सुनसरीका एसपी माझी निलम्वन «

सुनसरीका एसपी माझी निलम्वन

बलात्कारको उजुरीलाई मिलापत्रमा टुंगो लगाएको भन्दै गृह मन्त्रालयले जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख र इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टरलाई निलम्वन गरेको छ ।
प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले सुनसरीका प्रहरी प्रमुख एसपी विद्यानन्द माझी र इलाका प्रहरी कार्यालय इटहरी (सुनसरी)का प्रहरी निरीक्षक चिरञ्जीवी दाहाललाई निलम्बन गरेको हो । प्रहरी प्रधान कार्यालयले उजुरी छानविनमा सहज बनाउन भन्दै एसपी माझी र इटहरीका इन्स्पेक्टर दाहाललाई निलम्बन गर्ने पत्र मंगलबार नै गृह मन्त्रालय पठाएको थियो ।
गृहले प्रहरीको पत्र मंगलबार नै १ नम्बर प्रदेश प्रहरी मुख्यालय रानी (विराटनगर) पठाइसकेको छ । १४ वर्षीय किशोरी बलात्कारको उजुरी स्थानीय प्रहरीको दवावमा पीडित र पीडकबीच मिलापत्रमा टुंग्याएको रहस्य खुलेपछि गत साता १ नम्बर प्रदेश प्रहरी प्रमुख एआइजी पशुपति उपाध्यायले संघीय इकाई कार्यालय धरानका एसएसपी हरिबहादुर पालको संयोजकत्वमा छानविन समिति गठन गरीसकेका छन् ।
“वलात्कार जस्तो जघन्य अपराध मिलापत्रमा टुंग्याउनु गम्भीर गल्ती हो, यदि त्यस्तो गरिएको हो भने जुनसुकै दर्जाका प्रहरी भएपनि कारबाहीको दायरामा आउनुपर्छ,” प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो, “त्यही भएर नै छानविन तथा अनुसन्धानलाई सहयोग पुरयाउन घटना हुँदा जिम्मेवारीमा रहेका प्रहरीलाई निलम्बन गर्न परिपत्र गरेका हौं ।”
बलात्कार अभियोगमा संलग्न धरानका जोकम लिम्बु र विराटनगरका मनीष श्रेष्ठ पालको नेतृत्वमा छानबिन समिति गठन भएपछि फरार भइसकेका छन् । अंग्रेजी नयाँ वर्ष जनवरी १ (पुस १६ गते)का दिन घुम्न जाने बहानामा लिम्बु र श्रेष्ठले ती किशोरीलाई इटहरी उपमहानगरपालिका (हलगडा) नजिकैको एक होटलमा लगेर मदिरा सेवन गराई वलात्कार गरेका थिए । बलात्कारको घटना बाहिर आएपछि प्रहरीले पीडित किशोरीसँग बयान लिई जिल्ला अदालत सुनसरीमा मुद्दा दर्ता गरिसकेको छ । छोरी वलात्कृत भएको थाहा पाएपछि बाबुआमा सहित अभिभावक इटहरी स्थित प्रहरी कार्यालयमा पुगेका थिए ।
त्यतिवेला डीएसपी सञ्जय राउत विदामा भएका कारण इन्स्पेक्टर दाहाल निमित्त इन्चार्ज भएकोले उनैले दबाब दिएर मिलापत्रमा उजुरीको छिनोफानो गरेको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्