Logo

रुस–युक्रेन युद्धको मारमा एक वर्ष

सन् २०२२ फेब्रुअरी २४ तारिख अघिदेखि चलिरहेको रुस–युक्रेनबीचको युद्धले यतिबेला एक वर्षको समय पार गरिसकेको छ । यसले विश्वभर चासो र चिन्ताको अवस्था सिर्जना गरेको छ । यसरी रसिया र युक्रेन पेट्रोलियम र ग्याँसमा आधारित अर्थतन्त्र भएका देशहरू हुन् । यस्ता खालका अर्थतन्त्र भएका राष्ट्रमा केही अप्ठेरो गतिविधि भयो भने विश्वव्यापी रूपमा असर पर्छ ।

यसका लागि गतिलो उदाहरण सन् १९७३ मा अरब देशहरू र सन् १९७९ मा इरानमा यस्तै खालको समस्या आउँदा ग्लोबल सक देखा परेको थियो । जबकि ती राष्ट्रहरू साना थिए । तिनले विश्व अर्थतन्त्रमा पु¥याउने योगदान सानो अर्थात् १ प्रतिशत पनि थिएन । यसबाट के थाहा हुन्छ भने पेट्रोलियम र ग्याँसमा आधारित अर्थतन्त्र भएका देशमा आएको समस्याले छिटो र धेरै प्रभाव पार्छ । यो युद्धले अशान्तिको अवस्था सिर्जना गर्नेमात्र नभई आर्थिक रूपमा पनि कमजोर बनाउँछ ।

मूलतः युरोपेली राष्ट्र युक्रेनमा रुसले आक्रमण गर्दा नेपालजस्तो विकासशील तेस्रो मुलुकसम्म युद्धका असर नपर्ला भन्न सकिन्न । हाम्रो जस्तो सानो देशले खासगरी युक्रेन र रुस दुवै राष्ट्रसँग व्यापार गर्ने भएकाले पनि नेपाली अर्थतन्त्रमा प्रभाव परेको हो । यद्यपि रुस र युक्रेनबीचको यो युद्ध कहिले टुंगिन्छ भन्ने कुनै संकेत नहुँदा सम्भावित परिणामका लागि पूर्वतयारी गर्नुपर्ने देखिन्छ ।

अहिलेको स्थितिमा सरसर्ती हेर्ने हो भने यो लडाइँको असर नेपालको भान्सासम्म नै आइपुग्न थालिसकेको छ । यसर्थ नेपाल र युक्रेनबीचको सीधा व्यापारिक सम्बन्ध खाद्यान्न र खाने तेलका लागि युक्रेनसँगै निर्भर रहनुपरेको अवस्था छ । त्यसो त विगत वर्षमा आयात व्यापारमा युक्रेन नेपाललाई सबैभन्दा धेरै वस्तु पठाउने मुलुकको सूचीमा छैटौं स्थानमा थियो ।

तसर्थ अघिल्लो आर्थिक वर्षको पहिलो सात महिनाको तथ्यांक हेर्ने हो भने पनि स्थितिमा खासै परिवर्तन आएको छैन । अहिले देशका व्यापार साझेदारहरूको सूचीमा युक्रेन आठौं स्थानमा रहेको छ, जुन युक्रेनबाट विभिन्न औद्योगिक कच्चा पदार्थ आयात हुने गरेको छ । अतः एक वर्ष अगाडिदेखि युक्रेनमाथि रुसी आक्रमणले त्यहाँको निकासी व्यापार प्रभावित हुँदा देशमा पनि औद्योगिक कच्चा पदार्थको मूल्य बढेको देखिन्छ ।

मुलुक विगत दुई वर्ष अगाडिदेखि कोभिडको कहर पार हाल तेस्रो लहर पनि सकिएर अहिले अर्थतन्त्रको सुधारको चरणमा जाने स्थितिमा रहेको छ । फलतः देशमा बिस्तारै सेवा तथा वस्तु बजारमा माग बढ्दै गएको छ । जब माग बढ्दै जान्छ तब मूल्य पनि बढ्दै जानु स्वाभाविक हो । भारतमा पनि भर्खरै एउटा प्रक्षेपण गरिएको छ, आगामी तीन महिनामा मुद्रास्फीति बढ्छ भनिएको छ । जबकि हाम्रो देशमा पनि छिमेकी देश भारतमा परेको असर तुरुन्त पर्ने स्थिति छ । मुलुकमा हुने ६० प्रतिशतको हाराहारीमा आर्थिक गतिविधि भारतीय बजारमा निर्भर हुन्छ । यसर्थ भारतमा मूल्यवृद्धि भए पनि त्यसको असर हाम्रो देशको बजारमा नपर्ने भन्ने कुरा हुँदैन । हामीले डलर खरिद गरेर भारतीय रुपैयाँ किनेर कतिपय कच्चा पदार्थ किन्ने गरिएको छ ।

त्यसरी नै सनफ्लावर, पाम आयलसम्म पनि कच्चा पदार्थ युक्रेनबाट ल्याउने गरिएको छ, जुन विश्वव्यापी मागको एकतिहाइ गहुँको माग दुई मुलुकले मात्रै आपूर्ति गर्ने गरेका छन् । यो अवस्था कहिलेसम्म रहन्छ भन्न सकिने अवस्था नभएकाले बजार नियन्त्रण गर्ने नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयको बीच प्रभावकारी समन्वय हुनुपर्छ । हाल देशमा खाद्यान्नलगायत पेट्रोलियम पदार्थको भाउ क्रमशः बढ्ने क्रम तीव्र रूपमा भइरहेको छ । देशको मुद्रास्फीति ५.६५ प्रतिशत त अहिले पनि छ । यसर्थ वर्षको अन्त्यसम्म विविध कारणले गर्दा मुद्रास्फीति दोहोरो अंकको हुन सक्ने बलियो सम्भावना सम्बन्धित क्षेत्रका विज्ञहरूको भनाइ रहेको पाइन्छ ।

विश्वमा एक वर्षयता सन् १९९१ अघि शीतयुद्धजस्तै विश्व दुई ध्रुवमा विभाजित थियो । यसरी नै रुस–युक्रेन युद्धको आर्थिक असर युरोपमा मात्र नभएर पूरै विश्व तथा दक्षिण एसिया हुँदै नेपालसम्म आइपुगेको छ । यसै क्रममा हेर्ने हो भने रुसको रक्षा खर्च बढेर यो वर्ष १ खर्ब ३२ अर्ब १० करोड अमेरिकी डलर पुगेको छ, जसका कारण विश्वमा ग्याँस र तेलको मूल्य बढेको छ । समाचार संस्था रोयटर्सका अनुसार युद्धमा ४२ हजार २ सयभन्दा बढी मानिस मारिएका छन्, ५६ हजारभन्दा बढी घाइते भएका छन् भने कम्तीमा १५ हजार मानिस हराएका छन् ।

करिब १ करोड ४० लाख मानिस विस्थापित भएका छन् । करिब ३ खर्ब ५० अर्ब अमेरिकी डलरभन्दा बढी सम्पत्ति ध्वस्त भएको छ । त्यसरी नै फोब्र्सले तयार गरेको तथ्यांकअनुसार अवलोकन गर्ने हो भने पनि रुसले युक्रेनसँगको युद्धमा गत वर्ष ८२ अर्ब अमेरिकी डलर खर्च गरिसकेको थियो । यो रुसको वार्षिक बजेटको एकचौथाइ हो । ठूलठूला हतियार आर्टिलरी आपूर्तिमा मात्रै रुसले साढे पाँच अर्ब डलर खर्च गरेको छ । यसमा रुसले ४ हजारभन्दा बढी मिसाइल हानेको छ । एक मिसाइलको खर्च मात्रै औसत ३० लाख डलर रहेको अनुमान छ ।

समग्रमा भन्नुपर्दा युद्ध अझै जारी छ र यो कसरी टुंगिएला भन्ने अझै यकिन छैन । यो एक वर्षका लागि यहाँ गरिएको विश्लेषण युद्धको बाँकी अवधिबारे प्रक्षेपण गर्न अनुपयोगी पनि ठहर्न सक्नेछ । तर, त्यो भूभागमध्ये क्राइमिया पूरै अनि डोनेस्क र लुहान्स्कको ठूलो हिस्सा सन् २०१४ देखि नै रुसको वा ऊ समर्थित मिलिसियाको नियन्त्रणमा थिए । त्यसैले सिंगो सैन्य शक्ति लगाउँदा पनि यो एक वर्षमा रुसले युक्रेनको असाध्य सानो थप भूभाग मात्रै कब्जा गर्न सकेको छ । त्यति उपलब्धिका लागि उसले प्रयोग गरेको र नष्ट भएका हातहतियारबारे रुस र युक्रेनका आ–आफ्नै दाबी छन्।

मूलतः कुनै बेला चीनको हाराहारी र केही सैन्य प्रविधिमा चीनभन्दा अघि रहेको मानिने रुसले मध्य–एसियाको ठूलो भूभागलाई आफ्नो प्रभाव क्षेत्र मान्थ्यो र त्यहाँ उसको चीनसित प्रतिस्पर्धा थियो । तर अब त्यहाँका धेरै देशमा उसको साख र प्रभाव दुवै गुमेको छ । यसरी रुस र युक्रेनको यो दुर्घटनाबाट नेपालले पनि पाठ सिक्नुपर्छ । खासगरी नेपाली भान्सामा प्रयोग हुने सूर्यमुखी तेल, इलेक्ट्रोनिक सामग्री र पेट्रोलियम पदार्थ रुस र युक्रेनले अन्य देशहरूमा आपूर्ति गर्छन् ।

त्यसैगरी खाद्यान्नमा रसिया गहुँ र युक्रेन मकै निर्यातमा अग्रस्थानमा छन् । यो युद्धका कारण नेपालले केकति आर्थिक क्षति बेहोर्नुपर्छ भन्ने यकिन विवरण त आइसकेको छैन, तर युक्रेनबाट वार्षिक २० अर्बभन्दा बढी र रुसबाट वार्षिक ११ अर्बभन्दा बढीको वस्तु नेपाल आयात हुँदै आएको छ । यसमा खासगरी खाने तेल र पेट्रोलियम पदार्थको मूल्यवृद्धिको असर देशले पनि भोग्नुपर्नेछ । यसमा पेट्रोलियम पदार्थको मूल्य बढ्नु भनेको सबै उपभोग्य वस्तुको मूल्य बढ्नु हो ।

यसैगरी युक्रेन र रुसबीचको भौगोलिक अवस्था र जनस्तरको सम्बन्ध जेजस्तो छ, त्योभन्दा पनि संवेदनशील अवस्था नेपाल र भारतबीच छ । जबसम्म मुलुकमा उद्योग र उत्पादनहरू बढ्दैनन् तबसम्म विश्व बजारमा हुने यस्ता खालका हलचलले राष्ट्रलाई धेरै असर पार्ने गरेको हुन्छ । फलतः आफ्नो राष्ट्रमा उत्पादन भएपछि जतिसुकै मूल्य पुगे पनि खरिद गर्नुको अन्य विकल्प केही छैन । यसरी नै रुस र युक्रेनको युद्ध अझै केही दिनसम्म लम्बिने जस्तो देखिन्छ ।

किनकि हालसम्म वार्ता हुने संकेत भने देखिएको छैन । यसका साथसाथै पेट्रोलियम पदार्थमा पछिल्लो समय इरानले केही सहयोग गर्ने भनिए पनि मूल्य बढेरै आयो । यसरी सबै मालवस्तुको मूल्य बढ्दै जाने हो भने चालू वर्षमा १० प्रतिशत मुद्रास्फीति पुग्ने देखिन्छ । यी विविध कारणले गर्दा अमेरिकी डलरको भाउ लगातार बढेको छ । यसरी नै रुस र युक्रेनको युद्धले डलरको भाउ अझै अकासिने पक्का छ । जब विश्व बजारमा हलचल आउँछ, सुन तथा डलर किन्ने होडबाजी चल्छ । विश्व बजारमै डलरलाई सुरक्षित मुद्राको रूपमा लिने गरिएको छ ।

बजारमा अत्यधिक माग भएपछि डलरको भाउ अवश्य माथि जाने नै भयो । यसमा पनि मुख्य गरी डलर, पेट्रोलियम, खाने तेल, खाद्यान्नको भाउमाथि जान्छ । यसले गर्दा प्रत्यक्ष तथा अप्रत्यक्ष दुवै रूपमा यी राष्ट्रको युद्धले नेपाललाई असर गर्छ । नेपाल कृषिप्रधान देश भनिए पनि खाद्यान्नको आयात ठूलो मात्रामा हुने गरेको छ । खासगरीकन युक्रेन संकटको असर तत्काल सुन, पेट्रोलियम पदार्थ र खाने तेलमा पर्ने देखिन्छ । अतः सुन र कच्चा तेलको मूल्य संसारभर नै अकासिन थालिसकेको छ । यी दुवै वस्तु अन्तर्राष्ट्रिय बजारका सबैभन्दा महत्वपूर्ण हुन् ।

नेपाली उत्पादनको निर्यात नगन्य भए पनि तत्काल आयात प्रतिस्थापनको विकल्प नहुँदा समस्या देखिन्छ । खासगरी युक्रेनबाट आउने खाने तेल, केराउ, टेलिफोन र मोबाइलका उपकरण एवं तयारी कपडा तथा मुलुकबाट निर्यात हुने कार्पेट, चिया र चित्रकलाको व्यापारमा समस्या आउने देखिन्छ, जुन पेट्रोलियम पदार्थमा हुने मूल्यवृद्धिले ढुवानी, कृषि उत्पादन र औद्योगिक उत्पादनमा प्रभाव पार्ने भएकाले पनि यसको विकल्पका लागि समयमै ध्यान दिनु आवश्यक छ । आत्मनिर्भर अर्थतन्त्रका लागि कम्तीमा आधारभूत कृषि वस्तुमा उत्पादन वृद्धिको विकल्प छैन भन्ने पनि यसले पाठ पढाएको जानकारहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्