विदेशी लगानी र हाम्रो कमजोरी «

विदेशी लगानी र हाम्रो कमजोरी

चालू आर्थिक वर्षमा वैदेशिक लगानीमा आएको उच्च दरको गिरावटले नेपाल विदेशी लगानीकर्ताको छनोटमा नपरेको देखाएको छ । यो वर्ष विश्वका अधिकांश मुलुकमा आर्थिक शिथिलता देखिएका कारण धेरै मुलुकमा विदेशी लगानी बढ्न नसकेको यथार्थ हो । तर, लगानीमा हाम्रो जस्तो उच्च दरको गिरावट भने सायदै अन्य कुनै मुलुकमा आएको छ ।

चालू आर्थिक वर्षको सात महिना बित्दा वैदेशिक लगानी प्रतिबद्धता र खुद वैदेशिक लगानी दुवै चिन्ताजनक रूपमा घटेका छन् । राष्ट्र बैंक र उद्योग विभागले सार्वजनिक गरेका दुई छुट्टै तथ्यांकअनुसार माघसम्म १८ अर्ब ६३ करोड रुपैयाँबराबरको वैदेशिक लगानी स्वीकृत भएको छ । तर, यही अवधिसम्म खुद प्रत्यक्ष लगानी १ अर्ब ४ करोड रुपैयाँ मात्र आएको छ । सात महिनामा १ अर्ब लगानी आउनु भनेको शून्यजस्तै हो ।

सरकारले जेजस्तो दाबी गरे पनि मुलुकभित्र पर्याप्त मात्रामा कहिल्यै विदेशी लगानी आएको छैन । त्यसमा पनि यो वर्षको अवस्था निकै नाजुक हो । यो वर्ष गत वर्षको तुलनामा पनि निकै कम लगानी आएको अवस्था छ । अघिल्लो वर्षको माघसम्म ३० अर्ब २७ करोड रुपैयाँबराबरको लगानी स्वीकृत भएको थियो । माघसम्ममा १६ अर्ब २९ करोड रुपैयाँ खुद लगानी भित्रिएको थियो ।

विदेशी लगानीकर्तालाई लगानीको राम्रो वातावरण बनाएर पर्याप्त सुविधा दिन सके मात्र अहिलेको अवस्थामा फरक आउला, नत्र अवस्था झनै नाजुक हुँदै जानेछ ।

यो तथ्यांकलाई चालू आवसँग तुलना गर्दा लगानी प्रतिबद्धता ३८.४५ र खुद प्रत्यक्ष वैदेशिक लगानी ९३.६१ प्रतिशतले घटेको देखिन्छ । नेपालमा लगानीका उच्च सम्भावना भएर पनि विदेशीहरू लगानी गर्न आएको देखिँदैन । यसमा धेरै कारण छन् । सरकार आफैंले लगानीका क्षेत्र पहिल्याएर त्यसमा विदेशीलाई आकर्षण गर्न सकेको छैन । लगानीका लागि वातावरण तयार गर्ने सरकारको प्रयास मात्र छ । व्यवहारमा कुनै काम गर्न सकेको छैन ।

कोही पनि ‘सिरियस’ छैन, न मन्त्री न त उच्चपदस्थ कर्मचारी नै । कर्मचारीतन्त्रमा आफूलाई व्यक्तिगत फाइदा नहुँदासम्म जोखिम मोलेर राष्ट्रका लागि काम गरौं भन्ने भावना निकै कम छ । किन काम गर्ने ? विवादमा आए त्यसको अपजस आफैंले लिनुपर्छ भन्ने जस्तामा मान्यता राखिन्छ । कर्मचारीमा सकेसम्म कानुनी अभावलगायतका विषय देखाएर पन्छाउने प्रवृत्ति छ । नभए ‘हुन्छ र हस्’ भन्ने तर काम नगर्ने शैली छ ।

अर्को, निजी क्षेत्रमा पनि आफ्नो स्वार्थपूर्ति नभएसम्म लगानीका कुरा गर्ने र आफ्नो लगानीमा जोखिम आउने संकेत देखिए त्यसको विरोध गर्ने प्रचलन छ । पछिल्लो समय निजी क्षेत्रले सिमेन्ट, फलामे डन्डीलगायतमा विदेशी लगानी आवश्यक छैन भनिरहेको छ । तर, प्रत्येक वर्ष दर्जनौं उद्योग यही क्षेत्रमा नयाँ आउने गरेका छन् ।

विदेशी लगानीको दुरवस्था देखिएका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले लगानीकर्ताका समस्या समाधान गर्ने वाचा गरेका छन् । नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) ले मंगलबार आयोजना गरेको नेपाल–चाइना बिजनेस फोरममा दाहालले एकल बिन्दु सेवा सुरु गर्ने र अन्य सबै प्रकारका सेवा एउटै ठाउँबाट प्राप्त गर्ने वातावरण मिलाउने वाचा गरे ।

पूर्वाधार विकासका लागि नेपाललाई ठूलो लगानी र नयाँ प्रविधिको आवश्यकता छ भन्दै दाहालले छिमेकी चीनसँग सहयोगको अपेक्षा पनि राखे । प्रधानमन्त्री दाहालले जस्तै बेलाबेलामा हुने यस्ता सम्मेलन वा फोरमहरूमा हामी गर्छौं भन्न लागेको करिब तीन दशक भएको छ । लगानी भित्र्याउने कानुन बनाउन, सेवासुविधा दिएर आकर्षण गर्न न त ठूलो खर्च लाग्छ, न कसैले दबाब नै दिन्छ ।

तैपनि २०४६ पछि बनेका सबै सरकारले भाषण मात्र गरिरहेका छन् । यसबीचमा बनेका केही कानुन पनि पूर्ण रूपमा कार्यान्वयनमा जान सकेका छैनन् । निर्माण भएका कानुनलाई कार्यान्वयन गर्न कसले छेकेको छ । कार्यान्वयनको जिम्मेवारी सरकारी निकायको नै होला । त्यसैले सरकारमा छँदा गर्छु/गर्छौं, सबै समस्या हटाउँछौं भनेर बोल्ने हाम्रो परम्परा नै बनेको छ ।

प्रधानमन्त्री दाहालले अहिले बोलेको पनि त्यसैको एउटा रूपमात्र हो । सरकारले विदेशी लगानीकर्तालाई आकर्षित गर्न धेरै पटक अन्तर्राष्ट्रिय लगानी सम्मेलन पनि गरिसकेको छ । तर पनि नतिजा आउन सकेको छैन । उल्टो प्रत्येक वर्ष घट्दो क्रममा छ । यो स्थितिले सरकार आफैं किन लगानी आउन सकेन भन्ने अन्योलमा देखिन्छ ।

सबैभन्दा पहिले विश्वका अन्य मुलुकहरूलाई नहेरे पनि कम्तीमा छिमेकी मुलुकहरूले लगानी ल्याउनका लागि कस्तो नीति बनाएका छन् ? कस्ता सुविधाहरू दिएका छन् ? कुन–कुन क्षेत्र लगानीका लागि खोलेका छन् ? लगायतका विषयमा गहिरो अध्ययन हुनु आवश्यक छ । हाम्रा लागि कुन–कुन क्षेत्रमा लगानीकर्ता आकर्षित हुने देखिन्छ, त्यसको पहिचान गरी त्यसअनुसार जस्तो नीति आवश्यक पर्छ त्यहीअनुसार गरे मात्र पनि अहिलेभन्दा धेरै लगानी आउने वातावरण बन्न सक्छ ।

हामीले बुझ्नुपर्छ, लगानीकर्तालाई लगानी गर्ने मुलुकको अहिले खाँचो छैन । जहाँ सुविधा बढी छन् लगानीकर्ता त्यहीं जान्छन् । त्यसैले विदेशी लगानीकर्तालाई लगानीको राम्रो वातावरण बनाएर पर्याप्त सुविधा दिन सके मात्र अहिलेको अवस्थामा फरक आउला, नत्र अवस्था झनै नाजुक हुँदै जानेछ ।

प्रतिक्रिया दिनुहोस्