैक्षिक सत्र सुरु हुने शिक्षा विकास तथा समन्वय इकाइ डोल्पाका इकाइ प्रमुख दलबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार चारवटा स्थानीय तहले पढाइ पूरा नभएको भन्दै सधैँ मंसिरमा गर्दै आएको वार्षिक परीक्षा गरेनन् भने चैतमा मात्र वार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय गरे, यही परिपत्र शिक्षा मन्त्रालयले समेत गरेको थियो ।
उक्त स्थानीय तहमा अझै वार्षिक परीक्षा भएको छैन । चैतमा गर्ने गरी तयारी भइरहेको विद्यालयले जनाएका छन् । ती विद्यालय पुस र माघको दुई महिनाको चिसो बिदा सकेर दुई साताअघि मात्रै खुलेका हुन् । यता त्रिपुरासुन्दरी नगरपालिकाले भने जिल्लामै फरक किसिमको निर्णय गर्यो । जिल्लाका आठमध्ये सातवटा स्थानीय तहमा वैशाखमा वार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय हुँदा त्रिपुरासुन्दरी नगरपालिकाले भने कार्यपालिकाका बैठकबाट मंसिरमै वार्षिक परीक्षा सञ्चालन गरेर फागुनमै नयाँ शैक्षिक सत्र सुरु गर्यो ।
जिल्लाका आठवटै स्थानीय तहलाई संघीय कार्यालयभित्र पर्ने शिक्षा विकास तथा समन्वय इकाइले गत मंसिरमै परिपत्र गरेर वैशाखमा मात्र नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने जानकारी गराएपछि त्रिपुरासुन्दरी नगरपालिकाले फरक निर्णय गरेको इकाई प्रमुख बस्नेतले जानकारी दिए ।